नयाँ सदस्य थप्ने निर्णयसँगै ‘डीप टेक एलायन्स’मा सहभागी हुँदै एनभिडिया

Technology Khabar १९ कार्तिक २०८२, बुधबार

नयाँ सदस्य थप्ने निर्णयसँगै ‘डीप टेक एलायन्स’मा सहभागी हुँदै एनभिडिया
Global IME Bank

काठमाडौं ।

एनभिडियाले भारतको ‘डीप टेक एलायन्स’मा सहभागी हुँदै समूहमा नयाँ सदस्य थपिएका र ८५० मिलियन डलरको लगानी प्रतिबद्धता गरिएको घोषणा गरेको छ।

एनभिडिया बुधबार भारतीय र अमेरिकी लगानीकर्ताहरूको साथमा दक्षिण एसियाली देशका डीप टेक स्टार्टअपहरूलाई सहयोग गर्न लागेको हो।

क्वालकम भेन्चर्स, एक्टिभेट एआई, इन्फोएज भेन्चर्स, चिराटे भेन्चर्स र कलारी क्यापिटल नयाँ लगानीकर्ताका रूपमा एलायन्समा सामेल भएका छन्। यो समूह सेप्टेम्बरमा १ अर्ब डलरको प्रारम्भिक प्रतिबद्धतासहित सुरु गरिएको थियो, जसले अन्तरिक्ष, सेमीकन्डक्टर, कृत्रिम बुद्धिमत्ता र रोबोटिक्स जस्ता उद्योगमा कम्पनीहरूलाई सहयोग गर्ने लक्ष्य राखेको छ।

रोयटर्सका अनुसार संस्थापक सदस्य र रणनीतिक सल्लाहकारका रूपमा एनभिडियाले भारतीय डीप टेक स्टार्टअपहरूलाई आफ्ना एआई र कम्प्युटिङ उपकरणहरू अपनाउन प्राविधिक मार्गदर्शन, तालिम र नीतिगत सुझाव प्रदान गर्नेछ।

यो पहल अनुसन्धान-आधारित स्टार्टअपहरूमा दीर्घकालीन लगानी अभावको समस्या समाधान गर्न गरिएको नवीनतम प्रयास हो। यस्ता कम्पनीहरूले लामो विकास समय र अनिश्चित नाफा मार्गका कारण भेन्चर पूँजी आकर्षित गर्न कठिनाइ भोग्दै आएका छन्।

भारत सरकारले केही दिनअघि अनुसन्धान र विकासलाई प्रोत्साहन दिने उद्देश्यले १२ अर्ब डलरको योजना सुरु गरेको थियो। भारत सेवा क्षेत्रमा अगाडि भए पनि उत्पादन क्षेत्रमा पछाडि छ।

नास्कमको प्रतिवेदनअनुसार भारतको डीप टेक स्टार्टअप लगानी गत वर्ष ७८ प्रतिशतले बढेर १.६ अर्ब डलर पुगेको थियो, तर यो कुल ७.४ अर्ब डलरको लगानीको मात्र पाँचौं भाग बराबर हो।

गत अप्रिलमा भारतीय मन्त्रीले स्टार्टअपहरूलाई ‘ग्रोसरी डेलिभरी’भन्दा उच्च प्रविधिमुखी क्षेत्रमा केन्द्रित हुन चीनको अनुकरण गर्न आह्वान गरेका थिए, जसलाई उद्यमीहरूले आलोचना गर्दै सरकार स्वयंले नवप्रवर्तनमा थप सहयोग गर्नुपर्ने बताएका थिए।

विशेषज्ञहरूले चिप्स र कृत्रिम बुद्धिमत्ताजस्ता मूल प्रविधि विकासका लागि डीप टेक लगानी अत्यावश्यक रहेको बताएका छन् जसले आर्थिक र रणनीतिक स्वतन्त्रता सुनिश्चित गर्न सहयोग पुर्‍याउँछ।

सेलेस्टा क्यापिटलका संस्थापक साझेदार श्रीराम विश्वनाथनले रोयटर्ससँग भने, “सरकारी समर्थन बढ्दै गइरहेको छ, भारतका लागि डीप टेकमा ध्यान केन्द्रित गर्न यसभन्दा उपयुक्त समय हुन सक्दैन।”

अग्निकुल कोस्मस (स्पेस टेक) र आइडियाफोर्ज (ड्रोन निर्माता) जस्ता कम्पनीहरूमा लगानी गरेको सेलेस्टा क्यापिटल, एक्सेल, ब्लुम भेन्चर्स, गाजा क्यापिटल र प्रेमजी इन्भेस्टलगायत लगानीकर्ताहरूसँगै यो एलायन्सको संस्थापकमध्ये एक हो।

एलायन्सका सदस्यहरूले आगामी पाँचदेखि दस वर्षभित्र आफ्नै पूँजी भारतीय डीप टेक स्टार्टअपहरूमा लगानी गर्ने, साथै तिनीहरूलाई मार्गदर्शन र नेटवर्क पहुँच उपलब्ध गराउने योजना बनाएका छन्।
“यहाँ पूँजीको कुनै सामूहिक कोष छैन। यो स्वेच्छिक पहल हो,” नास्कमको मोडेलसँग तुलना गर्दै विश्वनाथनले भनेका छन्।

प्रकाशित: १९ कार्तिक २०८२, बुधबार

Sajilo Visa
तपाइको प्रतिक्रिया