सुबिसुको मोबाइल एप एक लाखभन्दा धेरै डाउनलोड, नयाँ संस्करण चाँडै सार्वजनिक हुँदै

Technology Khabar १२ श्रावण २०८२, सोमबार

काठमाडौं ।

इन्टरनेट सेवा प्रदायक कम्पनी सुबिसुद्वारा सञ्चालनमा ल्याइएको मोबाइल एप एक लाखभन्दा बढी पटक डाउनलोड भएको छ। यसबारे हालै कम्पनीले औपचारिक रूपमा जानकारी दिएको छ।

ग्राहकहरूको सेवा व्यवस्थापन, बिल भुक्तानी, तथा जानकारी प्राप्तिमा सहजता ल्याउने उद्देश्यले विकास गरिएको यस एपले कम्पनीको डिजिटल सेवामा एउटा महत्त्वपूर्ण कोशेढुंगा पार गरेको हो।

सन् २०७९ साउन महिनादेखि सञ्चालनमा आएको यो एपले प्रयोगकर्तालाई इन्टरनेट सेवा र क्लियर टीभी सेवा व्यवस्थापन गर्न, बिल भुक्तानी गर्न, नयाँ अफर तथा प्याकेज हेर्न, र प्राविधिक सहयोगको लागि अनुरोध गर्न सकिने सुविधा दिँदै आएको छ।

साथै, यस एपमार्फत प्रयोगकर्ताले आफ्नो वाईफाईराउटर नियन्त्रण गर्नुका साथै पासवर्ड परिवर्तन गर्ने जस्ता प्राविधिक कार्यहरू पनि सजिलै गर्न सक्छन्।

सेवा सरल बनाउन ‘भर्जन २.०’ ल्याइँदै

एपको बढ्दो लोकप्रियता र प्रयोगकर्ताको विश्वासलाई ध्यानमा राख्दै कम्पनीले यसै वर्ष एपको नयाँ संस्करण (भर्सन २.०) सार्वजनिक गर्ने तयारी गरिरहेको छ। नयाँ संस्करणले एपको प्रयोगलाई अझ सहज, प्रभावकारी, र युजर-फ्रेन्ड्ली बनाउने अपेक्षा गरिएको छ।

ग्राहकको प्रतिक्रिया, सुझाव, र अनुभवले नयाँ संस्करणको विकासमा महत्त्वपूर्ण भूमिका खेलेकोका कारण सोही अनुरुप नयाँ संस्करणमा थप सुविधा, सुधारिएको इन्टरफेस, र उन्नत सुरक्षाको मापदण्ड समावेश गरिनेछ कम्पनीको भनाई छ।

यसले ग्राहकलाई डिजिटल सेवाप्रतिको अझ गहिरो अनुभव प्रदान गर्ने लक्ष्य राखेको कम्पनीले उल्लेख गरेको छ। एपको नयाँ संस्करणबाट ग्राहकको सेवासम्बन्धी नियन्त्रण अझ आत्मनिर्भर बन्ने अपेक्षा गरिएको छ।

नेपालमा २४ वर्षभन्दा लामो इतिहास भएको सुबिसुले इन्टरनेट सेवा, क्लियर टिभी, डेटा सेन्टर सेवा, क्लाउड स्टोरेज, र अन्य प्रविधिमा आधारित समाधानहरू घरेलु तथा व्यावसायिक ग्राहकहरूलाई निरन्तर उपलब्ध गराउँदै आएको छ।

सुबिसुको मोबाइल एपले ग्राहकहरूको डिजिटल प्रयोगशक्ति बढाउँदै आएको सन्दर्भमा यो सफलता डिजिटल नेपाल निर्माणतर्फको एक महत्वपूर्ण कदमको रूपमा हेरिएको छ।

प्रकाशित: १२ श्रावण २०८२, सोमबार

तपाइको प्रतिक्रिया