Technology Khabar ११ मंसिर २०७५, मंगलवार
काठमाडौं ।
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको सहकार्यमा निजी कम्पनीले काठमाडौँ उपत्यकाका ७० स्थानमा स्मार्ट डस्टबिन (आधुनिक फोहर सङ्कलन गर्ने भाँडो) राख्न शुरु गरेको छ ।
कृष्ण सप्लायर्स प्रालिले प्रतिवटा ६ लाख रुपैयाँ पर्ने फोहर सङ्कलन गर्ने आधुनिक भाँडो मानिसको अत्यधिक चाप हुने स्थानमा राख्न शुरु गरेको हो ।
आवश्यकता र माग दुई सय स्थानका लागि भए पनि पहिलो चरणमा काठमाडौँका बढी र ललितपुरका केही स्थानमा भाँडो राख्ने तयारी गरिएको छ । अहिले माइतीघर मण्डल, बिजुलीबजार, बानेश्वर, कोटेश्वर, गौशाला, चाबहिललगायत स्थानमा स्मार्ट डस्टबिन राखिसकिएको छ ।
आगामी एक हप्ताभित्रमा पहिलोचरणमा राख्ने भनेजति ७० वटै स्थानमा राखिसक्ने सप्लायर्सका निर्देशक शैलेश कुँवरले जानकारी दिए।
‘यस किसिमको भाँडो अत्याधुनिक छ, यसले फोहर सङ्कलन मात्रै गर्दैन, रातको समयमा सडकमा हिँड्ने यात्रुलाई बत्तीमार्फत उज्यालो पनि दिन्छ भने यसबाट मोबाइल चार्जसमेत हुन्छ, यसले जानकारी लिनका लागि नक्सा निर्देशको काम पनि गर्दछ,’ कुँवरले भने ।
चीनबाट ल्याइएको डस्टबिनको प्रभावकारिता हेरी दोस्रोचरणमा काठमाडौँ उपत्यकाको बाँकी स्थानमा र बाहिरी जिल्लाका मुख्य शहरमा पनि यसको प्रयोग विस्तार गरिने कुँवरले जानकारी दिए।
काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन गर्न सधैँ कठिन परेकाले सानो सहयोग होस् भनेर शुरु गरिएको उनले बताए। पहिलो चरणमा ७० वटै स्थानमा राख्ने काम सकेछि विद्यालयका बालबालिकालाई पनि यसबारे जानकारी दिन कार्यक्रम शुरु गरिने छ ।
कामपाका सार्वजनिक निजी साझेदारी एकाइ प्रमुख ध्रुव काफ्लेले महानगरले नै गर्नुपर्ने काम निजी कम्पनीले चासो देखाएपछि काम शुरु भएको बताए।
‘अत्याधुनिक यस्ता डस्टबिनको आवश्यकता पनि थियो,’ उनले भने, ‘सडकमा यात्रा गरिरहेका नागरिकले अब जहातहीँ फोहर फल्न पाउनेछैनन्, आफूलाई पायक पर्ने स्थानका ती भाँडोमा फोहर राख्नुपर्नेछ र सहरलाई सफा राख्नेतर्फ ध्यान दिनुपर्छ ।’
कुहिने र नकुहिने दुवै किसिमका फोहर राख्न मिल्ने ती भाँडोमा सङ्कलन भएको फोहर सम्बन्धित कम्पनीले प्रत्येक दिन टेकुमा लगेर व्यवस्थापन गर्नेछ ।
प्रकाशित: ११ मंसिर २०७५, मंगलवार