अटोमोबाइल व्यवसायीहरुको दुई फरक संस्थाहरुले एक आपसमा सहकार्य गर्ने

  • Technology Khabar | २४ चैत्र २०८१, आईतवार
अटोमोबाइल व्यवसायीहरुको दुई फरक संस्थाहरुले एक आपसमा सहकार्य गर्ने

काठमाडौं ।

अटो आयातकर्ता तथा बिक्रेताहरुको दुई संस्थाले एक आपसमा सहकार्य गर्ने भएका छन्। यी नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा) र नेपाल अटोमोबाइल्स इम्पोर्टस एण्ड म्यानुफ्राक्चरस एशोसिएसन (नाईमा) नामक फरक संस्थाहरुले सवारी साधन क्षेत्रको समग्र विकासप्रति प्रतिबद्ध भएको भन्दै सहकार्य गर्ने जनाएका हुन्।

यसका साथै दुवै संस्था अटोमोबाइल व्यवसायमा प्रत्यक्ष संलग्न भएकाले केही सदस्य कम्पनीहरू दुबै संघको भाग बन्ने छनोट गर्न सक्ने बताएका छन्। तथापि, प्रत्येक संघले आफ्नो लक्ष्यप्रति प्रतिबद्ध रहँदै स्वतन्त्र रूपमा आफ्नो प्रयासहरू जारी राख्नेछन।

दुबै संस्थाले प्रेस विज्ञप्तीमार्फत नेपालको अटोमोबाइल क्षेत्र दिगोपन, नवप्रवर्तन र नीतिगत स्थिरतातर्फ अग्रसर हुँदै गर्दा, नाडा र नाइमा दुवै संस्थाहरू व्यवसायीहरूको हक र हितको संरक्षण, उद्योगमैत्री नीति निर्माणमा सहकार्य, तथा समग्र क्षेत्रको प्रगतिमा पूर्ण रूपमा प्रतिबद्ध भएको जनाएका छन्।

यसैबीच हालै स्थापना भएको नाइमाले आउँदो वैशाख ४ गते आफ्नो औपचारिक शुभारम्भ गर्ने भएको छ। सो अवसरमा संस्थाले आफ्नो स्पष्ट दृष्टिकोण, प्रमुख कार्यक्षेत्रहरू, मध्य तथा दीर्घकालीन योजना, तथा मोबिलिटी सशक्तिकरणका लागि गर्न लागेको हस्तक्षेप कार्यक्रमहरू सार्वजनिक गर्ने बताईएको छ।

यसअघि नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा) भित्रको आन्तरिक विवादले गाडी आयातकर्ता व्यवसायीहरुले छुट्टै संस्था नाइमा स्थापना गरेका हुन्।

नाडाले लामो समयदेखि नेपालका अटोमोबाइल व्यवसायीहरूलाई समेट्ने साझा संस्था भएर काम गर्दै आएको छ। नेपालको अटोमोबाइल क्षेत्रको समग्र प्रवद्र्धन, नीति निर्माणमा सहकार्य, तथा व्यापार तथा व्यवसायलाई सहज बनाउने काममा नाडा सँधै सक्रिय रहँदै आएको छ।

अर्कोतर्फ नयाँ गठन भएको नेपाल अटोमोबाइल्स इम्पोर्टस एण्ड म्यानुफ्राक्चरस एशोसिएसन (नाईमा) ले मोबिलिटी सशक्तीकरणको वकालतका लागि गठन गरिएको दाबी गरेको छ। यसमा नेपालका अटोमोबाइल आयातकर्ता र निर्माताहरुले प्रतिनिधित्व गर्छन्।

हालै नाइमाको स्थापनासँग सम्बन्धित छलफल तथा समाचारहरूबाट नाइमाको भूमिकालाई लिएर केही भ्रमहरू उत्पन्न भएको भन्दै नाडा र नाइमा दुबै संस्थाको स्वतन्त्र सह अस्तित्वले नेपालमा अटोमोबाइल उद्योगलाई सशक्त बनाउनेछ भन्ने कुरामा दुबै संस्थाले विश्वास गर्ने उल्लेख गरेका छन्।

प्रकाशित: २४ चैत्र २०८१, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार