अष्ट्रेलियामा विद्युतीय सवारीसाधनको बिक्री ६० प्रतिशतले वृद्धि, नयाँ कीर्तिमान कायम

  • Technology Khabar | ३० श्रावण २०८२, शुक्रबार
अष्ट्रेलियामा विद्युतीय सवारीसाधनको बिक्री ६० प्रतिशतले वृद्धि, नयाँ कीर्तिमान कायम

काठमाडौं ।

अष्ट्रेलियामा सन् २०२५ को दोस्रो त्रैमासिकमा विद्युतीय सवारीसाधनको बिक्री ६० प्रतिशतभन्दा बढीले वृद्धि भई अहिलेसम्मकै उच्च विन्दुमा पुगेको तथ्यांक बिहीबार सार्वजनिक गरिएको छ।

अष्ट्रेलियाको सबैभन्दा ठूलो मोटर यातायात सम्बन्धी गैरसरकारी संस्थाले प्रकाशित गरेको प्रतिवेदन अनुसार, अप्रिलदेखि जुन महिनाको अवधिमा अष्ट्रेलियालीहरूले २९ हजार २४४ नयाँ ब्याट्रीचालित सवारीसाधन किनेका छन्।

यो सङ्ख्या अघिल्लो त्रैमासिकमा बिक्री भएका १७ हजार ९०१ सवारीसाधनको तुलनामा ६३.३ प्रतिशतले बढी हो। यसले अघिल्लो कीर्तिमान—सन् २०२३ को दोस्रो त्रैमासिकमा भएको २५ हजार ६९६ को बिक्रीलाई पनि पार गरेको छ।

संस्थाले जनाएअनुसार, सन् २०२५ को दोस्रो त्रैमासिकमा नयाँ हल्का सवारीसाधनमा विद्युतीय सवारीसाधनको बजार हिस्सा ९.३ प्रतिशत पुगेको छ, जुन पहिलो त्रैमासिकको ६.२ प्रतिशतबाट उल्लेखनीय वृद्धि हो र नयाँ कीर्तिमान पनि हो।

यसैबीच, इन्धनबाट चल्ने सवारीसाधनको बजार हिस्सा लगातार घट्दै गएको छ। सन् २०२३ को पहिलो त्रैमासिकमा ८६.४ प्रतिशत रहेको हिस्सा सन् २०२५ को दोस्रो त्रैमासिकमा घटेर ७२.०३ प्रतिशतमा झरेको छ।

संकर प्रविधियुक्त सवारीसाधनको बजार हिस्सा दोस्रो त्रैमासिकमा १४.८ प्रतिशत रह्यो, जुन सन् २०२४ को पहिलो त्रैमासिकयता सबैभन्दा न्यून हो।

मझौला आकारका सवारीसाधन मात्र त्यस्ता वर्ग थिए, जहाँ विद्युतीय र संकर दुवै प्रकारका सवारीसाधनको बजार हिस्सा इन्धनबाट चल्ने सवारीसाधनभन्दा बढी देखिएको हो।-रासस/सिन्ह्वा

प्रकाशित: ३० श्रावण २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

World’s largest 16,000-ton die-casting production line by Dongfeng commenced operation

  • Technology Khabar
  • ३० श्रावण २०८२, शुक्रबार