
काठमाडौं ।
एप्पलले भारतमा तीव्र रूपमा बढ्दो बजारलाई ध्यानमा राख्दै, त्यहाँ आईफोन र म्याकबुक उपकरणहरूको मर्मतका लागि टाटा ग्रुपलाई जिम्मा दिएको छ। यसले अमेरिकी प्रविधि कम्पनीको आपूर्ति शृङ्खलामा भारतीय समूहको भूमिकालाई अझ गहिरो बनाएको संकेत दिन्छ, दुई जानकार व्यक्तिहरूले बताएका छन्।
रोयटर्सका अनुसार चीन बाहिर उत्पादन विस्तार गर्न खोजिरहेका एप्पलका लागि टाटा प्रमुख आपूर्तिकर्ता कम्पनीको रूपमा तीव्र रूपमा उदाएको छ।
कम्पनीले दक्षिण भारतका तीन स्थानमा स्थानीय तथा अन्तर्राष्ट्रिय बजारका लागि आईफोन को एसेम्बली गरिरहेको छ, जसमा एक स्थानमा केही आईफोन को पुर्जाहरू पनि निर्माण भइरहेका छन्।
नयाँ साझेदारी विस्तारअन्तर्गत, टाटा ले ताइवानको विस्ट्रोन कम्पनीको भारतीय इकाइ, आईसीटी सर्भिस म्यानेजमेन्ट सोलुशन्सबाट यो जिम्मेवारी लिएको हो, र अब उक्त मर्मत कार्य कर्नाटकमै रहेको आफ्नो आईफोन असेंबली क्याम्पसबाट सञ्चालन गर्नेछ।
विश्वको दोस्रो ठूलो स्मार्टफोन बजार भारतमा आईफोनको बिक्री चुलिँदै गएकाले मर्मत बजारसमेत ठूलो बन्दै जाने अपेक्षा गरिएको छ। काउन्टरपोइन्ट रिसर्चका अनुसार, भारतमा गत वर्ष करिब १ करोड १० लाख आईफोन बिक्री भएका थिए, जसले एप्पललाई ७ प्रतिशत बजार हिस्सा दिलाएको थियो, जुन सन् २०२० मा मात्र १ प्रतिशत थियो।
नयाँ सम्झौताले टाटामा एप्पलको बढ्दो विश्वास दर्शाउँछ, जसको लक्ष्य विश्वको सबैभन्दा मूल्यवान स्मार्टफोन कम्पनीबाट अझ धेरै व्यापार प्राप्त गर्नु हो।
प्रकाशित: २३ जेष्ठ २०८२, शुक्रबार