विद्युतीय सवारी अब समुद्रमा पनि उपलब्ध: रेसबर्ड नामका यी ‘एकसिटे उड्ने डुङ्गा’ यूएफओजस्तै देखिन्छन्

  • Technology Khabar | २६ श्रावण २०८२, सोमबार
विद्युतीय सवारी अब समुद्रमा पनि उपलब्ध: रेसबर्ड नामका यी ‘एकसिटे उड्ने डुङ्गा’ यूएफओजस्तै देखिन्छन्

काठमाडौं ।

पानीको सतहमा पातलो हाइड्रोफोइलमा चिप्लिँदै जाने यी डुङ्गाहरू जहाजभन्दा बढी आकाशमा उड्ने यूएफओजस्तो देखिन्छन्। तर ई–१ सिरिजका “रेसबर्ड” भनिने यी एक सिटका विद्युतीय पावरबोट ६ हजार भोल्टका इन्जिनसहित ५० नट (५८ माइल प्रतिघण्टा वा ९३ किलोमिटर प्रतिघण्टा)को गति लिन सक्ने भए पनि बाहिरी ग्रहका होइनन्।

यी त पानीमा विद्युतीय सवारीसाधन ल्याउने लक्ष्य राखेको तीव्र गतिमा बढ्दै गएको खेलको हिस्सा हुन्।

यसै लक्ष्यसहित सुरु गरिएको हो युआइएम ई–१ वर्ल्ड च्याम्पियनसिप, जसलाई “समुद्रको फर्मुला–वान” पनि भनिन्छ। यसलाई विल स्मिथ, लेब्रोन जेम्स, टम ब्रेडी, राफेल नडाल, सेर्जियो पेरेज र विराट कोहलीजस्ता चर्चित खेलाडी तथा कलाकारले टोली स्वामित्वमार्फत समर्थन गरेका छन्।

लाइभसाइन्सका अनुसार २०२५ को यो दोस्रो संस्करण साउदी अरेबियाको जेद्दा, कतारको दोहा, क्रोएसियाको दुब्रोनिक, इटलीको लागो माज्जोरे, मोनाको, नाइजेरियाको लागोस र अमेरिकी मियामी गरी सात स्थानमा हुँदैछ। नौवटा टोलीले पानीका च्याम्पियन बन्न प्रतिस्पर्धा गर्ने यो प्रतियोगितामा संस्थापकहरूको उद्देश्य मात्र जित–हारमा सीमित छैन।

उनीहरू विद्युतीय मोटर समुद्रमा पनि सफलतापूर्वक प्रयोग गर्न सकिन्छ भन्ने देखाउन चाहन्छन्।

“पानीमा हुने आवागमन प्रदूषणमा खराब योगदान दिइरहेको छ,” पूर्व नासा वैज्ञानिक र एफ–१ इन्जिनियरसमेत रहेका ई–१ का सह–संस्थापक तथा प्रमुख कार्यकारी रोडी बास्सोले लाइभ साइन्सलाई भने। “दिगोपन अहिले केही कठिन शब्दजस्तो भइसकेको छ। समस्या छ भन्ने चेतना आवश्यक थियो, तर अब हामी केवल चिन्ता बढाइरहन सक्दैनौं, समाधान चाहिन्छ। यो डुङ्गा समाधान हो।”

यो खेलको प्रेरणा बास्सोलाई कोभिड–१९ महामारीको सुरुवाततिर आयो। त्यतिबेला उनी र एलेजान्द्रो अगाग (हाल ई–१ का अध्यक्ष र सह–संस्थापक, साथै विद्युतीय मोटरस्पोर्ट फर्मुला–ई र एक्स्ट्रीम–ईका प्रवर्तक) लन्डनको थेम्स नदी किनारमा हिँडिरहेका थिए। बास्सोले विद्युतीय पावरबोट च्याम्पियनसिपको विचार दिएपछि अगागले लगानी र मोटरस्पोर्टको अनुभव उपलब्ध गराए।

पक्षी पानीको सतहमा फड्किँदै जाने तरिकाबाट प्रेरित २४ फिट (७.३ मिटर) लम्बाइको डुङ्गा सीबर्ड संस्थापक सोफी होर्नेले डिजाइन गरिन्। यसले १९.५ माइल प्रतिघण्टा (३१ किलोमिटर प्रतिघण्टा)को गतिमा पानीको सतहबाट ३ फिट (१ मिटर) माथि उठ्न सक्छ।

