पार्कर सोलर प्रोबले कीर्तिमानी दूरीबाट खिच्यो सूर्यका गतिविधिको यस्तो तस्बिर

  • Technology Khabar | ३० असार २०८२, सोमबार
पार्कर सोलर प्रोबले कीर्तिमानी दूरीबाट खिच्यो सूर्यका गतिविधिको यस्तो तस्बिर

काठमाडौं ।

नासाले हालै सूर्यको अहिलेसम्मकै सबैभन्दा नजिकबाट खिचिएको तस्बिर सार्वजनिक गरेको छ। पार्कर सोलर प्रोबले सूर्यको सतहबाट मात्र ३८ लाख माइल (६१ लाख किलोमिटर) दूरीबाट यी तस्बिर खिचेको हो।

नयाँ तस्बिरहरूले सूर्यबाट निस्कने सौर्य हावाको महत्वपूर्ण विशेषता देखाएका छन्, जसले वैज्ञानिकहरूलाई यसको उत्पत्ति र पृथ्वीमा पर्ने प्रभावहरू बुझ्न मद्दत पुर्‍याउनेछ।

सौर्य हावा भन्नाले सूर्यको बाहिरी वायुमण्डल (कोरोना) बाट लगातार निस्किने आवेशित कणहरूको प्रवाहलाई जनाइन्छ, जसमा मुख्यतः प्रोटोन र इलेक्ट्रोन हुन्छन्। यी कणहरू एक मिलियन माइल प्रतिघण्टा भन्दा बढी गतिमा सौर्यमण्डलभरि फैलिन्छन्।

सूर्यबाट निस्किएका चुम्बकीय क्षेत्र र पदार्थहरूसँग मिसिएर यसले अरोरा (उत्तर/दक्षिण ध्रुवीय प्रकाश), ग्रहहरूको वायुमण्डल हटाउने प्रक्रिया, र पृथ्वीमा विद्युत सञ्जालमा अवरोध ल्याउने विद्युत धारा उत्पादन गर्न सक्छ। यस्तो अन्तरिक्ष मौसम बुझ्नु र भविष्यवाणी गर्नु अन्तरिक्ष यात्री र यानहरूको सुरक्षा तथा पृथ्वीमा प्रभाव कम गर्न अत्यावश्यक मानिन्छ।

लाइभसाइन्सका अनुसार सन् २०१८ मा प्रक्षेपण गरिएको पार्कर सोलर प्रोब सूर्यको कोरोना भित्र प्रवेश गर्ने पहिलो यान हो। यसमा डब्लूआईएसपीआर (वाइड फिल्ड इमेजर फर सोलर प्रोब) र एसडब्लूईएपी (सोलर विण्ड इलेक्ट्रोन्स अल्फाज एण्ड प्रोटोन्स) जस्ता वैज्ञानिक उपकरणहरू छन्। तीव्र ताप र विकिरणका बीच उडिरहेको यो मानव रहित यानले सूर्य र यसको वरिपरिका क्षेत्रहरूको विस्तृत डाटा पठाइरहेको छ।

गत वर्ष डिसेम्बर २४ मा गरिएको ऐतिहासिक फ्लाइबाईमा पार्कर सोलर प्रोबले सूर्यको कोरोना छोड्नेबित्तिकै सौर्य हावा कसरी व्यवहार गर्छ भन्ने देखाउँदै तस्बिरहरू खिचेको थियो। त्यहाँ अनियमित प्लाज्माका गोलाहरु र चुम्बकीय क्षेत्रहरू (कोरोनल मास इजेक्शन सीएमई) एकअर्कासँग ठोक्किएको पनि देखिएको छ।

“यी तस्बिरहरूमा हामी सीएमईहरू एकअर्कामाथि थुप्रिँदै गरेको देखिरहेका छौँ,” जोन हप्किन्स एप्लाइड फिजिक्स ल्याबोरेटरीका विस्प्र वैज्ञानिक एन्जेलोस भुर्लिडासले प्रेस विज्ञप्तिमा भने। “हामी यसैको प्रयोग गरेर सीएमईहरू कसरी मिसिन्छन् भन्ने बुझ्न खोजिरहेका छौँ, जुन अन्तरिक्ष मौसम बुझ्नका लागि महत्त्वपूर्ण हुन सक्छ।”

