नासाको हबल टेलिस्कोपले ब्ल्याक होल वरिपरि देखेको अनौठो र रहस्यमय वस्तु के हो?

  • Technology Khabar | २७ मंसिर २०८१, बिहीबार
नासाको हबल टेलिस्कोपले ब्ल्याक होल वरिपरि देखेको अनौठो र रहस्यमय वस्तु के हो?

काठमाडौं ।

नासाको हबल स्पेस टेलिस्कोपको प्रयोग गरेर खगोलशास्त्रीहरूले चम्किलो ‘क्वासर’ चलाइरहेको एक विशाल ब्ल्याक होलको अनौठो झलक पाएका छन्।

हबलले ब्ल्याक होल वरपरको क्षेत्रको नयाँ दृश्य देखाउँदै वैज्ञानिकहरूका अनुसार त्यहाँ धेरै “अजीब कुरा” भेटिएका छन्। “हामीले विभिन्न आकारका केही धब्बा पाएका छौं र एउटा रहस्यमय L-आकारको फिलामेन्ट संरचना पनि। यी सबै ब्ल्याक होलबाट १६,००० प्रकाश वर्षको दूरीभित्र छन्,” नाइसको कोट डे अजुर अब्जरभेटरीका बिन रेनले भने।

वैज्ञानिकहरूको भनाइमा यसले आकाशगंगाका केन्द्रमा रहेका चम्किला क्वासरहरू किन यति उज्यालो हुन्छन् भन्ने बुझ्न मद्दत गर्न सक्छ।

ब्ल्याक होल के हो?

याहून्युजका अनुसार ब्ल्याक होल एक यस्तो घना वस्तु हो जसको गुरुत्वाकर्षण बल यति धेरै हुन्छ कि प्रकाशसमेत त्यसबाट उम्कन सक्दैन। ब्ल्याक होलहरू ठूलो तारा ढल्दा बन्ने गर्दछन्।

‘सुपरम्यासिभ ब्ल्याक होल’ का नामले चिनिने ठूला ब्ल्याक होलहरू प्रायः आकाशगंगाको केन्द्रमा पाइन्छन्। ब्ल्याक होलभित्र ‘इभेन्ट होराइजन’ नामक सिमाना हुन्छ, जसको भित्रबाट केही पनि बाहिर निस्कन सक्दैन। तर यो क्षेत्रको बाहिर रहेका वस्तुहरू भने टेलिस्कोपबाट देख्न सकिन्छ, र यही क्षेत्रमा हबल टेलिस्कोपले हेरेको हो।

वैज्ञानिकहरूले किन यसलाई अध्ययन गर्दैछन्?

वैज्ञानिकहरूले ‘क्वासर’ भनेर चिनिने रहस्यमय वस्तुहरूको अध्ययन गर्न चाहेका थिए।

क्वासर सक्रिय आकाशगंगाको केन्द्रमा पाइन्छ र ताराजस्तै चम्किलो देखिन्छ।

आकाशमा कम्तीमा १० लाख क्वासरहरू छरिएका छन्। ती अत्यन्तै उज्याला हुन्छन् र आकाशगंगाका सबै ताराहरूको ऊर्जा भन्दा हजारौं गुणा बढी ऊर्जा निकाल्छन्।

हबलका लागि क्वासरमा हेर्नु भनेको सिधै एकदम उज्यालो कारको हेडलाइटमा हेरेर त्यसको किनारमा रहेको एउटा कमिलालाई देख्न खोजेजस्तो हो।

नयाँ अध्ययनको विषय बनेको क्वासर थ्रीसी २७३ लाई १९६३ मा खगोलशास्त्री मार्टेन श्मिटले पहिचान गरेका थिए। यो पहिलो पटक देखिएको क्वासर हो। २.५ अर्ब प्रकाश वर्षको दूरीमा रहेको यो वस्तु तारा हुनका लागि धेरै टाढा रहेको वैज्ञानिकहरूले निष्कर्ष निकाले।

यो कल्पना गरिएभन्दा धेरै शक्तिशाली थियो यसको चमक सबभन्दा उज्यालो विशाल उपवृत्तीय आकाशगंगाहरूभन्दा १० गुणा बढी थियो।

यसले खगोलशास्त्रमा एउटा अप्रत्याशित नयाँ रहस्यको ढोका खोल्यो: यो विशाल ऊर्जा उत्पादनलाई केले शक्ति दिइरहेको थियो?

क्वासर थ्रीसी २७३  पृथ्वी नजिकका क्वासरहरूमध्ये एक हो, जुन करिब २.५ अर्ब प्रकाश वर्ष टाढा छ। यदि यो धेरै नजिक, केही दर्जन प्रकाश वर्ष टाढा मात्रै हुन्थ्यो भने, यो आकाशमा सूर्यजस्तै उज्यालो देखिने थियो।

हबलले के देख्यो?

वैज्ञानिकहरूको विश्वासलाई मान्ने हो भने अध्ययन भइरहेको क्वासर जस्तै वस्तुहरू यति चम्किला देखिन्छन् किनभने ब्ल्याक होलमा सामग्री पर्नुको कारणले ती शक्ति पाउँछन्।

अनुसन्धानकर्ताहरूको विचारमा, “अनौठा” वस्तुहरू साना आकाशगंगा हुन सक्छन्, जहाँबाट सामग्री सुपरम्यासिभ ब्ल्याक होलतर्फ तानिन्छ, जसले “लाइटहाउस” क्वासरलाई शक्ति दिन्छ।

“हबलको अवलोकन क्षमताको कारणले हामी क्वासरलाई बुझ्ने नयाँ ढोका खोल्दैछौं। मेरा सहकर्मीहरू यसअघि कहिल्यै यति धेरै विवरण देखेका थिएनन्,” रेनले भने।

हबलको नयाँ प्रस्ट तस्वीरले देखायो कि क्वासर वरपरको वातावरण पहिले सोचेभन्दा धेरै जटिल छ। तस्वीरहरूले क्वासर र सहायक आकाशगंगाहरू बीचको टकराव र गाभिन हुने प्रक्रिया देखाए, जहाँ भग्नावशेष सुपरम्यासिभ ब्ल्याक होलतर्फ झरिरहेको छ।

यस प्रक्रियाले क्वासरलाई चलाउने विशाल ब्ल्याक होललाई फेरि सक्रिय बनाउँछ।

हबलको स्पेस टेलिस्कोप इमेजिङ स्पेक्ट्रोग्राफ (एसटीआईएस) ले पूर्ण सूर्यग्रहणमा चन्द्रमाले सूर्यको चमकलाई छेकेजस्तो केन्द्रीय स्रोतहरूको प्रकाशलाई रोक्न सक्छ। यसले खगोलशास्त्रीहरूलाई ब्ल्याक होलतर्फ आठ गुणा नजिक हेर्न सघायो जुन पहिले कहिल्यै सम्भव नभएको याहून्युजले उल्लेख गरेको छ।

प्रकाशित: २७ मंसिर २०८१, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार