‘रुद्रराजले पैसा खायो’ भन्दै दुष्प्रचार गरे, आविस्कार केन्द्रले कागज पेश नगरेर अड्किएको थियो, बल्ल स्वीकृत भयो: डीयरवाक प्रमुख पाण्डे

Technology Khabar ७ मंसिर २०८१, शुक्रबार

काठमाडौं ।

डीयरवाक फाउण्डेशनका अध्यक्ष रुद्राराज पाण्डेले ‘समाज कल्याण परिषदले महावीरको संस्थाको लागि डीयरवाक फाउण्डेशनले धेरै मेहनतले उठाएको रकम महावीरको संस्थालाई दिने’ स्वीकृति दिएको बताएका छन्।

उनले हालै आफ्नो एक्स एकाउन्टमा कटाक्षयुक्त पोस्ट राख्दै यस्तो जानकारी दिएका हुन्।

नेपाल समाज कल्याण परिषदले डीयरवाक फाउण्डेशनको विद्युतीय सवारी परिवर्तनसम्बन्धी परियोजना इलेक्ट्रिक भेइकल कन्भर्जन प्रोजेक्टको काम अगाडि बढाउन सशर्त स्वीकृति प्रदान गरेको सन्दर्भमा उनको यो पोस्ट आएको हो।

उक्त परियोजनाका लागि संस्थाले परिषद्मा परियोजना प्रस्ताव दर्ता गराएको गत असोज १५ गतेको पत्रमा दातृ संस्था डीयरवाक फाउण्डेशनका अमेरिका निवासी रुद्रराज पाण्डेको आर्थिक सहयोगमा कार्यक्रम/परियोजना सञ्चालन गर्न स्वीकृति माग गरेको थियो।

सोही पत्रमा उल्लेख भए बमोजिम परिषदले प्रस्तावित कार्यक्रम परियोजना कार्यान्वयन गर्दा सम्बन्धित स्थानीय निकाय/तहसँग समन्वय र सहकार्यमा गर्ने, कार्यक्रम परियोजना प्रगति प्रतिवेदन ४/४ महिनाको आय व्यय विवरण, लेखापरीक्षण प्रतिवेदन वार्षिक रुपमा परिषद् लगायत सम्बन्धित निकायमा पेश गर्नु पर्ने एवं कार्यक्रम संचालन गर्नु पूर्व सम्बन्धित जिल्ला समन्वय समिति, नगरपालिका गाउँपालिकामा परियोजना प्रस्ताव उपलब्ध गराउनु पर्ने गरी स्वीकृत गरेको हो।

उक्त प्रस्तावित कार्यक्रम परियोजना इलेक्ट्रिक भेइकल कन्भर्जन प्रोजेक्ट सञ्चालन गर्न गत मंसीर ४ को सदस्य सचिव स्तरीय निर्णयानुसार स्वीकृति प्रदान गरिएको परिषदले पत्रमा खुलाएको छ।

इलेक्ट्रिक भेइकल कन्भर्जन प्रोजेक्ट नामक उक्त परियोजनाका लागि डीयरवाक फाउण्डेशनका तर्फबाट रुद्रराज पाण्डेले २३ लाख ९ हजार २४ रुपैयाँ वैदेशिक सहयोगमार्फत उपलब्ध गराउनेछन्।

यो परियोजना २०८१ कार्तिक १ गतेदेखि शुरु भएर २०८२ असार मसान्तसम्म चल्नेछ भने यसको कार्यक्षेत्र काठमाडौं जिल्ला रहने पत्रमा उल्लेख गरिएको छ।

उनले यसअघि उक्त रकम राष्ट्रिय आविस्कार केन्द्रमा पठाउनका लागि केन्द्रको आधिकारिक कागजात माग्दा केन्द्रका अध्यक्ष पुनले कागजपत्र उपलब्ध नगराएकोले परिषदले अनुमति दिन ४ वर्ष लगाएको उल्लेख गरेका छन्।

उनले महाबीर पुनले ‘रुद्रराजले पैसा खायो’ भन्दै दुष्प्रचार गरेको उल्लेख गर्दै र उनले आफ्नो नेपालमा कुनै आविष्कारका लागि नभई ‘जीवनयापनका लागि आविस्कार केन्द्र खोलेको’ आरोपसमेत लगाएका छन्।

“रुद्र पाण्डेले पैसा खायो” भन्दै हिडे। ख़ासमा उनकै कारणले पैसा समाज कल्याण परिषदले रोकेको थियो। समाज कल्याणको निर्देशन अनुरूप बैंकले महाबीरको संस्थाको खातामा ट्रान्सफ़र ग़र्नेछ। तर महाबीरले आबिष्कार गरेर नेपालमा बन्न चै सियो पनि बन्नदैन है। उनको काम आबिष्कारको नाममा आफ्नो जीवनोपार्जन गर्नु मात्र रेछ।’, एक्समा उल्लेख छ।

प्रकाशित: ७ मंसिर २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया