बन्द गरेका सामाजिक सञ्जाल प्लेटफर्म खोल्न सबै दूरसञ्चार सेवा प्रदायकहरुलाई मौखिक आग्रह- स्रोत

Technology Khabar २३ भाद्र २०८२, सोमबार

बन्द गरेका सामाजिक सञ्जाल प्लेटफर्म खोल्न सबै दूरसञ्चार सेवा प्रदायकहरुलाई मौखिक आग्रह- स्रोत
सांकेतिक तस्बिर। फ्रिपिक डटकमको सहयोगमा।

काठमाडौं ।

सरकारले सामाजिक सञ्जाल प्लेटफर्महरु अनौपचारिकरुपमा खोल्न आदेश दिएको छ। सरकारी अधिकारीहरुले मौखिकरुपमा सबै सेवा प्रदायकहरुलाई बन्द गर्न निर्देशन दिएका सामाजिक संजाल प्लेटफर्महरु खोल्न भनेका छन्।

आज जेनजीको प्रदर्शनमा कम्तिमा १८ जनाको प्रहरीको गोलि लागेर मृत्यु र ३५० भन्दा धेरै घाईते भएसँगै सरकारले सेवा प्रदायकहरुलाई “खुसुक्क” सामाजिक सञ्जाल प्लेटफर्महरु खोल्न भनेको हो।

यस बारेमा जानकार फरक-फरक स्रोतहरुले मौखिकरुपमा केहि बाहेक सबै सामाजिक संजालहरु अहिलेदेखिनै खोल्न भनिएको बताए।

एक स्रोतले नेपाल टेलिकमसहित एनसेल र आइएसपीहरु सबैलाई खोल्न भनिएको जानकारी दिएको छ।

“केहि समयअघिदेखि नै सरकारको स्वामित्वमा रहेको नेपाल टेलिकमकै नेटवर्कमा सामाजिक सञ्जालहरु खोलि सकेका छन्,” जानकार स्रोतले भन्यो,” अन्यमा पनि बिस्तारै खुल्नेछ।”

यस्तै अर्को स्रोतले पनि मौखिकरुपमा जानकारी आएको हुँदा सेवा प्रदायकहरु सबैले बन्द गरेका सामाजिक सञ्जाल खोलेको जानकारी दिएका छन्।

“नेटवर्क सेवा प्रदायकहरुले खोले भने अन्य इन्टरनेट सेवा प्रदायकहरुकोमा स्वतः खुल्छ,” अर्को स्रोतले भन्यो, “अहिले फेसबुकमा बाहेक अरु चलाउन समस्या देखिएको छैन्।”

यसैगरी, उच्च ब्याण्डविथ खपतका कारण इन्टरनेट सेवा बन्द हुने चेतावनी पत्र आजैमात्र दिएका इन्टरनेट सेवा प्रदायकहरुले पनि अनौपचारिकरुपमा बन्द गरिएका सामाजिक सञ्जाल खोलेका छन्।

“केहि बाहेक सबै खोल्न भनिएको छ, तर औपचारिक पत्र भने आएको छैन्,” एक सेवा प्रदायक संचालकले भने, “भोलीसम्ममा सबै खुल्छन् होला।”

यसैगरी अर्का एक संचालकले पनि अधिकांश सेवा प्रदायकहरुको नेटवर्कमा सामाजिक सञ्जाल खुलेको बताए।

“सबै सेवा प्रदायकहरुकोमा जेनजी युवा आईटी र नेटवर्कमा दिनरात काम गर्छन्,” उनले भने, “उनीहरुले पनि अन्य जेनजीको समर्थनमा खोले तर अधिकांश कम्पनीका मालिकहरुलाई थाहै छैन्।”

टेक्नोलोजीखबरले हेर्दा पनि नेपाल टेलिकमसहित इन्टरनेट सेवा प्रदायकहरुको नेटवर्कमा बन्द गर्न निर्देशन दिईएका अधिकांश सामाजिक सञ्जाल प्लेटफर्महरु चलाउन सकिन्छ।

Sajilo Visa

प्रकाशित: २३ भाद्र २०८२, सोमबार

तपाइको प्रतिक्रिया

ताजा समाचार