Technology Khabar १९ भाद्र २०८१, बुधबार
काठमाडौं ।
हिजो अर्थात् मंगलबार काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको एउटा फेसबुक स्ट्याटस फेसबुकले हटाइदियो। धेरै मानिसहरूले रिपोर्ट गरेपछि फेसबुकले आफैँले मेयरको पेजको स्ट्याटस हटाइदिएको उनकै सचिवालयले जानकारी पनि दियो।
मेयर शाहको हटाइएको उक्त स्ट्याटस रिकभर गर्ने प्रयास भइरहेको पनि जानकारी आयो। यसरी एउटा जिम्मेवार पदमा रहेका उच्च पदस्थ व्यक्तिले सामाजिक सञ्जालमा त्यस्तो के ‘नचाहिँदो’ लेखे जसका कारण धेरेभन्दा धेरै जनाले रिपोर्ट गर्नुपर्यो र त्यही सामाजिक सञ्जालले पनि त्यसलाई हटाउनु पर्यो?
काठमाडौंका मेयरले त्यस्तो ‘महत्वपूर्ण’ र ‘अत्यावश्यक’ के लेखेका थिए जसका कारण मूल कम्पनीले हटाएको सोही स्टाटस रिकभर गर्न लागिपरिरहेका छन्? यो प्रश्न सोचनीय देखिन्छ
यस्तो छ मेयर शाहले फेसबुकमा राखेको स्टाटस
मेयर शाहले फेसबुक पेजबाट आइतबार नेकपा (एमाले) लुम्बिनी प्रदेशकी सांसद रेखा शर्माको फोटो सहित उनले बालशोषण गरेको भन्दै यस प्रकारको स्ट्याटस राखेका थिए:
‘उहाँ हुनुहुन्छ नेकपा एमालेकी प्रदेश सांसद रेखा शर्मा, उहाँले विगत ८ वर्षदेखि बन्दी बनाएर, एक जना नबालिकालाई घरेलु कामदारको नाममा हिंसा गर्दै आउनुभएको छ, दैनिक रूपमा कुटपिट गर्दै आउनु भएको छ। काठमाडौँ महानगरले विगत २ महिनादेखि कारबाही अगाडि बढाउनु भन्दा पनि यो सरकारले समाएको छैन। अदालतले पनि मुद्दा चलाऊ भनेर भनिसकेको छ। सम्माननीय प्रधानमन्त्री खड्गप्रसाद ओलीज्यू,सुशासन भनेको अदालतले नि समाऊ भनेको तपाईंको सांसद रेखा शर्मा जसलाई बाल शोषण गरेको मुद्दा छ समाउनलाई भन्दछ। सायद तपाईंको लागि सुशासनको अर्थ सो बालिकाको मृत्युपछि गोहीको आँसु चुहाएर फेसबुकमा समवेदना दिँदै एक लाख घोषणा गर्नु नै होला। कहिले समाउने ? कि नसमाउने ?,’
यो स्टाटसमा धेरैजनाले रिपोर्ट गरेपछि फेसबुकले हटाइदिएको उनकै सचिवालयले बताए पनि मेयर शाह भने फेसबुकले नभई आफ्नो पार्टी र पार्टी पदाधिकारीको नाम जोडिएकोले सरकारले नै हटाउन लगाएको मेयर बालेन शाहको सामाजिक सञ्जालहरुमा आएका अन्य पोस्टहरुले झल्काउँछन्।
फेसबुकको पोस्ट हटेपछि बालेन शाहले फेरि अर्को काउन्टरपोस्ट लेखे:
‘पोस्ट उडाउने हैन, दोषी समाउ सरकार । म गलत हो भने मलाई समाउ, हैन भने दोषी समाउ।’
उनको यो काउन्टर स्टाटसले उनको अघिल्लो पोस्ट फेसबुकले नभई सरकारले नै हटाउन लगाएको भन्नेतिर इंगित गरेको छ। यसबाहेक यो स्टाटसमार्फत् मेयर शाहले गल्ती जोसुकैले गरे पनि दण्डको भागीदार हुनुपर्ने र पार्टी वा हैसियतका आधारमा नियम कानून उल्लङ्घन गर्ने आफैं भए पनि उन्मुक्ति दिन नहुने अडान राखेका छन्।

यस हिसाबले हेर्दा उनको अघिल्लो स्टाटस कुनै लहडमा आएको नभई सत्यतथ्यमा आधारित रहेको थियो भन्ने इंगित गरेको छ। यसै हिसाबले पनि उनले उक्त स्टाटस रिकभर गर्न खोजेको देखिन्छ।
सामाजिक सञ्जालमा आएको यस प्रकारको स्टाटसबारे सरकारका तर्फबाट भने औपचारिक रुपमा कुनै प्रतिक्रिया आएको छैन। तर यो पोस्ट हटाइएपछि प्रधानमन्त्री केपी ओलीको सामाजिक सञ्जालका फलोअरहरु उल्लेख्य मात्रामा घटेका छन्।
प्रकाशित: १९ भाद्र २०८१, बुधबार