“यो विमानको नियन्त्रण स्टिक तानेजस्तो हो,” २०२४ को पहिलो ई–१ वर्ल्ड च्याम्पियनशिप जित्ने टिम ब्रेडीका पाइलट स्याम कोलम्यानले भने। “यो डुङ्गा चलाउनुभन्दा बढी उडानजस्तै अनुभव हुन्छ।”

हाइड्रोफोइलमा सन्तुलनमा रहँदा यी डुङ्गाले पानीमा कम छाल बनाउँछन्, जसले किनार कटान कम गर्छ। यसले पानीमा घर्षण घटाएर गति बढाउँछ। साथै, २० सेकेन्डको बुस्टमार्फत ब्याट्रीको शक्ति ९५ किलोवाटबाट १४० किलोवाटसम्म पुर्‍याउन सकिन्छ, जसले गति ५० नटसम्म पुर्‍याउँछ। तर यसले केही चुनौती पनि ल्याउँछ। हाइड्रोफोइलमा उठ्दा तीव्र गतिमा त जान्छन्, तर तीव्र मोड लिन सक्दैनन्। साथै, फोइल मुनि पानीमा हावाका बुलबुला बन्ने ‘क्याभिटेसन’को खतरा हुन्छ।

“करिब ५० नटमा यी अस्थिर हुन्छन्,” बास्सोले भने। “पानीमा बुलबुला बन्न थालेपछि दबाब घट्छ, जसले डुङ्गालाई माथि उठाउने बल कम गर्छ, र डुङ्गा अचानक तल झर्न सक्छ।”

त्यसैले पाइलटहरूले कहिले बुस्ट प्रयोग गर्ने र कहिले फोइलमा उठाउने भन्ने कुरा सूक्ष्म रूपमा नियन्त्रण गर्नुपर्छ। प्रतिस्पर्धामा उनीहरूले समय–परीक्षणमार्फत अन्तिम पाँच डुङ्गाको दौडमा स्थान बनाउनुपर्छ।

जित्नका लागि मोड काट्ने सही लाइन रोज्नु पर्छ— कहिले फोइलमा चौडा मोड लिँदै जानु पर्ने, त कहिले बुइ नजिकै पानीमा ठोक्किएर बुस्टसहित गति बढाउनु पर्ने। यो सब अन्य डुङ्गाले उत्पन्न गरेको उथलपुथल पानीमा गर्नुपर्ने हुन्छ। यो अत्यधिक एकाग्रता र छिनभरमै निर्णय गर्ने क्षमताको माग गर्छ। ककपिटभित्रको तापक्रम ७५ डिग्री सेल्सियससम्म पुग्ने हुँदा चुनौती झन् बढ्छ।

“यो साउना भित्र बसेर उफ्रिने रेसिङ सिमुलेटर चलाउन खोजेजस्तो थकाइ लगाउने कुरा हो,” कोलम्यानले भने। “सानो मात्र त्रुटि हुँदा पनि डुङ्गा असन्तुलित भएर धेरै समयसम्म गति गुमाउन सक्छ।” किनारमा रहेका इन्जिनियरहरूको टोलीले हरेक भागको डाटा विश्लेषण गरेर पाइलटलाई रेडियोमार्फत सल्लाह दिन्छन्। टोली मालिकहरू पनि दौडको नतिजामा नजिकैबाट ध्यान दिन्छन्।

“टम ब्रेडी हाम्रो टोलीका मालिक हुनु नै अद्भुत लाग्छ,” कोलम्यानले भने। “राफा र विल स्मिथ लैक कोमोमा हुँदा उनीहरूले खेल बुझेर आनन्द लिए, प्रतिस्पर्धी भावना देखाए र यस नयाँ खेललाई लोकप्रिय बनाउन ठूलो अवसर देखाए। यो साँच्चिकै रोमाञ्चक यात्रा हो।”

प्रकाशित: २६ श्रावण २०८२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

अमेरिकाको निशानामा चिनियाँ टेक कम्पनी

  • Technology Khabar
  • २६ श्रावण २०८२, सोमबार