
काठमाडौं ।
चिप कम्पनी इन्टेलले ओहायोमा निर्माण गरिरहेको २८ अर्ब डलरको चिप कारखानामा थप ढिलाई भएको छ। कम्पनीका अनुसार पहिलो कारखाना २०३० सम्म मात्र पूरा हुनेछ, जुन अघिल्लो समयसीमाभन्दा कम्तीमा पाँच वर्ष पछाडि धकेलिएको हो।
इन्टेलले २०३० वा २०३१ भित्र पहिलो कारखानालाई सञ्चालनमा ल्याउने योजना बनाएको छ। कम्पनीले अन्य व्यवसायहरूका लागि चिप निर्माण गर्ने लक्ष्य राखेपछि ठूलो खर्च भएको र यसको कारणले वित्तीय दबाब परेको बताएको छ।
इन्टेल फाउण्ड्री म्यानुफ्याक्चरिङका महाप्रबन्धक नागा चन्द्रशेखरनले कम्पनीको प्रेस विज्ञप्तिमा भनेका छन्, “हामी बजार मागअनुसार कारखाना सञ्चालन गर्न र पूँजी व्यवस्थित रूपमा व्यवस्थापन गर्न सावधानीपूर्वक कदम चाल्दैछौं।”
रोयटर्सका अनुसार इन्टेलका अनुसार ओहायोमा निर्माण भइरहेको दोस्रो कारखाना २०३१ मा पूरा हुनेछ र २०३२ मा सञ्चालनमा आउनेछ। शेयर बजारमा कम्पनीका सेयर ५ प्रतिशतले बढेका थिए, तर पछि केही गिरावट आएर १ प्रतिशत वृद्धि भएको देखियो।
प्रकाशित: १९ फाल्गुन २०८१, सोमबार