चन्द्रमाका दुई पक्ष किन यति फरक देखिन्छन् भन्ने तथ्यको अध्ययनद्वारा व्याख्या 

Technology Khabar ३ जेष्ठ २०८२, शनिबार

चन्द्रमाका दुई पक्ष किन यति फरक देखिन्छन् भन्ने तथ्यको अध्ययनद्वारा व्याख्या 
चन्द्रमाको नियरसाइड (बायाँ) र फारसाइड। तस्विर रोयटर्स

काठमाडौं ।

अमेरिकी अन्तरिक्ष एजेन्सीको ग्रेल (जीआरएआईएल) मिसनको तथ्याङ्कले चन्द्रमाको गहिरो भित्री भागमा असमान संरचना रहेको संकेत गरेको छ।

नासाका दुई रोबोटिक अन्तरिक्ष यानले प्राप्त गरेको तथ्याङ्क प्रयोग गरेर चन्द्रमाको गुरुत्वाकर्षणको विस्तृत परीक्षणले एउटा सधैं पृथ्वीतिर फर्केने र अर्को सधैं पृथ्वीबाट विपरित दिशामा रहने चन्द्रमाका दुई पक्षहरू किन यति फरक देखिन्छ भन्ने बारेमा नयाँ संकेतहरू प्रदान गरेको बताइएको छ।

अमेरिकी अन्तरिक्ष एजेन्सीको ग्रेल (जीआरएआईएल), वा ग्य्राभिटि रिकभरी एण्ड इन्टेरियर ल्याबोरेटरी, मिसनको तथ्याङ्कले चन्द्रमाको गहिरो भित्री भागमा असमान संरचना भएको संकेत गरेको छ। अरबौं वर्ष पहिले यसको नजिकको भागमा तीव्र ज्वालामुखीको कारणले त्यसो भएको र जसले यसको सतहका विशेषताहरूलाई आकार दिन मद्दत गरेको उल्लेख गरिएको छ।

हाम्रो ग्रहको गुरुत्वाकर्षण प्रभाव ‘टाइडल डिफर्मेसन’ (ज्वारीय विकृति) भनिने प्रक्रियाको कारणले गर्दा चन्द्रमाको नजिकको भाग पृथ्वीको वरिपरि यसको इलेप्टिकल अर्बिट (अण्डाकार कक्ष)को क्रममा टाढाको भाग भन्दा अलि बढी झुक्छ भन्ने तथ्य अन्वेषकहरूले पत्ता लगाएका छन्। यसले चन्द्रमाको विशेष गरी म्याण्टल भनिने जियोलोजिकल लेयर (भूगर्भीय तह) मा भित्री भागको दुई पक्षमा भिन्नताहरू रहेको संकेत गर्दछ।

“चन्द्रमाको भित्री भागमा एकरूपता छैन भन्ने अध्ययनले देखाउँछ। पृथ्वीतर्फ फर्केको भाग वा ‘नियरसाइड’ (नजिकको भाग) ‘फारसाइड’ (टाढाको भाग) भन्दा गहिरो रूपमा तातो र भौगोलिक रूपमा बढी सक्रिय रहेको” भन्दै क्यालिफोर्नियाको नासाको जेट प्रोपल्सन प्रयोगशालामा सोलार सिस्टम डायनामिक्स ग्रुपका पर्यवेक्षक र नेचर जर्नलमा प्रकाशित अध्ययनका प्रमुख लेखक रायन पार्कले उल्लेख गरे।

चन्द्रमाको नजिकको भाग (नियरसाइड) विशाल मैदानहरूले ढाकिएको र त्यसलाई मेर भनिने बताइएको छ, जुन अरबौं वर्ष पहिले पग्लिएको चट्टानबाट पछि चिसो र ठोस भएर बनेको उल्लेख गरिएको छ। त्यसैगरी यसको टाढाको भाग (फारसाइड) मा भने धेरै कठिन भूभाग र थोरै मैदानहरू रहेको बताइएको छ।

नजिकैको भाग (नियरसाइड) भित्र तीव्र ज्वालामुखीले गर्दा म्याण्टलको त्यस छेउमा रेडियोएक्टिभ, ताप उत्पादन गर्ने तत्वहरू जम्मा भएका थिए जसले गर्दा आज देखिएको सतह भिन्नताहरू देखा परेका भनि केही वैज्ञानिकहरूले परिकल्पना गरेका छन्। नयाँ खोजहरूले यस धारणालाई समर्थन गर्ने अहिलेसम्मकै बलियो प्रमाण प्रदान गर्दछ।

त्यसैगरी अनुसन्धानकर्ताहरूले नजिकको भाग (नियरसाइड) म्याण्टल औसतमा टाढाको भाग (फारसाइड) भन्दा लगभग १८०–३६० डिग्री फरेनहाइट (१००–२०० डिग्री सेल्सियस) तातो हुने अनुमान गरेका छन् भने थर्मल भिन्नता सायद नजिकको भाग (नियरसाइड) मा तत्व थोरियम र टाइटेनियमको रेडियोएक्टिभ डिके (क्षय) ले कायम राख्ने उल्लेख गरिएको छ।

“टोपोग्राफि (स्थलाकृति), क्रस्टल थिकनेस (मोटाई) र भित्र ताप उत्पादन गर्ने तत्वहरूको मात्राको भिन्नताले चन्द्रमाको नजिकको भाग (नियरसाइड) र टाढाको भाग (फारसाइड) धेरै फरक देखाउँछ” पार्कले भने।

