Technology Khabar १ माघ २०८१, मंगलवार
काठमाडौं ।
इन्टरनेट सेवा प्रदायक भायनेट कम्युनिकेशन्स लिमिटेडले आफूले सरकार र नियामकलाई तिर्नुपर्ने बाँकी बक्यौता रकममध्ये केहि रकम भुक्तानी गरेको छ।
दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले बाँकी बक्यौता रकम तिर्न दिएको म्यादको अन्तिम दिन पुस २९ गते सोमबार आफूले तिर्नुपर्ने मध्ये केहि रकम भुक्तानी गरेको हो।
भायनेटले सरकार र नियामकलाई दूरसञ्चार सेवाको रोयल्टी तथा ग्रामीण दूरसञ्चार विकास कोष (आरटीडीएफ) बापतको करिब ३९ करोड ५८ लाख रुपैयाँ सोमबार बुझाएको हो।
कम्पनीले सरकार र नियामकलाई आफ्नो बाँकी बक्यौता रकम रहेकोमध्ये हाल कुल ३९ करोड ५८ लाख २९ हजार ४४९ रुपैयाँ ९७ पैसा भुक्तानी गरेको प्राधिकरण स्रोतले जानकारी दिएको छ।
यसमध्ये कम्पनीले रोयल्टी बापत करिब २६ करोड ७७ लाख ४३ हजार भुक्तानी गरेको छ भने बाँकी रकम आरटीडीएफ बापत बुझाएको हो।
भायनेटले आरटीडीएफको करिब १२ करोड ८० लाख ८६ हजार रुपैयाँ बुझाएको छ।
प्राधिकरणकाअनुसार भायोनेटले आर्थिक वर्ष २०७५/७६ देखिको बाँकी बक्यौता रकम तिर्नुपर्ने देखिएको थियो। सोही रकममा थप दस्तुर जोडेर प्राधिकरणले बाँकी बक्यौता असुल गरेको हो।
यसअघि वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेड र सुबिसु केबलनेट लिमिटेडले आफूले तिर्नु बुझाउनुपर्ने बाँकी बक्यौता बेरुजू रकम एकमुष्ट तिरेका थिए।
वर्ल्डलिंकले एकमुष्ट रोयल्टी बापत १ अर्ब ३८ करोड ९० लाख १२ हजार २२५ रुपैयाँ ५४ पैसा र ग्रामीण दूरसञ्चार विकास कोष (आरटीडीएफ) तर्फ ७६ करोड २३ लाख ९५ हजार ३२७ रुपैयाँ ३२ पैसा तिरेको थियो।
सम्बन्धित समाचार-
यसका साथै सुबिसुले पनि एकमुष्ट रोयल्टी वापत जम्मा रकम १७ करोड ४८ लाख ५१ हजार ६१५ रुपैयाँ ४७ पैसा तथा ग्रामीण दूरसञ्चार विकास कोष वापतको जम्मा रकम १३ करोड ८९ लाख ७९ हजार ५९० रुपैयाँ ४२ पैसासहित कुल ३१ करोड ३८ लाख ३१ हजार २०५ रुपैयाँ ८९ पैसा बुझाएको थियो।
सम्बन्धित समाचार-
एकमुष्ट बक्यौता रकम बुझाएको सुबिसु केबलनेटले लियो अनुमति पत्र नवीकरणको प्रमाणपत्र
भायनेटले तिर्नुपर्ने पुरानो रकममध्ये अझै करिब १५ करोड रुपैयाँ जति बाँकी रहेको बताईएको छ।*
पछिल्लो समय भायनेटले वित्तीय संकट र अस्थिरताको सामना गरिरहेको देखिएको छ। सन् २०२४ डिसेम्बर २ तारिखमा प्रकाशित इक्रा नेपालद्वारा गरिएको कम्पनीको क्रेडिट रेटिङ्गमा गिरावट आएको र यसलाई आईसीआरए एनपी आइ एल बी प्लस (प्रदायक सहयोग नगर्ने) वर्गमा राखिएको छ। कम्पनीले रेटिङ्ग निगरानीमा आवश्यक सहयोग नगरेको कारण यो कदम उठाइएको जनाएको छ।
इक्रा नेपालले भायनेटको दीर्घकालीन ऋणको रेटिङ्गलाई आईसीआरएएनपी एलबि प्लस (प्रदायक सहयोग नगर्ने) मा घटाएको छ। साथै, छोटो अवधिको ऋणको रेटिंगलाई [ICRANP] A4 (Issuer Not Cooperating) बाट घटाएर [ICRANP] A4 मा झारिएको छ।
भायनेटको आर्थिक स्थिति चिन्ताजनक बनेको रेटिङ्ग कम्पनीले उल्लेख गरेको छ। कम्पनीको २०१८ देखि २०२२ सम्मको सञ्चालन आम्दानी वृद्धि दर अपेक्षाकृत न्यून रहेको छ। २०१८ मा ९३१ मिलियन रुपैयाँको अपरेशनल इनकमबाट २०२२ सम्म बढेर २,२३१ मिलियन रुपैयाँको वृद्धि भए पनि कम्पनीको आम्दानी वृद्धिमा अपेक्षित सुधार देखिएको छैन्।
तथ्यांकअनुसार, २०२२ मा भायनेटको ऋण र शुद्ध सम्पत्ति अनुपात ३.७ रह्यो, जसको अर्थ कम्पनीको ऋण लिने क्षमता उच्च रहेको छ। तर भायनेटको ब्याज भुक्तानीको क्षमता कम भएको छ। सन् २०२२ मा कम्पनीको ब्याज कभरेज अनुपात ४.८ थियो, जुन २०२१ मा ५.८ थियो। कम्पनीको ऋण सेवा कभरेज अनुपात पनि गिरावटमा रहेको उल्लेख छ।
*समाचार सम्पादित
प्रकाशित: १ माघ २०८१, मंगलवार