५० लाखभन्दा माथिका योजना ‘मुख्यमन्त्री ड्यास बोर्ड’ मार्फत अनुगमन गर्दै लुम्बिनी प्रदेश

Technology Khabar १५ श्रावण २०८२, बिहीबार

५० लाखभन्दा माथिका योजना ‘मुख्यमन्त्री ड्यास बोर्ड’ मार्फत अनुगमन गर्दै लुम्बिनी प्रदेश
फाइल तस्विर

काठमाडौं ।

लुम्बिनी प्रदेश सरकारले ५० लाख रुपैयाँभन्दा माथिका योजना ‘मुख्यमन्त्री ड्यास बोर्ड मार्फत अनुगमन गर्ने भएको छ। सूचना तथा सञ्चार प्रविधि परिषद्को बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकार तथा मातहतका निकायबाट कार्यान्वयन हुने योजनाहरूको ड्यास बोर्डमार्फत अनुगमन गर्ने गरी प्रणाली विकास गर्न निर्देशन दिएका हुन्।

सरकारले गर्ने हरेक कामलाई नजिकबाट अनुगमन गर्ने प्रणालीको विकास गर्न जरुरी रहेको भन्दै मुख्यमन्त्री आचार्यले भने, “५० लाखभन्दा माथिका योजनाको कार्यान्वयनको अवस्था र उपलब्धिलाई ड्यास बोर्डमार्फत अनुगमन गर्ने प्रणालीको विकास गरौं। सरकारका कामलाई पारदर्शी र जवाफदेही बनाउन अनुगमनलाई प्रभावकारी बनाउनु आवश्यक छ।”

मुख्यमन्त्री आचार्यले किसान एपलाई पनि प्रभावकारी ढङ्गले कार्यान्वयनमा लैजान निर्देशन दिएका छन्। जुन लक्ष्य र उद्देश्यका साथ किसान एप बनाउने काम गरिएको भन्दै मुख्यमन्त्री आचार्यले भने, “बनाएको कृषि एपलाई अब कार्यान्वयनमा लैजान जरुरी छ। प्रदेशका मुख्य तरकारी बजारको दैनिक मूल्यसूची राख्न आवश्यक छ।”

उनले गैरकाष्ठ वन पैदावारको मूल्यसूचीसमेत किसान एपमा समावेश गरी सबैको पहुँचमा पुऱ्याउन आवश्यक रहेको बताएका थिए।

बैठकमा प्रमुख सचिव बाबुराम अधिकारीसहित परिषद्का पदाधिकारी तथा सदस्यको उपस्थिति थियो। कार्यक्रममा सूचना तथा सञ्चार प्रविधि प्रतिष्ठान कार्यकारी निर्देशक अनुप बाँस्कोटाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रगति प्रतिवेदन र चालु आव २०६२/६३ को बजेट तथा कार्यक्रमको विवरण प्रस्तुत गरेका थिए।

प्रकाशित: १५ श्रावण २०८२, बिहीबार

तपाइको प्रतिक्रिया