नासाको माभेन अन्तरिक्षयानले पत्ता लगायो मङ्गल ग्रहको वायुमण्डल कसरी हट्यो भन्ने रहस्य

  • Technology Khabar | २३ जेष्ठ २०८२, शुक्रबार
नासाको माभेन अन्तरिक्षयानले पत्ता लगायो मङ्गल ग्रहको वायुमण्डल कसरी हट्यो भन्ने रहस्य

काठमाडौं ।

नासाको माभेन (एमएभीईएन) अन्तरिक्ष यानले करिब एक दशक कक्षमा बिताएपछि पहिलो पटक वैज्ञानिकहरूले लामो समयदेखि शंका गर्दै आएको मङ्गल ग्रहको वायुमण्डल हटाएको प्रक्रियालाई प्रत्यक्ष रूपमा देखेको छ।

गत मे २८ मा साइन्स एडभान्सेज जर्नलमा प्रकाशित यो लेखमा मङ्गल ग्रह कसरी एउटा सम्भावित वासयोग्य नदी र ताल भएको ग्रहबाट आजको जस्तो प्रायः हिउँले ढाकिएको मरुभूमिमा रूपान्तरण भयो भन्ने लामो समयदेखि उठिरहेको प्रश्नको जवाफ दिन सक्ने आशा गरिएको छ।

आज मङ्गल ग्रह सुक्खा, चिसो र प्रायः वायुरहित छ, तर यसको सतहमा पानीले बनाएको प्राचीन नदी, तालका आकार, र पानीको उपस्थितिमा मात्र बन्ने खनिजहरूको प्रमाण भेटिन्छ।

यस्ता प्रमाणहरूले अर्बौं वर्षअघि मङ्गलमा लामो समयसम्म ताल र सागर बगिरहेका थिए भन्ने देखाउँछन्। तर, तरल पानी टिकिरहने हो भने मङ्गलमा निकै बाक्लो वायुमण्डल आवश्यक पर्थ्यो जसले ताप रोक्न र सतही दबाब उच्च राख्न सक्थ्यो।

लाइभसाइन्सका अनुसार त्यो वायुमण्डल कहिले र कसरी हरायो भन्ने बुझ्न सकेमात्र मङ्गलको जलवायुको इतिहास थाहा पाउन सकिन्छ, र त्यो ग्रह कति लामो समय वासयोग्य रहन सक्यो भन्ने पत्ता लगाउन सकिन्छ।

पछिल्लो दशकमा वैज्ञानिकहरूले सौर्य आँधी  र त्यससँगैको विकिरणले मङ्गलको धेरैजसो वायुमण्डल हटाएको प्रमाणहरू संकलन गर्दै आएका छन्।

यीमध्ये एउटा प्रमुख प्रक्रिया हो स्पटरिङ, जसमा सूर्यको उच्च-ऊर्जायुक्त कणहरू मङ्गलको माथिल्लो वायुमण्डलमा ठोक्किन्छन्। यस्तो ठोक्काइले न्यूट्रल परमाणुहरूलाई पर्याप्त ऊर्जा दिई तिनीहरूलाई ग्रहको गुरुत्वाकर्षणबाट छुटाएर अन्तरिक्षमा फालिदिन्छ।

“यो पौडी पोखरीमा क्याननबल अर्थात् गोला हान्नु जस्तै हो,” माभेन (एमएभीईएन) मिसनकी प्रमुख अनुसन्धानकर्ता तथा युनिभर्सिटी अफ कोलोराडो बोल्डरकी श्यानन करीले भनेकी छिन्। “यहाँ क्याननबल भनेक ती भारी आयनहरू हुन् जसले तीव्र गतिमा वायुमण्डलमा ठोक्किएर न्यूट्रल परमाणुहरू र अणुहरूलाई बाहिर फालिरहेका छन्।”

