बालबालिकालाई डिजिटल साक्षरता तालिम दिँदै टिकटक

  • Technology Khabar | ८ मंसिर २०८१, शनिबार
बालबालिकालाई डिजिटल साक्षरता तालिम दिँदै टिकटक

काठमाडौं ।

सामाजिक सञ्जाल टिकटकले बागमती, गण्डकी र कोशी प्रदेशका सात जिल्लाका १४ स्कुलका बालबालिकालाई लक्षित गरेर डिजिटल साक्षरता चलाउन थालेको छ।

सरकारसँग टिकटकको सम्झौतापछि ‘चाइल्ड सेफ नेट’ संस्थाले फेसबुक, टिकटक, एक्स, इन्स्टाग्राम, भाइबर, ह्वाट्सएपलगायत सामाजिक सञ्जाल सचेतना तालिम दिन थालेको हो।

सरकारले टिकटकलाई डिजिटल सुरक्षा, डिजिटल साक्षरता र सार्वजनिक शिक्षाका क्षेत्रमा सहयोग गर्नुपर्ने सर्त राखेको थियो। उक्त सर्त मान्न टिकटक तयार भएपछि एक वर्षअगाडि टिकटकमाथि लगाइएको प्रतिबन्ध गत भदौ ६ गते हटाइएको थियो।

सोही सम्झौताबमोजिम टिकटकसँगको सहकार्यमा शुक्रबार ललितपुरमा १५ विद्यालयका ४० जनालाई डिजिटल साक्षरता तालिम तथा कार्यशाला चलाएको ‘चाइल्ड सेफ नेट’ का अध्यक्षले अनिल रघुवंशीले जानकारी दिए।

उनका अनुसार टिकटकसँग सम्झौता भएकाले सात जिल्लाका बालबालिकालाई लक्षित गरेर डिजिटल साक्षरता सन् २०२५ डिसेम्बरसम्म सञ्चालन गरिने छ।

“बागमतीका काठमाडौँ, ललितपुर, भक्तपुर, गण्डकीका तनहुँ र कास्की, कोशीका सुनसरी र मोरङ जिल्लाका विद्यालयका बालबालिका, अभिभावक र शिक्षकलाई डिजिटल साक्षरताका बारेमा तालिम दिइने छ,” उनले भने, “सबैभन्दा बढी जनसङ्ख्या र सामाजिक सञ्जाल प्रयोगकर्ताको सङ्ख्यालाई आधार बनाएर जिल्ला छनोट गरिएको छ। यो ‘पाइलट प्रोजेक्ट’ का रूपमा सात जिल्लामा तत्काल चलाइने छ।”

रघुवंशीले सामाजिक सञ्जालको दुरुपयोगले यौन शोषण, घृणायुक्त अभिव्यक्ति, बालविवाह, बालबालिका बेचबिखन र निजी सूचना बाहिरिए दुरुपयोग हुने गरेको बताए।

उनले भने, “अहिले धेरैले सामाजिक सञ्जाल चलाउँछन् । सुरक्षित हुने ज्ञान छैन। सरकार, स्कुल, परिवारले निषेधात्मक खालको के हो भन्ने जानकारी दिएका छैनन्। कस्ता खालका जोखिम र चुनौती छन् ? कसरी बच्न सकिन्छ भनेर तालिम र वर्कसपबाट बुझाउने छौँ।”

अध्यक्ष रघुवंशीले पब्जी, फ्री फायर जस्ता ‘गेम’ बाट हिंसात्मक कुरा बढी आएर बालबालिकाको दिमागमा असर पर्ने भएकाले त्यसबारे शिक्षक, अभिभावक र बालबालिकालाई प्रशिक्षित गराइने बताए। डिजिटल साक्षरतामार्फत जिम्मेवारीपूर्वक सामाजिक सञ्जाल कसरी चलाउने भन्नेबारे ज्ञान दिइने उनको भनाइ छ। उनले सामाजिक सञ्जाल कसैले दुरुपयोग गरेमा कहाँ कसरी उजुरी गर्ने भन्नेबारे बुझाइने बताए।

रघुवंशीका अनुसार टिकटकले १३ वर्षमुनिका बालबालिकाले टिकट अकाउन्ट खोल्न नपाउने, १६ वर्षमुनिकाले दोहोरो कुरा गर्न नमिल्ने र १८ वर्षमुनिका बालबालिकाले टिकटक लाइभ बस्न नपाउने नियम बनाएको छ।

घृणायुक्त अभिव्यक्ति टिकटकले एआईमार्फत नियमन गर्दै आएको छ। हाल टिकटकले विश्वभरबाट दैनिक २० लाखभन्दा बढी घृणायुक्त भिडियो हटाउने गरेको छ।

आजको गोरखापत्रबाट

प्रकाशित: ८ मंसिर २०८१, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Deepal Nevo Q05 launched in Nepal

  • ८ मंसिर २०८१, शनिबार

The new Box by Nammi is coming soon; launching at NADA 2026

  • ८ मंसिर २०८१, शनिबार

Fifth edition of ‘Digital Nepal Conclave 2026’ to be held this week

  • ८ मंसिर २०८१, शनिबार