Technology Khabar २ आश्विन २०८२, बिहीबार
काठमाडौं ।
– साजन सुवेदी
केही दिन अघिसम्म नागरिक एपका सुविधामध्ये एक रहेको ड्राइभिङ लाइसेन्स अर्थात् सवारी चालक अनुमतिपत्र हाल सुविधाहरुको सूचीबाट गायब भएको छ।
पहिले नागरिकता, प्यान कार्ड, प्रेस कार्ड, राष्ट्रिय परिचयपत्रलगायतका दस्तावेजजस्तै लाइसेन्सको नम्बर राखेर लग इन गरेपछि स्मार्ट ड्राइभिङ लाइसेन्सको डिजिटल कपी आफैं देखा पर्थ्यो।
ट्राफिक प्रहरीले पनि केही महिनादेखि विशेष कसूर र दुर्घटनाबाहेकका सामान्य चेकिङका क्रममा नागरिक एपमा भएको लाइसेन्स देखाउँदा हुने नियम ल्याइसकेको थियो।
अझ बागमति प्रदेशले त ब्लूबुकसमेत क्यूआर कोडको रुपमा नागरिक एपमा राख्न सकिने व्यवस्था शुरु गरिसकेको थियो। यसरी नागरिक एपमा रहेको ड्राइभिङ लाइसेन्सलाई आधिकारिकता दिएपछि सर्वसाधारण सवारी चलाउँदा कागतपत्र बोक्नैपर्ने र बोकेका कागजपत्र हराउला, च्यातिएला या भिज्ला भन्ने त्रासबाट विस्तारै माथि उठ्न थालेका थिए।
दिनप्रतिदिन प्रविधिको विकास हुँदै गएका बेला डिजिटाइजेशनको महत्व र उपादेयतबारे पनि प्रस्ट हुन शुरु गरेको थियो। विभिन्न ठाउँमा चेकिङको नाउँमा लाइसेन्स ब्लूबुक खोज्ने र नभएमा चिट काटिहाल्ने ट्राफिक प्रहरीको दिक्कलाग्दो प्रवृत्तिबाट पनि सर्वसाधारणले केही राहत पाउन थालेका थिए।
त्यति नै बेला सरकारको डिजिटल पञ्जिकरण प्लेटफर्म नागरिक एपबाट एकाएका यो शीर्षक हट्नुले सर्वसाधारणमा अन्योल छाएको छ।
हालै भएको जेन जी आन्दोलनका क्रममा विभिन्न सरकारी लगायतका कार्यालय र भवनमा आगाजनी तथा भौतिक सम्पत्ति ध्वस्त बनाइने क्रममा यातायात व्यवस्था विभाग पनि लगभग पूरै जलाइएको थियो। सोही कारणले हो वा अन्य कुनै कारण हो भन्नेबारे सर्वसाधारणलाई थाहा छैन।
नागरिक एप सञ्चालनको जिम्मा रहेको सूचना प्रविधि विभागले पनि सरकारले प्रदान गरिरहेको एउटा महत्वपूर्ण सुविधा एकाएक गायब हुनुको कुनै औपचारिक जानकारी उपलब्ध गराएको छैन।
यसबारे जिज्ञासा राख्दा भौतिक योजना तथा यातायात मन्त्रालयका सूचना अधिकारी मोहन निरौलाले टेक्नोलोजीखबरलाई भने, हामीलाई पनि आधिकारिक रुपमा जानकारी छैन। भर्खरै कार्यालयकै कर्मचारी साथीले ‘अब फेरि लाइसेन्स बोकेर हिँड्नुपर्ने भयो, नागरिक एपमा देखाउन छोडेछ’ भन्नुभएको थियो। विभागको सर्भरतिर केही समस्या आएको होला। विभागको आईटीका प्राविधिकज्यूहरुसँग भेटपछि म सोध्छु।’
निरौलाले सर्भरमा गडबडी पो हो कि भन्दै गर्दा हामीले केही दिनअघि ‘के कति क्षति भयो भनेर बुझ्न जाँदा सर्भरलगायतका सबै सामान जलेका कारण विभागको प्राङ्गणमै भित्र नपस्न सूचना टाँस गरिएको स्मरण भयो।
सम्भवत: सर्भरकै कारण होला भन्ने आकलन गर्दै प्रामाणिक जानकारीका लागि नागरिक एप सञ्चालनको जिम्मा पाएको सूचना प्रविधि विभागका सूचना अधिकारी प्रकाश दवाडीसँग जिज्ञासा राख्यौं।
उनले भने, ‘ड्राइभिङ लाइसेन्स हाम्रो सर्भरमा सबै डाउनलोड हुने होइन, रिक्वेस्ट आएपछि एपीआईमार्फत् यातायात व्यवस्था विभागको सर्भरबाट तान्ने हो। विभागको डाटा ठिक छ तर सर्भर पूरै जलेको छ। त्यो सर्भर बनेपछि सामान्य अवस्थामा फर्किन्छ।’
हामी तथा मन्त्रालयका प्रवक्ताको प्रारम्भिक आकलन लगभग सही भएको सूचना प्रविधि विभागका सूचना अधिकारीले पक्का गरेपछि अब सर्भर बन्न र त्यहाँ रहेका डाटा सम्बन्धित निकायहरुमा जोडिन के कति समय लाग्ला भन्ने जिज्ञासा यातायात व्यवस्था विभागका महानिर्देशक राजिव पोखरेलसमक्ष राख्यौं। उनले गम्भीर मुद्रामा भने, ‘भवनका भौतिक सामग्री र सर्भर पूर्णरुपमा जलेर खरानी भएको छ, खरानीबाट उठ्नुपर्ने अवस्था छ। डाटा म्यानेजमेन्टका कुरा छन्, नेटवर्किङका कुरा छन्। यी सबै मिलाउन निकै समय लाग्छ।’
महानिर्देशक पोखरेलका अनुसार हाल विभागमा बिजुली, नेटवर्कलगायतका सुविधा पनि नभएकाले पूर्णरुपमा सञ्चालनमा आउन थुप्रै समय लाग्ने र त्यसबारे अहिले नै आकलन गर्न सकिने अवस्था छैन।
यस हिसाबले हेर्दा नागरिक एपमा ड्राइभिङ लाइसेन्स तत्काल फर्कने अवस्था छैन। विभागले जति छिटो सर्भर स्थापना, नेटवर्क पुनर्स्थापना तथा तथ्याङ्कको व्यवस्थापन गरिसक्छ त्यसै हिसाबले सर्वसाधारणले नागरिक एपमा ड्राइभिङ लाइसेन्स फेरि देख्न र त्यसको उपयोग गर्न पाउनेछन्। तबसम्मबा लागि भौतिक रुपमा रहेका लाइसेन्स वा लाइसेन्स नबनिसकेका र हातमा लाइसेन्स बनाउन दिएको रसिद लिएर सवारी चलाउनेले पुन: ती कुराहरु भने आफूसँग बोक्नुपर्ने अवस्था आएको छ।
प्रकाशित: २ आश्विन २०८२, बिहीबार