
काठमाडौं ।
अमेजनको वेब सर्भिसेज-एडब्लूएसले बिहीबार उत्तरी भर्जिनियास्थित आफ्नो एउटा डाटा सेन्टर क्षेत्रमा समस्या आएको जनाएको छ। त्यसैबीच डेरिभेटिभ बजार सीएमई ग्रुप र क्रिप्टोकरेन्सी एक्सचेन्ज क्वाइनबेसले पनि आफ्ना ट्रेडिङ प्लेटफर्ममा समस्या देखिएको बताएका छन्।
एडब्लूएस र सीएमईमा देखिएका समस्या आपसमा सम्बन्धित थिए वा थिएनन् भन्ने तत्काल स्पष्ट हुन सकेन। तर क्वाइनबेसले आफ्नो प्लेटफर्ममा आएको समस्या एडब्लूएस आउटेजका कारण भएको जनाएको छ।
एडब्लूएसका अनुसार एकल डाटा सेन्टरभित्र तापक्रम बढेपछि समस्या उत्पन्न भएको हो। कम्पनीले थप कुलिङ सिस्टम क्षमता अनलाइनमा ल्याउन सफल भएकाले सुधारका प्रारम्भिक संकेत देखिएको जनाएको छ।
पुनःस्थापनाको प्रयासस्वरूप क्लाउड कम्प्युटिङ प्लेटफर्मले अधिकांश सेवाका लागि प्रभावित ‘अभेलेबिलिटी जोन’ बाट ट्राफिक अन्यत्र सारिएको जनाएको छ।
‘अभेलेबिलिटी जोन’ भनेको एडब्लूएस क्षेत्रभित्र स्वतन्त्र रूपमा सञ्चालन गर्न डिजाइन गरिएका एक वा बढी आपसमा जोडिएका भौतिक डाटा सेन्टरहरूको समूह हो।
क्वाइनबेसले एडब्लूएस समस्याका कारण केही प्रयोगकर्ताले कमजोर प्रदर्शन अनुभव गर्न सक्ने जनाएको छ। यद्यपि ग्राहकको रकम सुरक्षित रहेको कम्पनीले बताएको छ। क्वाइनबेस ले छिट्टै पुनः ट्रेडिङ सेवा सञ्चालनमा ल्याउन काम भइरहेको जनाएको छ।
आफ्नो वेबसाइटमा दिएको स्थिति अपडेटमा संसारकै ठूलो डेरिभेटिभ बजार सीएमई ले आवश्यक मर्मत कार्य पूरा भएको र प्रयोगकर्ताले अहिले सीएमई डाइरेक्ट ट्रेडिङ प्लेटफर्ममा लगइन गर्न सक्ने जनाएको छ। तर प्राविधिक तथा लेटेन्सी समस्याको कारण भने कम्पनीले खुलाएको छैन।
सीएमई र एडब्लूएस दुवैले नियमित कार्यालय समय बाहिर टिप्पणीका लागि गरिएको अनुरोधमा तत्काल प्रतिक्रिया दिएका छैनन्।
यो पछिल्लो अवरोध गत वर्ष अक्टोबरमा एडब्लूएस मा आएको ठूलो आउटेजपछि आएको हो। त्यसबेला स्न्यापच्याट र रेडिटजस्ता लोकप्रिय एपसहित हजारौं वेबसाइट प्रभावित भएका थिए।
सन् २०२४ मा क्राउडस्ट्राइकमा आएको समस्यापछि अस्पताल, बैंक र विमानस्थलका प्रविधि प्रणाली अवरुद्ध भएका थिए। त्यसयता यो सबैभन्दा ठूलो इन्टरनेट अवरोध मानिएको थियो, जसले विश्वभर आपसमा जोडिएका प्रविधिहरूको कमजोरी उजागर गरेको थियो।
त्यसको अर्को महिनामा सीएमई ग्रुपमा वर्षकै लामो आउटेजमध्ये एक देखिएपछि विश्वव्यापी फ्युचर्स बजार केही घण्टा प्रभावित भएको थियो। त्यसबेला शेयर, बन्ड, कमोडिटी र मुद्रा कारोबार रोकिएको थियो।
त्यसबेला सीएमईले आउटेजको कारण साइरसवनद्वारा सञ्चालन गरिएको डाटा सेन्टरमा भएको कुलिङ विफलता रहेको जनाएको थियो। कम्पनीका अनुसार शिकागो क्षेत्रको उक्त केन्द्रमा आएको समस्याले सीएमई लगायतका ग्राहक सेवा प्रभावित भएका थिए।
प्रकाशित: २५ बैशाख २०८३, शुक्रबार