काठमाडौं ।
सोमबारदेखि नयाँ कारोबार महिना सुरु हुँदैछ। अक्टोबरको अन्तिम कारोबार दिनमा ठूलो गिरावट बेहोरेपछि धेरै लगानीकर्ताले नयाँ महिनाको सुरुवातलाई स्वागत गर्ने अपेक्षा गरिएको छ।
यस वर्ष प्रविधि क्षेत्रको सेयर बजारमा देखिएको वृद्धिको फेरि परीक्षण हुँदा शुक्रबार नास्ड्याक कम्पोजिट सूचकाङ्कमा जुन महिनायताकै सबैभन्दा ठूलो गिरावट आएको छ। चिप निर्माता कम्पनी इन्टेल र सामाजिक सञ्जाल कम्पनी रेडिटको सेयर मूल्य २९ प्रतिशतले घट्यो।
त्यस्तै, कृत्रिम बुद्धिमतासम्बन्धी पूर्वाधारमा भइरहेको ठूलो लगानीबाट सबैभन्दा बढी लाभ लिने कम्पनीमध्ये एक चिप निर्माता स्यानडिस्कको सेयर मूल्य १३ प्रतिशतले घट्यो।
शुक्रबारको सेयर बिक्रीमा आएको गिरावटअघि कृत्रिम बुद्धिमता पूर्वाधार निर्माणको केन्द्रमा रहेका ठूला प्रविधि कम्पनीहरू माइक्रोसफ्ट, मेटा प्लेटफर्म्स, अमेजन र गुगलको मातृ कम्पनी अल्फाबेटका सेयरमा पनि ठूलो गिरावट आएको थियो। साताको सुरुवातमै उल्लेख्य गिरावट बेहोरेका यी चार कम्पनीका सेयर मूल्य शुक्रबार थप १ देखि २ प्रतिशतसम्म घटेका थिए।
क्यापिटल इकोनोमिक्सका अनुसार तथाकथित चार हाइपरस्केलर कम्पनीले पछिल्लो १२ महिनामा एसएन्डपी ५०० सूचकाङ्कमा समावेश कम्पनीहरूले गरेको कुल पुँजीगत खर्चको एक तिहाइभन्दा बढी हिस्सा ओगटेका छन्। आगामी दिनमा यो हिस्सा अझ बढ्ने देखिएको छ, जसले लगानीकर्तालाई चिन्तित बनाएको छ।
क्यापिटल इकोनोमिक्सका बजार अर्थशास्त्री जोन हिगिन्सले भने, “हाइपरस्केलर कम्पनीहरूको संयुक्त पुँजीगत लगानीको विस्तार आंशिक रूपमा बाह्य वित्तपोषणमा निर्भर हुन थालेपछि लगानीकर्ताहरूले उनीहरूले संयुक्त रूपमा खर्च गरिरहेको रकम र त्यसका लागि अपनाइरहेको तरिकाबारे बढी चिन्ता गर्न थालेका छन्।”
रोयटर्सका अनुसार ठूला गैरवित्तीय कम्पनीहरूको नास्ड्याक १०० सूचकाङ्क ३.५ प्रतिशतले घटेको छ। यसअघि यो सूचकाङ्क अझै बढी घटेको थियो। पछिल्लो उच्च विन्दुबाट १० प्रतिशत गिरावट आउनुलाई बजारमा सुधार (करेक्शन) मानिन्छ। नास्ड्याक १०० सूचकाङ्क यस्तो अवस्थाको नजिक पुगेको छ।
नास्ड्याक कम्पोजिट सूचकाङ्क पनि आफ्नो हालसम्मको उच्च बन्द विन्दुबाट ७.८ प्रतिशतले तल झरेको छ। सन् २०२५ को मार्चयताकै खराब महिना बनेको अक्टोबरको गिरावटले यस वर्ष कृत्रिम बुद्धिमताका कारण सेयर बजारमा आएको वृद्धिको ठूलो हिस्सा मेटाएको छ।
एनेक्स वेल्थ म्यानेजमेन्टका प्रमुख आर्थिक रणनीतिकार ब्रायन ज्याकोब्सनले भने, “लगानीकर्ताहरूले अब कसले आफ्नो लगानीबाट आम्दानी गर्न सक्छ र कसले सक्दैन भन्नेबारे अचानक एकैसाथ निर्णय दिइरहेका छन्।”
यो गिरावट हालसम्म सकारात्मक बजार धारणाका कारण निरन्तर बढिरहेका प्रविधि कम्पनीका सेयरमा मात्रै सीमित रहेन। अमेरिकी सरकारी ऋणपत्रको मूल्य बढेसँगै लगानीकर्ताहरूले जोखिमपूर्ण सम्पत्तिबाट व्यापक रूपमा लगानी फिर्ता लिएको देखिएको छ।
चाँदीको मूल्य ६ प्रतिशतले घटेको छ। यससँगै सन् २०२६ मा चाँदीको मूल्यमा कुल ३१ प्रतिशत गिरावट आएको छ। त्यस्तै, सुनको मूल्य ३.५ प्रतिशतले घटेको छ र सन् २०२६ मा यसको मूल्य १० प्रतिशतले तल झरेको छ।
प्रकाशित: १६ कार्तिक २०८३, सोमबार