अमेरिकी सिनेटरहरुले गुगल र माइक्रोसफ्टसँग मागे एआई सम्झौताबारे जानकारी

  • Technology Khabar | २८ चैत्र २०८१, बिहीबार
अमेरिकी सिनेटरहरुले गुगल र माइक्रोसफ्टसँग मागे एआई सम्झौताबारे जानकारी

काठमाडौं ।

अमेरिकाका दुई डेमोक्र्याट सिनेटरहरूले माइक्रोसफ्ट र गुगलसँग उनीहरूको क्लाउड कम्प्युटिङ साझेदारीबारे जानकारी माग गरेका छन्। यी साझेदारीहरू कृत्रिम बुद्धिमत्ता (एआई) कम्पनीहरूसँग भएका हुन्, जसले प्रतिस्पर्धामा बाधा पुर्‍याउने चिन्ता व्यक्त गरिएको छ।

म्यासाचुसेट्सकी सिनेटर एलिजाबेथ वारेन र ओरेगनका सिनेटर रोन वाइडन ले गुगल सँग त्यसको एआई स्टार्टअप एन्थ्रोपिक सँगको साझेदारीबारे र माइक्रोसफ्टसँग त्यसको च्याटजीपीटी निर्माता ओपनएआईसँगको सहकार्यबारे जानकारी मागेका रोयटर्सले उल्लेख गरेको छ।

“एआई क्षेत्रमा भएका यी कर्पोरेट साझेदारीहरूले प्रतिस्पर्धालाई कमजोर बनाउने, हाम्रो प्रतिस्पर्धा-विरोधी कानुनलाई छल्ने, र एआई उपकरण प्रयोग गर्ने व्यवसाय तथा उपभोक्ताका लागि विकल्प कम र मूल्य महँगो बनाउने सम्भावना छ,” पत्रमा लेखिएको छ।

माइक्रोसफ्ट र गुगल का प्रवक्ताहरूले सोधिएको टिप्पणीमा तत्काल प्रतिक्रिया दिएका छैनन्।

सिनेटरहरूले पठाएका पत्रमा यस्तो सोधिएको छ:

• एआई कम्पनीहरूले क्लाउड सेवा प्रदायकहरूलाई कति रकम तिरेका छन्,
• साझेदारीहरूले माइक्रोसफ्ट र गुगल लाई एआई मोडेलहरू प्रयोग गर्ने विशेषाधिकार दिएको हो कि होइन,
• यी ठूला प्रविधि कम्पनीहरूले आफ्नो एआई साझेदारहरूलाई किन्ने योजना बनाएका छन् कि छैनन्।

संयुक्त राज्य व्यापार आयोग (एफटीसी) ले ट्रम्पको कार्यकाल सुरु हुनु अघि जनवरीमा एक रिपोर्ट प्रकाशित गरेको थियो, जसमा माइक्रोसफ्ट र ओपनएआई, अमेजन र एन्थ्रोपिक, र गुगल र एन्थ्रोपिक बीचको साझेदारीको अध्ययन गरिएको थियो। तर सो रिपोर्टमा कम्पनीसम्बन्धी विशेष विवरण सार्वजनिक गरिएको थिएन।

एफटीसीको रिपोर्टमा कुनै क्लाउड सेवा प्रदायकले आफ्नो एआई साझेदार कम्पनीलाई नै किन्न सक्छ, र कम्तीमा एउटा एआई कम्पनीले आफ्नो क्लाउड साझेदारलाई महत्त्वपूर्ण निर्णयहरूबारे पूर्व जानकारी दिएको उल्लेख गरिएको छ भन्ने चेतावनी दिइएको छ।

रिपोर्ट अनुसार, कम्तीमा एउटा सम्झौतामा एआई कम्पनीले नयाँ मोडेल सुरु गर्नुअघि क्लाउड सेवा प्रदायकमार्फत मात्र सार्वजनिक गर्नुपर्ने सर्त राखिएको छ।

प्रकाशित: २८ चैत्र २०८१, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...