यहि साउन २१ देखि आयोजना हुने ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो’मा ३५ ओटा नयाँ सवारी साधनहरु लन्च हुँदै

Technology Khabar १२ श्रावण २०८२, सोमबार

काठमाडौं ।

नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एशोसिएशन (नाइमा) ले आयोजना गर्न लागिएको “नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५”मा ३५ ओटा नयाँ सवारी साधनहरु लन्च हुने जानकारी दिएको छ।

आज आयोजित पत्रकार सम्मेलनमा कार्यक्रमको बारेमा विस्तृत जानकारी दिँदै अटो एक्स्पो समिति प्रमुख शिरीष कुमार मुरारकाले नयाँ प्रविधि र मोडलहरू सार्वजनिक हुने, विद्युतीय सवारी साधनदेखि नवीनतम मोबिलिटी समाधानहरू प्रदर्शनीमा राखिने जानकारी दिए। प्रर्दशनीमा १५ ओटा दुई पाङ्रे, १५ ओटा चार पाङ्रे, र ५ ओटा कर्मसियल गाडीहरु सार्वजनिक हुने जानकारी दिईयो।

नाइमाकी अध्यक्ष रितु सिंह वैद्यले “नाइमा मोबिलिटी एक्स्पो २०२५” नेपालकै सबैभन्दा ठूलो र महत्वपूर्ण अटोमोबाइल प्रदर्शनी बन्ने विश्वास व्यक्त गरिन्। यसका साथै उनले प्रर्दशनीको पाँचौ दिन विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरुको सहभागिता रहने प्यानल डिस्कसनको बारेमा पनि जानकारी दिईन्।

आयोजककाअनुसार प्रर्दशनीका आगन्तुकहरुलाई प्रायोजक कम्पनीहरुले पनि विशेष प्रावधानको व्यवस्था गरेका छन। राईड पार्टनर पठाओले प्रर्दशनलाई लक्षित गरेर भृकुटीमण्डप गन्तव्य भएका राईडहरुमा ३० प्रतिशतसम्मको छुट दिँदै छ भने मेडिकल पार्टनर फ्रन्टलाईन हस्पिटलले प्रर्दशनी स्थलमा चौबिसै घण्टा एम्बुलेन्स व्यवस्थापन सहित आकस्मिक तथा सामान्य चिकित्सा सेवा प्रदान गर्ने भएको छ।

यस बाहेक संस्थाले प्रर्दशनीलाई लक्षित गरेर विशेष अनलाईन प्रतियोगिता पनि सार्वजनिक गरेको छ। यो प्रतियोगितामा साउन २१ गतेसम्ममा नाइमा अटो एक्स्पो सम्बन्धित भिडियो बनाएर सामाजिक संजालमा अपलोड गर्ने एक उत्कृष्ट प्रतिश्पर्धीलाई एक लाख र श्रावण २१ देखि २५ सम्म अपलोड भएका १० उत्कृष्ट भिडियोहरु प्रत्येकलाई रु १०,००० नगद पुरस्कार प्रदान गरिने छ।

प्रर्दशनीको पहिलो दिन अनिल केशरी शाहले २ बजे देखि ५ बजे सम्म “मोबिलिटी हिजो, आज, र भोलि” विषयक शत्र संचालन गर्दैछन् भने अरु दिनको सत्रहरुमा त्रिभुवन विश्वविद्यलय, काठमाडौं विश्वविद्यालय, शिक्षा मन्त्रालय, राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय, र भारतको इंस्टीच्युट अफ रोड ट्राफिक एजुकेशन जस्ता विभिन्न राष्ट्रिय तथा अन्र्तराष्ट्रिय संस्थाहरुका दक्ष तथा विज्ञ व्यक्तित्वहरुको उपस्थिती रहने जानकारी दिईयो।

“नाइमा मोबिलिटी एक्स्पो २०२५” श्रावण २१ देखि २५ गतेसम्म भृकुटीमण्डप, काठमाडौंमा आयोजना हुँदैछ जहाँ ५० भन्दा बढी ब्राण्डहरू सहभागी हुनेछन्।

नाइमा नेपाल मोबिलिटी एक्स्पोमा विक्री भएका टिकटहरुको पाँच प्रतिशत रकम शिक्षा मन्त्रालय र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्को सहकार्यमा विद्यार्थीहरुलाई मोबिलिटी क्षेत्रका विषयमा छात्रवृत्ति तथा फेलोशिपहरु प्रदान गरिने आयोजकले जनाएको छ।

प्रकाशित: १२ श्रावण २०८२, सोमबार

तपाइको प्रतिक्रिया