क्रिप्टो उद्योग अमेरिकी मूलधारको आर्थिक प्रणालीतर्फ नजिकिँदै

Technology Khabar ३१ असार २०८२, मंगलवार

काठमाडौं ।

यो साता अमेरिकी कङ्ग्रेसमा केही महत्वपूर्ण विधेयकहरू अघि बढ्ने तयारीमा रहेकाले क्रिप्टो उद्योग वित्तीय मुख्यधारतर्फ नजिकिने संकेत देखिएको छ। यी विधेयकहरू पारित भएमा धेरै कम्पनीहरूले आफ्नै स्टेबलकोइन ल्याउन सक्ने अनुमान गरिएको छ।

रिपब्लिकन बहुमत रहेको प्रतिनिधिसभाले यस साता “क्रिप्टो हप्ता” को रूपमा नाम दिँदै क्रिप्टोसँग सम्बन्धित विभिन्न विधेयकहरूमा बहस गर्ने अपेक्षा गरिएको छ। तीमध्ये सबैभन्दा महत्त्वपूर्ण विधेयक स्टेबलकोइनका लागि नियामकीय संरचना बनाउने प्रस्ताव हो, जुन पारित भएर राष्ट्रपति डोनाल्ड ट्रम्पको हस्ताक्षरका लागि पुग्ने सम्भावना छ।

यदि यो विधेयक कानुनमा परिणत भयो भने स्टेबलकोइनहरू अमेरिकी डलर वा छोटो अवधिका ट्रेजरी बिलजस्ता तरल सम्पत्तिबाट समर्थित हुनुपर्नेछ। साथै, जारीकर्ताले आफ्नो सञ्चित कोषको विवरण हरेक महिना सार्वजनिक रूपमा खुलाउनुपर्ने रोयटर्सले उल्लेख गरेको छ।

विश्वभरका केही प्रमुख कम्पनीहरूले आफ्ना स्टेबलकोइन सुरु गरिसकेका छन् वा गर्ने तयारीमा छन्। केही उदाहरण यसप्रकार छन्:

एफआईएसईआरभी

जुन महिनामा यो वित्तीय प्रविधि कम्पनीले एफआईयूएसडी नामक स्टेबलकोइन ल्याउने योजना सार्वजनिक गरेको थियो। कम्पनीले यस वर्षको अन्त्यसम्म एफआईयूएसडीलाई आफ्नो विद्यमान बैंकिङ र भुक्तानी संरचनामा एकीकृत गर्ने जनाएको छ। एफआईयूएसडीको संरचना पाक्सोस र सर्कलको स्टेबलकोइन पूर्वाधारमा आधारित हुने बताइएको छ।

बैंकहरू:

अमेरिकाका ठूला बैंकहरूले नियामक निकायहरूबाट सहयोग पाउन थालेपछि क्रिप्टो बजारमा प्रवेशको सम्भावनाबारे आन्तरिक छलफल गर्दै आएका छन्। यद्यपि प्रारम्भिक कदमहरू पाइलट कार्यक्रम, साझेदारी वा सीमित क्रिप्टो कारोबारमा केन्द्रित हुने बताइएको छ।

ब्याङ्क अफ अमेरिकाका सीईओ ब्रायन मोयनिहानले यस वर्षको सुरुमा आफूहरूले स्टेबलकोइन ल्याउन सक्ने बताएका थिए। उता मोर्गन स्ट्यान्लीका सीईओ टेड पिकले आफ्नो कम्पनीले क्रिप्टो कारोबारका लागि नियामकहरूसँग सहकार्य गर्ने इच्छा राखेको बताएका थिए। बीओएफएले यसबारे टिप्पणी गर्न नमानेको र मोर्गन स्ट्यान्लीले उत्तर नदिएको रोयटर्सले उल्लेख गरेको छ।

 

प्रकाशित: ३१ असार २०८२, मंगलवार

तपाइको प्रतिक्रिया