
काठमाडौं ।
नेकपा (एमाले) का सचिव तथा पूर्वमन्त्री लेखराज भट्टले नेपालमा सामाजिक सञ्जाल हेर्दा गाली संस्कृतिका रूपमा विकास भइरहेको बताएका छन्। प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेश समितिको अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
गाली सामाजिक सञ्जालको विशेषता भइरहेको र गाली गर्न सके बहादुरी ठान्ने गरेको बताउँदै उनले सामाजिक सञ्जाल विधेयक पढ्दै नपढी विरोध भइरहेको बताए।
नेकपा (एमाले) का केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले सामाजिक सञ्जालका लगानीकर्ता र प्रयोगकर्तालाई जिम्मेवार बनाउने गरी आएको कानुन बुझ्दै नबुझो विरोध मात्रै गर्न नहुने बताए।
प्रेस चौतारी नेपालमा अध्यक्ष गणेश बस्नेतले तथ्यका आधारमा सत्य देखाउने पेसाकर्मीको सङ्गठन प्रेस चौतारी नेपालले समृद्धिका लागि सञ्चारकर्म गरिरहेको बताए। सञ्चार क्षेत्र प्रश्न उठाउने मात्रै होइन, समृद्ध देश बनाउने अभियानको हिस्सेदार बन्न चाहेको उनले बताए।
नेपाल पत्रकार महासङ्घको नेतृत्वमा महिला स्थापित गरेर महत्त्वपूर्ण उपलब्धि हासिल गरेको उनले बताए। प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेश समितिले नरेन्द्रसिंह कार्कीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।
कार्यसमितिको उपाध्यक्षमा मोन ठकुरी, कल्पना बोहरा, महासचिवमा भानुभक्त आचार्य, कोषाध्यक्षमा लक्ष्मण पन्त चयन हुनुभएको छ। सचिवमा लोकेन्द्र ओझा, अमर भट्टराई, दीपकराज जोशी, खेम ढुङ्गाना, समावेशी सचिवतर्फ गीता चौधरी र मदन विक चयन भएका छन्।
प्रकाशित: १९ फाल्गुन २०८१, सोमबार