Technology Khabar १४ श्रावण २०८२, बुधबार
काठमाडौं ।
अमेरिकी प्रविधिमा आधारित उन्नत एनभिडिया चिप्समा लगाइएको निर्यात प्रतिबन्धसँग जुझ्न चिनियाँ कृत्रिम बुद्धिमत्ता (एआई) कम्पनीहरूले दुई नयाँ औद्योगिक गठबन्धनको घोषणा गरेका छन्। यसका माध्यमबाट चीनले विदेशी प्रविधामा निर्भरता घटाउने र आफ्नै घरेलु एआई प्रणाली विकास गर्ने उद्देश्य राखेको छ।
यी घोषणाहरू सोमबार सम्पन्न तीनदिने वर्ल्ड आर्टिफिसियल इन्टेलिजेन्स कन्फ्रेन्सको अवसरमा गरिएको हो, जुन शाङ्घाइमा सम्पन्न भयो। सम्मेलनमा ह्वावेको शक्तिशाली एआई कम्प्युटिङ प्रणाली जस्ता थुप्रै नयाँ उत्पादनहरू प्रस्तुत गरिए, जसलाई विज्ञहरूले एनभिडियाको नवीनतम प्रविधिसँग तुलना गर्न मिल्ने बताएका छन्। साथै, डिजिटल एआई चस्मा जस्ता प्रयोगमैत्री उत्पादनहरू पनि प्रदर्शनमा थिए।
पहिलो गठबन्धन “मोडल-चिप इकोसिस्टम इनोभेशन अलायन्स” ले ठूलो भाषा मोडेल (एलएलएम) विकासकर्ता र एआई चिप निर्माता कम्पनीहरूलाई एकत्रित गरेको छ। एन्फ्लेमका सीईओ झाओ लिडोङले भने, “यो चिपदेखि मोडेल हुँदै पूर्वाधारसम्मको पूरै प्रविधि श्रृंखला जोड्ने नवप्रवर्तनात्मक पारिस्थितिकीय तन्त्र हो।”
रोयटर्सका अनुसार यस गठबन्धनमा समावेश जीपीयू निर्माता कम्पनीहरूमा ह्वावे, बिरेन र मूर थ्रेड्स रहेका छन्, जसलाई अमेरिकी प्रतिबन्धले अमेरिकी प्रविधिमा आधारित उन्नत उपकरणहरू खरिद गर्न रोक लगाएको छ। गठबन्धन स्टेपफन नामक एलएलएम विकासकर्ताले घोषणा गरेको हो।
दोस्रो गठबन्धन “शाङहाई जेनेरल च्याम्बर अफ कमर्स एआई कमिटी” ले एआई प्रविधि र औद्योगिक रूपान्तरणबीचको गहिरो समन्वय प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ। यसमा सेन्सटाइम, स्टेपफन, मिनिम्याक्स, मेट्याक्स र इलुभतार कोरेक्सजस्ता कम्पनीहरू सहभागी छन्।
सेन्सटाइमले अनुहार पहिचान प्रविधिबाट एलएलएम मा ध्यान केन्द्रित गर्दै आएको छ र अमेरिकाको प्रतिबन्धको सूचीमा पनि परेको कम्पनी हो।
सम्मेलनमा सबैभन्दा चर्चित उत्पादनमध्ये एक ह्वावेको क्लाउडम्याट्रिक्स ३८४ थियो जसमा ९१०सी चिप्सको ३८४ युनिट छन्। अमेरिकी अनुसन्धान संस्था सेमी एनालाइसिसका अनुसार यसले एनभिडियाको जीबी२०० एनभीएल७२ भन्दा केही पक्षमा राम्रो प्रदर्शन गरेको छ। ह्वावेले व्यक्तिगत चिपभन्दा प्रणालीगत नवप्रवर्तनमार्फत क्षमता वृद्धि गरेको हो।
कम्तीमा ६ ओटा चिनियाँ कम्पनीहरूले यस्तै ‘क्लस्टरिङ’ प्रविधिमा आधारित चिप प्रणाली प्रदर्शन गरेका थिए। मेट्याक्सले १२८ वटा सी५५० चिप्स प्रयोग गरिएको एआई सुपरनोड सार्वजनिक गर्यो, जुन ठूलो परिमाणमा लिक्विड-कुल्ड डाटा सेन्टर आवश्यकताका लागि डिजाइन गरिएको हो।
अन्य प्रमुख घटनाहरूमा टेन्सेन्टले आफ्नो खुला स्रोत हुन युआन३डी वर्ल्ड मोडल १.० सार्वजनिक गर्यो जसले प्रयोगकर्तालाई टेक्स्ट वा तस्बिर प्रयोग गरी अन्तरक्रियात्मक थ्रीडी वातावरण सिर्जना गर्न सहयोग पुर्याउँछ।
बाईदूले “डिजिटल ह्युमन” प्रविधि घोषणा गर्यो, जसले कम्पनीहरूलाई भर्चुअल लाइभस्ट्रीमर बनाउन सहयोग गर्छ। यसमा “क्लोनिङ प्रविधि” समावेश गरिएको छ, जसले केवल १० मिनेटको नमूना फुटेज प्रयोग गरी मानवको स्वर, शैली र शारीरिक हाउभाउको नक्कल गर्न सक्छ।
अलिबाबाले क्वार्क एआई ग्लासेज घोषणा गर्यो, जुन क्वेन एआई मोडेलमा आधारित छ र सन् २०२५ को अन्त्यसम्म चीनमा सार्वजनिक गरिनेछ। यसले प्रयोगकर्तालाई कम्पनीको नक्सा सेवा प्रयोग गर्न र क्यूआर स्क्यानमार्फत आवाजद्वारा अलिपे चलाउन सहयोग गर्नेछ।
प्रकाशित: १४ श्रावण २०८२, बुधबार