
काठमाडौं ।
अमेजनले टेमु र शेइनसँग प्रतिस्पर्धा गर्ने आफ्नो छुट मूल्य स्टोरफ्रन्ट हउललाई अमेरिका बाहिर विस्तार गर्ने योजना बनाएको छ। कम्पनीले यो वर्षको अन्त्यसम्म युरोपमा हउल सुरू गर्ने तयारी गरिरहेको छ, दुई जना जानकार व्यक्तिहरूले बताएका छन्। कम्पनीले यस योजनाबारे औपचारिक रूपमा कुनै घोषणा गरेको छैन।
रोयटर्सका अनुसार हालैका जागिर सूचीकरणले अमेजन ले हउलको विश्वव्यापी विस्तार गर्ने संकेत गरेको छ। एउटा सूचीकरणमा हउल टोलीका लागि सफ्टवेयर विकास इञ्जिनियरको आवश्यकता उल्लेख थियो, जसले विश्वव्यापी लन्चमा सहायता गर्नेछ। यो जागिर कम्पनीको वेबसाइटमा राखिएको थियो तर पछि हटाइएको छ। अर्को सूचीकरण मेक्सिकोमा हउल सुरू गर्नका लागि वरिष्ठ उत्पाद प्रबन्धकको लागि थियो।
अमेजन का प्रवक्ताले हउल सम्बन्धी योजनाबारे केही भन्न अस्वीकार गरे। प्रवक्ताले भने, “हामी जहिले पनि हाम्रा बिक्री साझेदारहरूसँग मिलेर विश्वभरका ग्राहकहरूलाई बढी छनोट, कम मूल्य र बढी सुविधा दिन नयाँ उपायहरू खोज्दैछौं।”
हउल पहिलो पटक नोभेम्बरमा सुरू गरिएको थियो। अमेजन ले यसलाई कम मूल्यका उत्पादनहरू एकै ठाउँमा उपलब्ध गराउने “रमाइलो किनमेल अनुभव” को रूपमा वर्णन गरेको छ। हउल केवल अमेजन को मोबाइल एपमार्फत उपलब्ध छ, र अधिकांश सामान २० डलरभन्दा कम मूल्यका छन्।
अमेजन हउलले टेमु,शेइन, र टिकटक शपजस्ता चिनियाँ प्लेटफर्महरूसँग प्रतिस्पर्धा गर्दैछ, जसले सस्तो मूल्यका लुगा, मेकअप, घरायसी सामान, र अन्य उत्पादनहरू बिक्री गरेर अमेरिका लगायतका बजारमा लोकप्रियता कमाइरहेका छन्। टेमु जस्तै हउलले १ डलरको आइल्याश कर्लर २.९९ को क्युबिक जिरकोनिया रिङ जस्ता अत्यन्तै सस्ता उत्पादनहरू उपलब्ध गराउँछ।
हउलअहिले पनि अमेरिकी प्रयोगकर्ताहरूका लागि बीटा संस्करणमा छ, तर अमेजनले यस सेवालाई विस्तार गरिरहेको छ, जसले यसलाई स्थायी रूपमा आफ्नो अनलाइन स्टोरको हिस्सा बनाउने संकेत गर्छ।
हटाइएको जागिर सूचीकरणअनुसार सीईओ एन्डी जस्सीको एस-स्टिमले २०२४ मा हउललाई अमेरिका र विश्वभर “ठूलो स्तरमा” लैजाने लक्ष्य राखेको रोयटर्सले उल्लेख गरेको छ।
प्रकाशित: १९ फाल्गुन २०८१, सोमबार