काठमाडौं ।
काठमाडौं । भीभोले नेपाली बजारमा जनवरीको अन्त्यमा आफ्नो वाई सिरिजको स्मार्टफोनहरु सार्वजनिक गर्ने तयारी गरिरहेको छ । तर विश्व बजारमा भने कम्पनीले दुई नयाँ फ्ल्यागशिप स्मार्टफोनहरु ल्याउने क्रममा रहेको छ ।
कम्पनीले भीभो एपेक्स २०१९ को पहिलो कन्सेप्ट देखाएको केहि समयपछि नै नयाँ फोनको प्रोमो सार्वजनिक गरेको छ ।
कम्पनीले यो नयाँ फ्ल्यागशिप स्मार्टफोनमा सेल्फी क्यामरालाई प्राथमिकताका साथ फोकस गरिरहेको छ, जसलाई एलेभेटिंग क्यामरा नाममा सार्वजनिक गरिएको छ ।
यसअघि बजारमा आएको भीभो नेक्सको पाईलालाई पछ्याउँदै कम्पनीले नयाँ फ्ल्यागशिप स्मार्टफोन सार्वजनिक गर्ने तयारी गरेको हो ।
यो नयाँ स्मार्टफोनको प्रोमोले कम्पनीले विश्व बजारमा ल्याउन लागेको नयाँ स्मार्टफोन भीभो भी १५ (Vivo V15) को प्रतिनिधित्व दिन्छ । कम्पनी सम्बद्ध स्रोतकाअनुसार भीभो भी सिरिजको नयाँ स्मार्टफोन केहि महिनाभित्रै सार्वजनिक गर्ने तयारीमा छ ।
हाल बजारमा भीभो भी ११ र भी ११ प्रो उपलब्ध रहेकोमा सोहि सिरिजमा नयाँ स्मार्टफोन भीभो भी १५ ल्याउन लागेको अनुमान गरिएको छ । चिनियाँ कम्पनीहरुले बिजोर नम्बरमा मात्र स्मार्टफोनहरु सार्वजनिक गरिरहेको हुँदा नयाँ फोन भी १३ ल्याउनुपर्नेमा पश्चिमा मुलुकहरुमा १३ अंकलाई राम्रो नमानिने हुँदा भीभोले भी १५ नाम राखेको बताईएको छ ।
भीभोले भी १५ स्मार्टफोन यहि मार्च महिनामा विश्व बजारमा सार्वजनिक गर्दैछ। नेपालमा पनि मार्च महिनामा नै नयाँ स्मार्टफोन सार्वजनिक गर्ने तयारी भएको कम्पनी सम्बद्द स्रोतले जानकारी दिएको छ ।
नेपाली बजारमा वाई सिरिज लन्च गर्ने तयारी छ र जनवरी र फेब्रुअरी महिनाभित्र वाई सिरिज आईसकेपछि मार्च महिनामा भीभो भी १५ लन्च हुनेछ ।
प्रकाशित: ९ माघ २०७५, बुधबार