मंगल ग्रहको सतहमा देखिएका यी भयंकर सिमीका दानाजस्ता वस्तु के हुन्? के त्यहाँ विरुवा हुर्कन सम्भव छ? यस्तो छ तथ्य

Technology Khabar ३ माघ २०८१, बिहीबार

काठमाडौं ।

नासाको एउटा स्याटेलाइटले मंगल ग्रहको सतहमा रहेका बालुवाको पहाडमा जमेर बसेका भयंकर आकारका किड्नी बिन अर्थात् राज्मा सिमीका गेडाहरुको आकारमा रहेका वस्तुहरु भेटेको छ।

उक्त स्याटेलाइटले पठाएको फोटोमा विशाल राज्मा सिमीका गेडाहरु देखिन्छन् जसले शुरुमा झट्ट हेर्दा हामीलाई मंगल ग्रहमा पानी छ कि छैन भन्ने पक्का भइनसकेको बेला यस्ता वनस्पति हुर्केर फल दिन पर्याप्त पानी हुनुपर्ने तिर संकेत गरेको छ।

तर वास्तवमा ती वस्तुहरु जैविक बीउ वा वनस्पतिको गेडा होइनन्। परबाट हेर्दामात्र यिनिहरुको रङ्ग र आकार सिमीको जस्तो देखिएको हो।

मंगल ग्रहमा भेटिएका यी जैविक सिमीजस्ता देखिने वस्तु वास्तवमा मंगल ग्रहको उत्तरी गोलार्द्धमा जमेको बालुवाले बनेका साना साना थुम्काहरु रहेको लाइभसाइन्सले उल्लेख गरेको छ।

हालै सार्वजनिक गरिएको नासाको मार्स रिकोनेसाँ अर्बिटर (एमआरओ) द्वारा खिचिएको एउटा तस्बिरले यी चिसा सिमीका दानाजस्ता देखिने बालुवका थुम्काहरुको माथिबाट लिइएको दृश्य देखिएको छ जसले वैज्ञानिकहरूलाई मंगल ग्रहमा कुनै समय जीवन टिक्न सक्ने अवस्था थियो कि थिएन भनेर पत्ता लगाउन मद्दत पुर्‍याउने अपेक्षा गर्न सकिन्छ।

यो तस्बिर सेप्टेम्बर २०२२ मा खिचिएको र डिसेम्बर २०२४ मा सार्वजनिक गरिएको हो। तस्बिरमा बालुवाका थुम्काहरू अचम्मलाग्दो रूपमा स्थिर देखिन्छन्। पृथ्वी र मंगल दुवैमा बालुवा थुम्काहरू प्राय: हावाले बालुवाका कणहरू एक छेउबाट उठाएर अर्को छेउमा जम्मा गर्दा सरिरहेको जस्तो देखिन्छ।

तर तस्बिरमा देखाइएका थुम्काहरू मंगलको उत्तरी गोलार्द्धको जाडोयाममा कार्बन डाइअक्साइडको हिउँको तहले ढाकिएका छन्। यो तहले हावालाई बालुवा उडाउन रोकेको छ, जसले वसन्त ऋतुमा हिउँ पग्लिन नपाउँदासम्म थुम्काहरूलाई स्थिर बनाएको छ।

हिउँले ढाकिएका थुम्काहरूका तस्बिरहरूले वैज्ञानिकहरूलाई मंगलको सतहमा लामो समयसम्म पानीको अस्तित्व थियो कि थिएन भनेर जान्न मद्दत गर्दछ। यद्यपि यो हिउँ पानी नभई कार्बन डाइअक्साइडबाट बनेको छ जसले मंगल ग्रहमा लामो समयसम्म पानी भएको सम्भावनालाई प्रभावित गर्दछ।

मंगल ग्रहमा कति कार्बन डाइअक्साइड छ भन्ने कुरा ग्रहको सूर्यसँगको झुकावमा भर पर्छ। पृथ्वी हल्का झुकेको अक्षमा घुम्दा सामान्यतया थोरै डगमगाउँछ, जसले ऋतुहरूलाई परिवर्तन गर्छ।

तर मंगलको अक्षीय झुकाव समयक्रमसँग धेरै डगमगाउँछ, जसले यसको ऋतुहरूलाई धेरै परिवर्तन गराउँछ। जब मंगल पर्याप्त रूपमा झुक्छ, ठूलो मात्रामा कार्बन डाइअक्साइडको बरफ ग्यासमा बदलिन्छ जसले सम्पूर्ण ग्रहलाई बाक्लो वायुमण्डल दिन्छ। यो बाक्लो वायुमण्डलले लामो समयसम्म तरल पानीलाई समर्थन गर्ने क्षमता राख्छ।

हाल मंगल ग्रहमा कार्बन डाइअक्साइडको हिउँ कसरी आउँछ र जान्छ भन्ने कुरा बुझेर वैज्ञानिकहरूले मंगलको विगतको मौसमको राम्रो भविष्यवाणी गर्न सक्छन्। ऋतुसँगै हिउँ कसरी परिवर्तन हुन्छ भन्ने अध्ययन गर्दा कार्बन डाइअक्साइडले बनाएको भूगर्भीय संरचनाहरूको पहिचान गर्न पनि मद्दत पुग्छ।

मंगल ग्रहमा मौसमले स्थिर तरल पानीलाई समर्थन गर्ने समयहरू वास्तवमै रहेको प्रमाणसत भएमा मंगलले सूक्ष्मजीवीय जीवनलाई समर्थन गरेको हुनुसक्ने ठूलो सम्भावना रहन्छ र त्यो जीवन अझै कतै लुकेको हुनसक्ने आकलन गरिएको छ।

प्रकाशित: ३ माघ २०८१, बिहीबार

तपाइको प्रतिक्रिया