चन्द्रमाको व्यास लगभग २,१६० माइल (३,४७५ किलोमिटर) रहेको छ जुन पृथ्वीको व्यासको एक चौथाई भन्दा अलि बढी छ। लुनार म्याण्टल भनेको क्रस्ट मुनि र कोर माथि अवस्थित तह हो, जुन सतह मुनि लगभग २२–८७० माइल (३५–१,४०० किलोमिटर) गहिराइमा फैलिएको छ। म्याण्टलले चन्द्रमाको द्रव्यमान र आयतनको लगभग ८० प्रतिशत बनाउँछ र यो प्रायः पृथ्वीको म्याण्टल जस्तै खनिज ओलिभिन र पाइरोक्सिनबाट बनेको हुन्छ।

म्याण्टलमा पत्ता लागेको असमानता सतहको भूगर्भको ढाँचासँग मेल खान्छ भन्ने तथ्य, उदाहरणका लागि, जस्तै चन्द्रमाको नजिकको र टाढाको भाग बीचको लगभग ३–४ अर्ब वर्ष पुरानो मेर बासोल्ट (ज्वालामुखी चट्टान) को मात्रामा भिन्नताले प्राचीन चन्द्र ज्वालामुखीलाई चलाउने प्रक्रियाहरू आज सक्रिय छन् भनि सुझाव दिएको अध्ययन सह–लेखकका साथै बाह्य सौर्यमण्डलमा मिसनहरूको लागि गुरुत्वाकर्षण सेन्सरहरूको डिजाइनमा काम गर्ने जेट प्रोपल्सन प्रयोगशालासँग सम्बद्ध क्यालटेक कम्प्युटेसनल ग्रह वैज्ञानिक एलेक्स बर्नले भने।

अनुसन्धानकर्ताहरूले सन् २०११ को डिसेम्बर देखि सन् २०१२ को डिसेम्बर सम्म चन्द्रमाको परिक्रमा गर्ने ग्रेल (जीआरएआईएल) को एब एण्ड फ्लो अन्तरिक्षयानबाट डाटा विश्लेषण गर्न वर्षौ बिताएको बताइएको छ।

“हाम्रो अध्ययनले चन्द्रमाको अहिलेसम्मको सबैभन्दा विस्तृत र सटीक गुरुत्वाकर्षण नक्सा प्रदान गर्दछ” पार्कले भने।

“यो परिष्कृत गुरुत्वाकर्षण नक्सा भविष्यको चन्द्र अन्वेषण अभियानहरूको सफलताको लागि आवश्यक लुनार पोजिसनिङ, नेभिगेसन र टाइम (पीएनटी) प्रणालीहरू विकास गर्नको लागि एक महत्वपूर्ण आधार हो। चन्द्रमाको गुरुत्वाकर्षण क्षेत्रको हाम्रो बुझाइमा सुधार गरेर, यसले अन्तरिक्षयान र सतह सञ्चालनका लागि सुरक्षित र अधिक भरपर्दो नेभिगेसन सक्षम पार्दै, सटीक चन्द्र सन्दर्भ फ्रेम र समय प्रणाली स्थापना गर्न योगदान पुर्याउनेछ” पार्कले थप उल्लेख गरे।

चन्द्रमाको भित्री भागको मूल्याङ्कन गर्न गुरुत्वाकर्षण डाटा प्रयोग गरेर यहाँ प्रयोग गरिएको उही अप्रोच (तरिका) लाई, अनुसन्धानकर्ताहरूले सौर्यमण्डलका अन्य पिण्डहरू जस्तै शनिको चन्द्रमा एन्सेलाडस र बृहस्पतिको चन्द्रमा ग्यानिमेड जस्ता पृथ्वीभन्दा बाहिर सम्भावित जीवनको खोजीमा रुचि राख्ने दुई संसारहरूमा लागू गर्न सकिने बताएका छन्।

यसैबीच, नयाँ खोजहरूले पृथ्वीको अनन्त साथीको बुझाइमा थप मद्दत गरेको उल्लेख गरिएको छ।

“चन्द्रमाले पृथ्वीको परिक्रमा स्थिर गर्न र समुद्री ज्वारभाटा उत्पन्न गर्न महत्त्वपूर्ण भूमिका खेल्दछ, जसले प्राकृतिक प्रणाली र दैनिक लयलाई प्रभाव पार्ने” पार्कले उल्लेख गरे। “चन्द्रमाको बारेमा हाम्रो ज्ञान मानव र रोबोटिक मिसनहरू मार्फत विस्तार भएको छ जसले यसको सतह र भित्री भागको बारेमा विवरणहरूको खुलासा गरेको छ, तर यसको गहिरो संरचना र इतिहासको बारेमा धेरै प्रश्नहरू अझै बाँकी छन्। हाम्रो नजिकको छिमेकीको चन्द्रमाको वैज्ञानिक खोज एक महत्त्वपूर्ण केन्द्रबिन्दु बन्न जारी रहेको छ” भनि पार्कले बताएको एनडीटिभीले उल्लेख गरेको छ।

प्रकाशित: ३ जेष्ठ २०८२, शनिबार

तपाइको प्रतिक्रिया