सौर्य हावा दुई प्रकारका हुन्छन्: छिटो सौर्य हावा अधिकतम ८०० किलोमिटर प्रति सेकेन्डको गतिमा बग्छ, जसले तुलनात्मक रूपमा स्थिर प्रवाह बनाउँछ। ढिलो सौर्य हावा चाहिँ बाक्लो हुन्छ र झट्काका रूपमा आउँछ, स्थिर नहुने।

पृथ्वी वरपरको सौर्य हावा सामान्यतया शान्त प्रवाह जस्तो देखिए पनि पार्कर सोलर प्रोबको पुरानो डाटाले सूर्य नजिक पुग्दा यो अझै तीव्र र अस्थिर हुने देखाएको थियो। छिर्केमिर्के आकारका चुम्बकीय क्षेत्रहरू १४.७ मिलियन माइल (२३.६ मिलियन किलोमिटर) दूरीमा भेटिएको थियो।

वैज्ञानिकहरूका अनुसार यी चुम्बकीय क्षेत्रहरू सूर्यको सतहमा देखिने ‘चुम्बकीय फनेल’ बाट उत्पन्न भएका हुन्। सन् २०२४ मा वैज्ञानिकहरूले छिटो सौर्य हावा आंशिक रूपमा यिनै चुम्बकीय क्षेत्रहरूद्वारा सञ्चालित हुने पुष्टि गरेका थिए।

“सौर्य हावा कसरी उत्पन्न हुन्छ र कसरी सूर्यको विशाल गुरुत्वाकर्षणबाट उम्किन सफल हुन्छ भन्ने सबैभन्दा ठूलो जिज्ञासा हो” पार्कर सोलर प्रोबका परियोजना वैज्ञानिक नूर रावाफीले भने। “सौर्य हावाको निरन्तर प्रवाह, विशेष गरी ढिलो हावाको विविधता, बुझ्नु चुनौतीपूर्ण छ। तर पार्कर सोलर प्रोब को मद्दतले हामी यसको उत्पत्ति र विकास नजिकबाट बुझ्न थालेका छौँ।”

अघिल्ला अध्ययनहरूले ढिलो सौर्य हावाका दुई प्रकार — अल्फभेनिक (साना चुम्बकीय क्षेत्रहरु भएको) र नन–अल्फभेनिक (त्यस्तो नभएको) — को सम्भावना देखाएका थिए। पार्कर सोलर प्रोब ले हालैको यात्रामा यस थ्योरीलाई पुष्टि गर्न सफल भएको छ।

विस्तृत तस्बिरहरूले यी दुई प्रकारका उत्पत्ति बुझ्न सहयोग पुगेको वैज्ञानिकहरूको भनाइ छ। अल्फभेनिक हावा चिसो क्षेत्रका कोरोनल होलबाट आउने अनुमान गरिएको छ भने नन–अल्फभेनिक हावा तातो चुम्बकीय लुपबाट उत्पन्न हुने बताइएको छ।

“अझै हामीसँग अन्तिम निष्कर्ष त उपलब्ध छैन, तर नयाँ र उत्सुकताजनक डाटाहरू प्रशस्त छन्,” नासाको गोडार्ड स्पेस फ्लाइट सेन्टरका पार्कर सोलर प्रोब मिशन वैज्ञानिक एडम साबोले भने।

पार्कर सोलर प्रोब ले सूर्यको परिक्रमा गर्दै डाटा संकलन जारी राख्नेछ र आगामी १५ सेप्टेम्बरमा सूर्यको सतहभन्दा सबैभन्दा नजिकको बिन्दु (पेरिहेलियन) मा पुनः पुग्ने अपेक्षा गरिएको छ।

 

प्रकाशित: ३० असार २०८२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

China launches two new test satellites

  • Technology Khabar
  • ३० असार २०८२, सोमबार