चार दिनदेखि डोल्पामा विद्युत आपूर्ति ठप्प हुँदा नेपाल टेलिकमको कार्यालयमा मोबाइल चार्ज गर्दै स्थानीयबासी

  • Technology Khabar | १४ श्रावण २०८२, बुधबार
चार दिनदेखि डोल्पामा विद्युत आपूर्ति ठप्प हुँदा नेपाल टेलिकमको कार्यालयमा मोबाइल चार्ज गर्दै स्थानीयबासी

काठमाडौं ।

डोल्पा जिल्लाको सदरमुकाम दुनैमा विद्युत सेवा नहुँदा सेवाग्राहीहरु नेपाल टेलिकमको कार्यालयमा फोन चार्जका लागि धाउनुपर्ने बाध्यता देखिएको छ।

डोल्पामा लगातार ४/५ दिनदेखि बर्षात भइरहेको कारण विद्युत प्राधिकरणले विद्युत सप्लाइ गर्न सकेको छैन्।

यसले गर्दा नेपाल टेलिकमको कार्यालयमा मोवाईल चार्ज गर्न स्थानीयबासीहरुको यस्तो भिड्भाड हुने गरेको अवस्था देखिएको छ।

बिगत ४ दिनदेखि जिल्लामा फोन नहुँदा कार्यालयमा फोन चार्ज गर्न आउने ग्राहकहरुको संख्या निरन्तर बढेको जानकारी पाएको नेपाल टेलिकम प्रादेशिक कार्यालय सुर्खेतका एक अधिकारीले बताएका छन्।

“दैनिक ठूलो संख्यामा ग्राहकहरु नियमितरुपमा फोन चार्ज गर्न आईरहेका छन्, हाम्रै मोबाइल सेवाका प्रयोगकर्ता भएको र हामीसँग ब्याकअप पावर रहेको हुँदा समस्या छैन्,” उनले भने।

विद्युत नभएको समयमा नेपाल टेलिकमले डोल्पामा सोलार तथा जेनेरेटरबाट व्याकअप पावर संचालन गर्ने गरेको जानकारी दिएको छ।

नेपाल टेलिकम डोल्पाका इन्चार्ज दया बिक्रम केसीकाअनुसार दैनिक दर्जनौं सेवाग्राहीहरु कार्यालयमा फोन चार्जका लागि भनेर आउने गरेका छन्।

“दुर्गम स्थान भएको हुँदा फोन सम्पर्कका लागि उनीहरुलाई सहज होस् भनेर मोबाइल फोन चार्जको सुबिधा दिएका छौं,” डोल्पाका इन्चार्ज केसीले टेक्नोलोजीखबरसँग भने।

 

उनकाअनुसार दिउँसो घाम लागेको बेलामा सोलारबाट चार्जिङ्ग गर्ने गरिएको छ भने अन्य समयमा जेनेरेटर चलाउने गरिएको छ। “तर जेनेरेटर समेत मर्मत गर्ने बेला भएको छ, अहिले जेनतेन चलाईरहेका छौं,” उनले भने, स्थानीयबासीसहित नेपाली सेना र नेपाल प्रहरीका कर्मचारीहरु समेत चार्ज गर्न आईरहनुभएको छ।”

स्थानीय हाइड्रो पावरमा बाढीले ढुङ्गा पसेको र राष्ट्रिय ग्रिडको विद्युत समेत नहुँदा ४/५ दिनदेखि डोल्पाको दुनै विद्युत बिहिन बनेको उनको भनाई छ।

उनले दुनै क्षेत्रमा नेपाल टेलिकमको सेवामा हाल समस्या नभएको र केहि समयअघि फोक्सुण्डो ताल क्षेत्रमा देखिएको समस्या समेत समाधान गरिसकिएको जानकारी दिए।

दुर्गम भएको हुँदा कार्यालयमा थोरै मात्र कर्मचारी भएको र अन्य नियमित मर्मत संभारसहितका कार्यहरुका लागि समेत सुर्खेतमा भरपर्नुपर्ने बाध्यता रहेको गुनासो उनले गरे।

प्रकाशित: १४ श्रावण २०८२, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार