विद्युतीय मोटरसाइकलले रेकर्ड दूरी तय गर्दै गिनिज वर्ल्ड रेकर्ड कायम गर्यो

Technology Khabar ३१ चैत्र २०८१, आईतवार

काठमाडौं ।

भर्ज मोटरसाइकलले एक पटकको ब्याट्री चार्जमा सबैभन्दा लामो विद्युतीय मोटरसाइकल सवारीको लागि गिनिज वल्र्ड रेकर्ड कायम गरेको छ।

टीएस प्रो मोडेलको विद्युतीय मोटरसाइकलले लन्डनमा १६ घण्टाको ड्राइभमा १९३ माइल वा ३१०.६ किलोमिटर यात्रा गर्दै नयाँ रेकर्ड कायम गरेको छ।

कसैका लागि १९.३ किलोमिटर प्रति घण्टाको औसत गति धेरै नभए पनि धेरै ट्राफिक र पैदल यात्रीहरू भएका लन्डनका सडकहरूलाई ध्यानमा राख्दा यो गति राम्रो भएको उल्लेख गरिएको छ।

यो रेकर्डलाई कायम गरेपछि बाइकमा अझै पनि यसमा उपलब्ध २०.२ किलोवाट प्रतिघण्टा ब्याट्री क्षमताको ७ प्रतिशत बाँकी रहेको बताइएको छ। साथै “डाटा रिलायबिलिटी सुनिश्चित गर्न”का लागि नरोकिएको भए यस विद्युतीय मोटरसाइकलले २०० माइलभन्दा बढी यात्रा गर्न सक्थ्यो भनि थप उल्लेख गरिएको छ।

प्रो मोडेलको पछाडिको पाङ्ग्रामा जडान गरिएको विद्युतीय मोटरले १३९ हर्सपावर र १,००० एनएमसम्म टर्क उत्पादन गर्ने बताइएको छ।

प्रो मोडेलले केवल ३.५ सेकेन्डमा नै शून्य देखि सय (०–१०० किमी) किलोमिटर प्रति घण्टाको गति प्राप्त गर्ने र यसको अधिकतम गति २०० किलोमिटर प्रति घण्टासम्म पुग्ने टेलीग्राफले उल्लेख गरेको छ।

प्रकाशित: ३१ चैत्र २०८१, आईतवार

तपाइको प्रतिक्रिया