हालसम्म स्पटरिङलाई मङ्गलको जलवायु परिवर्तनमा मुख्य भूमिका खेलेको भनिए पनि, यो पहिलो पटक प्रत्यक्ष रूपमा देखिएको हो। नौ वर्षको माभेन (एमएभीईएन) डाटालाई प्रयोग गरेर, करी र उनको टोलीले अहिलेको मङ्गलमा स्पटरिङ भइरहेको प्रमाण संकलन गरेका छन्।

माभेन (एमएभीईएन) का तीन उपकरणहरूको डाटा मिलाएर अनुसन्धानकर्ताहरूले मङ्गलको माथिल्लो वायुमण्डलमा आर्गन ग्यासको विस्तृत नक्सा तयार पारे। आर्गन एउटा निष्क्रिय र भारी ग्यास हो जसले अन्य वायुमण्डलीय प्रक्रियासँग खासै प्रतिक्रिया गर्दैन, त्यसैले यसको कमी वा परिवर्तनले स्पटरिङको स्पष्ट प्रमाण दिन्छ।

वास्तवमै माभेन (एमएभीईएन) ले आर्गनको सबैभन्दा धेरै मात्रा त्यस्तो उचाइमा देखेको छ जहाँ सूर्यको कणहरू मङ्गलको वायुमण्डलमा ठोक्किन्छन्। अनुसन्धान अनुसार यी स्थानहरूमा आर्गनको उपस्थिति स्वाभाविक रूपमा गुरुत्वले झार्ने ठाउँभन्दा धेरै माथि देखिएकाले यो प्रक्रियाले अझै सक्रिय रूपमा ग्यासहरूलाई बाहिर फालिरहेको छ भन्ने पुष्टि हुन्छ।

अनुसन्धानले यो प्रक्रियाले मङ्गलको पुरानो बाक्लो वायुमण्डल हराउन र त्यससँगै सतहमा तरल पानी टिक्न नसक्ने अवस्था ल्याउन पनि भूमिका खेलेको हुनसक्ने उल्लेख गरेको छ।

माभेनको डाटाले देखाएको अर्को कुरा के हो भने यो प्रक्रिया पहिले अनुमान गरिएभन्दा चारगुणा धेरै गतिमा भइरहेको रहेछ। सूर्यको आँधीका समयमा यो प्रक्रिया अझ तीव्र हुने देखिएकोले, प्राचीन मङ्गलमा सूर्य अझ सक्रिय हुँदा प्रक्रिया कति घातक थियो भन्ने अनुमान गर्न सकिन्छ।

अर्बौं वर्षअघि सूर्य अझ सक्रिय रहेको र मङ्गलले आफ्नो चुम्बकीय क्षेत्र गुमाइसकेको बेला यो प्रक्रिया झन् तीव्र भयो भन्ने वैज्ञानिकहरूले अनुमान गरेका छन्। चुम्बकीय सुरक्षा नहुँदा मङ्गलको वायुमण्डल सूर्यको कणहरूको प्रत्यक्ष प्रभावमा आयो र त्यसले वायुमण्डलीय क्षरण झनै बढायो। यही प्रक्रिया मङ्गलको जलवायुमा निर्णायक मोड ल्याउने कारण बन्न पुग्यो।

“यी नतिजाहरूले मङ्गलको वायुमण्डल हराउनमा स्पटरिङको भूमिका र त्यहाँ पानीको इतिहास पत्ता लगाउन यसले दिएको योगदान पुष्टि गर्छ,” करीले भनेकी छिन्।

तर स्पटरिङ नै मङ्गलको दीर्घकालीन जलवायु परिवर्तनको मुख्य कारण थियो वा थिएन भन्ने पूर्ण रूपमा थाहा पाउन मोडल, समस्थानिक डाटा र प्राचीन जलवायुका प्रमाणहरू मार्फत वैज्ञानिकहरूले अर्बौं वर्ष पुरानो समयसम्म फर्केर हेर्नुपर्नेछ।

त्यतिबेलामात्रै स्पटरिङले वायुमण्डलको सतह मात्रै छोएको थियो कि सम्पूर्ण रूपमा हटाइदिएको थियो भन्ने थाहा हुनेछ।

प्रकाशित: २३ जेष्ठ २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...