एक्समा आक्रमण गर्ने आक्रमणकारीको खुलासा

Technology Khabar २ चैत्र २०८१, शनिबार

काठमाडौं ।

प्यालेस्टाइन सम्बद्ध ह्याकर समूह “डार्क स्टर्म टिम” ले एक्समा भएको पछिल्लो ठूलो डीडीओएस आक्रमणको जिम्मेवारी लिएको छ।

यस आक्रमणले प्लेटफर्मको सञ्चालनमा ठूलो अवरोध सिर्जना गरेको थियो भने डाउनडिटेक्टर डाटाको अनुसार, मोबाइल एप्लिकेसनका प्रयोगकर्ताहरूद्वारा सबैभन्दा धेरै समस्याहरूको बारेमा रिपोर्ट गरिएको छ।

सामाजिक सञ्जाल एक्सका मालिक इलन मस्कले आक्रमण अत्यन्तै बलियो भएको पुष्टि गर्दै यसको पछाडि ठूलो संस्था वा राज्य संलग्न रहेको सुझाव दिएका थिए।

मस्कले पछि गएर उक्त आक्रमणहरू युक्रेनको आईपी एड्रेसहरूबाट आएका बताए पनि यस दावीको लागि प्रमाण फेला नपरेको उल्लेख गरिएको छ।

आक्रमणकारीहरूले आफ्नो वास्तविक उत्पत्ति लुकाउनका लागि युद्धग्रस्त देशमा कम्प्रमाइज्ड सर्भरहरू प्रयोग गरेको हुन सक्छन् भनि विज्ञहरूले विश्वास व्यक्त गरेका छन्।

सुरक्षा कम्पनी चेक प्वाइन्ट रिसर्चले आक्रमणलाई ह्याकिङ समूह “डार्क स्टर्म टिम” सँग जोडेको छ जसले पहिले अमेरिका, युक्रेन, संयुक्त अरब इमिरेट्स र इजरायलमा पनि आक्रमण गरिसकेको छ।

यद्यपि, यो ह्याकरहरूको समूह स्वतन्त्र रूपमा काम गरिरहेको छ वा कुनै न कुनै रूपमा रूससँग जोडिएको छ कि छैन भन्ने कुरामा पूर्ण रूपमा स्पष्टता नभएको उल्लेख गरिएको छ।

हालको लागि आक्रमण कम भएको भएता पनि पछि स्थिति फेरि बढ्न सक्ने उल्लेख गरिएको छ। सन् २०२४ को दोस्रो उत्तरार्धमा, डीडीओएस आक्रमणहरूको संख्या र शक्ति उल्लेखनीय रूपमा बढेको भन्ने तथ्याङ्क विश्लेषण कम्पनी जीकोरले देखाएको छ भने वार्षिक आधारमा ५६ प्रतिशत वृद्धि रेकर्ड गरिएको टेलीग्राफले उल्लेख गरेको छ।

प्रकाशित: २ चैत्र २०८१, शनिबार

तपाइको प्रतिक्रिया