चिनियाँ टेक कम्पनी शाओमी औपचारिकरुपमा नेपाल प्रवेश गर्दै, एमआइ स्मार्टफोनको मूल्य घट्ला ?

  • Technology Khabar | ५ आश्विन २०७५, शुक्रबार
चिनियाँ टेक कम्पनी शाओमी औपचारिकरुपमा नेपाल प्रवेश गर्दै, एमआइ स्मार्टफोनको मूल्य घट्ला ?

काठमाडौं ।

काठमाडौं । चिनियाँ टेक कम्पनी शाओमी नेपाली बजारमा औपचारिक रुपमा भित्रिएको घोषणा गर्ने भएको छ । कम्पनीले आगामी साता नेपालमा शाओमी ब्राण्ड भित्रिएको घोषणा गर्न लागेको हो ।

करिब १ वर्षदेखि नेपालमा शाओमीका उत्पादनहरु उपलब्ध भएपनि कम्पनीले औपचारिकरुपमा भने घोषणा गरेको थिएन् ।

अब भने शाओमीका चिनियाँ र भारतीय अधिकारीहरुका साथमा औपचारिक घोषणा गर्दै एमआई ब्राण्ड उपलब्ध रहेको जानकारी दिन लागेका हुन् ।

नेपाली बजारमा हाल शाओमी ब्राण्डका उत्पादनहरु वत्सव इम्पेक्स र लक्की ग्रुपअन्तरगतको टेली डिरेक्ट प्रालीले आयात तथा बिक्री गरिरेहका छन् । जसमध्ये वत्सलले काठमाडौं उपत्यकाको बजारमा एमआई ब्राण्डका उत्पादनहरु उपलब्ध गराईरहेको छ भने टेली डिरेक्टले काठमाडौं बाहिरको बजारमा आफ्नो उपस्थिती देखाएको छ ।

शुरुवाती चरणमा वत्सलले मात्र आयात तथा बिक्री गरिरहेको शाओमी ब्राण्डमा गत चैत महिनादेखी लक्की ग्रुपले हात हालेको हो । लक्की ग्रुपले आयात तथा बिक्री गर्दै आएको जियोनी ब्राण्ड विश्व बजारमा धरासायी भएपछि सो कम्पनी शाओमीतर्फ आकर्षित भएको कम्पनी सम्बन्धित व्यवसायीहरुको भनाई छ।

टेलीटक मार्फत शाओमी ब्राण्ड कारोबार गरिरहेको लक्की ग्रूपले सो ब्राण्डको लागि छुट्टै कम्पनी खडा गरेर कारोबार शुरु गरेको हो ।

आगामी साता भने दुबै कम्पनीले संयुक्तरुपमा शाओमीका प्रतिनिधिहरुको साथमा उत्पादनहरु सार्वजनिक गर्न लागेका हुन् । सो कार्यक्रममा शाओमीले स्मार्टफोनसहित अन्य उत्पादनहरुको पनि घोषणा गर्ने अपेक्षा गरिएको छ।

के स्मार्टफोनको मूल्य घट्ला ?

दुबै कम्पनीहरुले शाओमीका उत्पादन भित्र्याएपछि केहि उत्पादनहरुको बजार मूल्य कटौती गरिएको थियो । तर अझैपनि नेपाली बजारमा शाओमीका उत्पादनहरुको मूल्य निकै महंगो गूनासो आउने गरेको मोबाइल बिक्रेताहरुको भनाई छ ।

औपचारिकरुपमा घोषणापछि नेपाली बजारमा पनि मूल्य समायोजन हुने अपेक्षा गरिएपनि त्यस्तो नहुने एक व्यवसायीले दाबी गरे । ताम्राकार कम्प्लेक्समा मोबाइल पसल गरिरहेका एक व्यवसायीले परिचय उल्लेख नगर्ने शर्तमा दुई कम्पनीको कारण बजारमा समस्या देखिएको भएपनि मूल्य घट्ने संभावना कम भएको बताए ।

‘शाओमीले जून कम्पनीले धेरै बेच्छ त्यसलाई मात्र आधिकारिक बितरकको रुपमा दिने भन्ने भनाई थियो तर अहिले भने दुबैलाई साथै दिने भएको हो, शाओमीका मोबाइलको मूल्य भने घट्ने देखिँदैन्,’ उनले भने ।

उनकाअनुसार अबदेखि नेपाल बजार हेर्नका लागि शाओमीको प्रतिनिधि नै यहाँ बस्नेछ ।

अहिले पनि छिमेकी मुलुक भारतीय बजारको तूलनामा नेपालमा शाओमीको मूल्य महंगो हुने गरेको ग्राहकहरुले गूनासो गर्दै आएका छन् । त्यसैले खुला सिमानाको फाईदा उठाउँदै ग्राहकहरुले अझैपनि भारतीय बजारबाट शाओमी खरिद गर्ने गरेको व्यवसायीहरुको गूनासो छ ।

प्रकाशित: ५ आश्विन २०७५, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...