टिकटक ‘फिल्टरेसन’ र ‘मोडरेसन’ गर्दा दुई-तीन सय युवाले रोजगार पाउँछन्: मन्त्री गुरुङ

  • Technology Khabar | १३ भाद्र २०८१, बिहीबार
टिकटक ‘फिल्टरेसन’ र ‘मोडरेसन’ गर्दा दुई-तीन सय युवाले रोजगार पाउँछन्: मन्त्री गुरुङ
File Photo

काठमाडौं ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले अरू मुलुकको तुलनामा नेपालको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता खुला र उदारवादी रहेको बताएका छन्।

आज गरिएको कुराकानीमा मन्त्री गुरुङले अन्तर्राष्ट्रिय समाचार माध्यमको अवस्था दर्शाउँदै बहुलवादी खुला समाज अङ्गीकार गरेको नेपालमा प्रेस स्वतन्त्रता बलियो रहेको धारणा राखे। “सार्क क्षेत्रमै हेर्ने हो भने हाम्रो देशको प्रेस निकै लोकतान्त्रिक र खुला छ”, उनले भने, “प्रेसको यो गरिमा जोगाई राख्न मर्यादित र व्यवस्थित नीति ल्याउन आवश्यक छ ।”

सिङ्गापुर र मलेसिया जस्ता विकसित मुलुकमा समेत सीमित सञ्चारमाध्यम सञ्चालित रहेको उल्लेख गर्दै मन्त्री गुरुङले नेपालको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई मर्यादित र व्यवस्थित बनाउन सरकारले गृहकार्य सुरु गरेको जानकारी दिए।

यसै अनुरुप यही भदौ ९ गते बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिबन्धित ‘टिकटक प्लेटफर्म’ सञ्चालन गर्ने निर्णय गरेको उनको भनाइ थियो ।

सामाजिक सञ्जाल पछिल्लो समय युवाको रोजगारको केन्द्र बनेकाले प्रतिबन्ध लगाउनु उचित नरहेको मन्त्री गुरुङले बताए। यद्यपि आवश्यक नियमन भने जरुरी रहेकाले निश्चित सर्त पूरा गरेर मात्रै ‘टिकटक’ सञ्चालन गर्न पाउने निर्णय गरिएको उनको भनाइ थियो।

सामाजिक सञ्जाल सञ्चालन निर्देशिका, २०८० को दफा ३ मा उल्लेख गरिएको टिकटक प्रयोगकर्ता वा कम्पनीले दर्ता गर्नुपर्ने, दफा ६ अनुुसार प्रयोगकर्ताको प्वाइन्ट अफ कन्ट्याक (सम्पर्क केन्द्र) तोक्नुपर्नेलगायत सर्त पालना गर्नुपर्छ।

मन्त्री गुरुङले टिकटक प्रतिनिधिलाई ‘पर्यटन प्रवर्द्धन’, ‘डिजिटल सेक्युरिटी’, ‘डिजिटल लिट्रेसी’, ‘पब्लिक एजुकेसन’का लागि सहयोग गर्नुपर्ने प्रस्तावमा सहमति भएको बताए।

“सामाजिक दूर्भावना फैलाउने अश्लील, अमर्यादित खालका विषयभित्र रहेका शब्द, वाक्यको अङ्ग्रेजी, नेपाली, नेपाल राष्ट्र भाषाहरुमा समेत ‘फिल्टरेसन’ र ‘मोडरेसन’ गर्नुपर्छ भनेका छौं”, उनले भने, “यसले झन्डै दुई-तीन सय युवाले रोजगार पाउँछन् भने व्यवस्थित सामाजिक सञ्जाल बन्न सघाउँछ।” रासस

प्रकाशित: १३ भाद्र २०८१, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

डिजिटल नेपाल कन्क्लेभ २०२६ आयोजना हुँदै

  • Technology Khabar
  • १३ भाद्र २०८१, बिहीबार