यातायात व्यवसायीसँग छलफल गर्न वार्ता समिति गठन

Technology Khabar १९ जेष्ठ २०८२, सोमबार

यातायात व्यवसायीसँग छलफल गर्न वार्ता समिति गठन
सरकार र आन्दोलनरत यातायात व्यवसायीबिच गृह मन्त्रालयमा सोमबार भएको छलफलमा सहभागी गृहमन्त्री रमेश लेखक, आन्दोलनरत यातायात व्यवसायी सम्वद्ध सङ्घ-सङ्स्थाका प्रतिनिधिलगायत । तस्बिर : शेरबहादुर सिंह / रासस

काठमाडौं ।

सरकारले यातायात व्यवसायीसँग छलफल गर्नका लागि वार्ता समिति गठन गरेको छ। गण्डकी प्रदेश सरकारले जारी गरेको राइड सेयरिङसम्बन्धी नियमावलीको विरोधमा सडकमा उत्रिएका व्यवसायीसँगको छलफलका लागि वार्ता समिति गठन गरिएको हो।

यातायात व्यवसायी तथा मजदुरका आठ सङ्गठनले देशभर सार्वजनिक यातायात ठप्प पारेपछि गृहमन्त्री रमेश लेखकसहित सरोकारवाला निकायले आज यातायात व्यवसायी तथा मजदुरसँग छलफल गरेका हुन्।

गृह मन्त्रालयमा आज बसेको बैठकले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिवको संयोजकत्वमा विभिन्न मन्त्रालयका प्रतिनिधि तथा यातायात व्यवसायी रहने गरी वार्ता समिति गठन गरेको गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले जानकारी दिएका छन्।

समितिमा सरकारका तर्फबाट विभिन्न मन्त्रालयबाट आठ जना र यातायात व्यवसायी तथा मजदुरको तर्फबाट चारजना सदस्य रहने छन्।-रासस

प्रकाशित: १९ जेष्ठ २०८२, सोमबार

तपाइको प्रतिक्रिया