ह्वावेले चीनबाहिर सार्वजनिक गर्यो ट्राई-फोल्ड स्मार्टफोन मेट एक्सटी

  • Technology Khabar | ६ फाल्गुन २०८१, मंगलवार
ह्वावेले चीनबाहिर सार्वजनिक गर्यो ट्राई-फोल्ड स्मार्टफोन मेट एक्सटी

काठमाडौं ।

चिनियाँ प्रविधि दिग्गज ह्वावेले मंगलबार चीनबाहिर आफ्नो ट्राई-फोल्ड स्मार्टफोन लन्च गरेको छ जसले अमेरिकी प्रतिबन्धका कारण अन्तर्राष्ट्रिय बजारमा गुमाएको स्थान फिर्ता ल्याउने प्रयास गरिरहेको छ।

मेट एक्सटी नाम दिइएको यो स्मार्टफोनको सुरुवाती मूल्य ३,४९९ युरो (३,६६० डलर) तोकिएको छ। ह्वावेले यो मोडेल कुन-कुन देशमा उपलब्ध हुने भन्ने घोषणा गरेको छैन, तर कम्पनीले प्रयोगकर्ताहरूलाई स्थानीय घोषणाहरूको लागि ध्यान दिन आग्रह गरेको छ।

सीएनबीसीका अनुसार यो स्मार्टफोन पहिलो पटक गत वर्ष चीनमा लन्च गरिएको थियो र पहिलो ट्राई-फोल्ड फोन भएकाले विश्वभर चासोको विषय बन्यो। सामान्य रूपमा फोल्ड हुने स्मार्टफोनहरू ठाडो वा तेर्सो गरी एक पटक मात्र फोल्ड गर्न सकिन्छ। मेट एक्सटी लाई दुई ठाउँबाट फोल्ड गर्न सकिन्छ र यसले सामग्रीलाई सिंगल, डबल वा ट्रिपल स्क्रिनमा देखाउन सक्छ।

ह्वावे एक समय विश्वकै ठूलो स्मार्टफोन ब्रान्ड थियो र उच्च श्रेणीको बजारमा एप्पल तथा सामसङलाई टक्कर दिइरहेको थियो।

सन् २०१९ देखि सुरु भएको अमेरिकी प्रतिबन्धले ह्वावेलाई प्रविधि उन्नत चिप्स र गुगलको एण्ड्रोइड अपरेटिङ सिस्टममा पहुँच कटौती गर्‍यो, जसका कारण यसको बजार हिस्सा निकै घट्यो। अन्य ब्रान्डहरूले खाली ठाउँ भरेपछि ह्वावे लगभग अन्तर्राष्ट्रिय बजारबाट बाहिरिएको थियो। अनुसन्धान संस्था इन्टरनेशनल डाटा कर्पोरेशन आईडीसीका अनुसार चीनबाहिर ह्वावे को स्मार्टफोन बजार हिस्सा हाल ०.३ प्रतिशत  मात्र रहेको छ।

तर, चीनभित्र भने ह्वावेको बजार हिस्सा २०२३ को अन्त्यतिर लन्च गरिएको प्रविधि उन्नत चिप भएको स्मार्टफोनको कारण २०२४ मा १२ प्रतिशत  बाट बढेर १७ प्रतिशत  पुगेको छ। यो चिप अमेरिकी प्रतिबन्धका बाबजुद आएको भन्दै धेरैलाई आश्चर्यमा पार्‍यो, किनकि पछिल्ला वर्षहरूमा यस्ता प्रतिबन्धहरूले चीनको उन्नत सेमिकन्डक्टर प्रविधिमा पहुँच रोक्ने प्रयास गरेका थिए।

ह्वावेले विशेष गरी उच्च श्रेणीका उपकरणहरूमा ध्यान केन्द्रित गर्दै अब यही लय अन्तर्राष्ट्रिय बजारमा लैजाने लक्ष्य राखेको छ। आईडीसीका डाटा तथा एनालिटिक्स उपाध्यक्ष फ्रान्सिस्को जेरोनिमोका अनुसार मेट एक्सटी धेरै ठूलो परिमाणमा बिक्री हुने छैन र यो महँगो डिभाइस किनेर देखाउन चाहने सम्पन्न व्यक्तिहरूलाई लक्षित गरिएको हुन सक्छ।

“मलाई लाग्छ, ह्वावेले ट्राई-फोल्डलाई एउटा विशेष मूल्य प्रस्तावका रूपमा हेरेको छ, र यो धेरै महँगो भएकाले उनीहरू सम्पन्न व्यक्तिहरूलाई लक्षित गर्दैछन्, जो आफ्नो आर्थिक स्तर देखाउन चाहन्छन्, नकि उत्कृष्ट प्रयोगात्मक अनुभव खोजिरहेका छन्,” जेरोनिमोले भने।

ह्वावेले यदि आधा मिलियन मेट एक्सटी बेचेको खण्डमा १.५ अर्ब डलर आम्दानी गर्न सक्ने सम्भावना रहेको जेरोनिमोले थपे। मेट एक्सटीको चीनबाहिरको लोकप्रियता परीक्षण हुनेछ। यसको एउटा प्रमुख चुनौती भनेको यो गुगल को एण्ड्रोइड अपरेटिङ सिस्टममा आधारित नहुनु हो, जुन विश्वमै सबैभन्दा लोकप्रिय छ।

एण्ड्रोइड प्रयोगकर्ताहरूले गुगल प्ले स्टोरमार्फत लाखौँ एपहरू डाउनलोड गर्न सक्दछन्, तर ह्वावे को एप स्टोरमा केही महत्वपूर्ण गुगल एपहरू उपलब्ध छैनन्, जुन चीनबाहिर मेट एक्सटी को आकर्षण कम गर्ने कारक बन्न सक्छ।

“गुगल को अभाव अझै पनि अन्तर्राष्ट्रिय बजारका लागि ठूलो कमजोरी हो, विशेष गरी ती प्रयोगकर्ताहरूका लागि जसले ट्राई-फोल्ड हार्डवेयरको लागि धेरै पैसा खर्च गर्न चाहन्छन्, तर नेटफ्लिक्स,  गुगल प्ले स्टोर वा नवीनतम जेनएआई गुगल जेमिनि सुविधाहरू प्रयोग गर्न चाहन्छन्,” काउन्टरपोइन्ट रिसर्चका पार्टनर नील शाहले सीएनबीसी बताए।

प्रकाशित: ६ फाल्गुन २०८१, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...