सूचना प्रविधिलाई सर्वसाधारणले बुझ्ने गरी अगाडि बढाइनुपर्नेमा सञ्चारमन्त्री शर्माको जोड

Technology Khabar २७ असार २०८१, बिहीबार

काठमाडौं ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधिलाई सर्वसाधारणले बुझ्ने गरी अगाडि बढाउनुपर्ने बताएकी छन्। नेपाल दूरसञ्चार प्राधिकरण र त्रिभुवन विश्वविद्यालय इञ्जिनीयरिङ अध्ययनसंस्थानद्वारा संयुक्त रुपमा आज यहाँ आयोजित ‘सेन्टर अफ एक्सिलेन्स फर आइसिटी रिसर्च एण्ड डेभलपमेन्ट’को उद्घाटन गर्दै उनले सूचना प्रविधिको वर्तमान युगमा यसको विकास नेपाली जनताले बुझ्ने र प्रयोग गर्ने भाषामा हुनुपर्ने बताइन्।

“नेपाल सरकारले आइसिटीको महत्वलाई बुझेर विकासका लागि धेरै काम गरेको छ, यसलाई अभियानका रुपमा विकास गरिनुपर्छ, सर्वसाधारणले बुझ्ने गरी सूचना प्रविधिलाई अगाडि बढाइनुपर्छ, यस वर्षको बजेटमा पनि आर्थिक समृद्धिका पाँच रणनीतिक क्षेत्रभित्र सूचना प्रविधिलाई समेटिएको छ, १६औं पञ्चवर्षीय योजनामा समेत आइसिटीलाई समेटिएको छ, बजेटमा कृषि दशक र आइसिटी दशक घोषणा भएको छ। उच्च क्षमताको इन्टरनेट उपलब्ध गराएर युवालाई अनुसन्धानमा सहयोग गर्नुपर्छ”, मन्त्री शर्माले भनिन्।

चालु आर्थिक वर्षमा सातै प्रदेशमा डिजिटल साक्षरताका कार्यक्रम राखिएको भए पनि सञ्चालन हुन नसकेको उल्लेख गर्दै मन्त्री शर्माले उक्त कार्यक्रम आगामी आर्थिक वर्षमा सञ्चालन हुने विश्वास व्यक्त गरिन्। उनले त्रिभुवन विश्वविद्यालय इञ्जिनीयरिङ अध्ययन संस्थान देश र विदेशमा चिनिएको संस्था भएको उल्लेख गर्दै दूरसञ्चार प्राधिकरणसँगको सहकार्यमा सञ्चालित उक्त कार्यक्रम सफल पार्न संस्थानको भूमिका महत्वपूर्ण हुने बताइन्।

“विश्वविद्यालयबाट तयार भएका जनशक्ति र उद्योगलाई कसरी जोड्ने भन्ने चुनौती छ, आईसिटीको विकासले विदेशिनुपर्ने बाध्यता हट्ने छ, विश्वभर प्रतिस्पर्धा गर्न सक्छौँ, देशको सूचना प्रविधिको क्षेत्रमा नयाँ आयाम थप्ने माध्यमको रुपमा संस्थान सफल हुनेछ”, मन्त्री शर्माले भनिन्।

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा डा केशरजङ्ग बरालले आइसिटी क्षेत्रको विकासका लागि सरकार, विश्वविद्यालय र इञ्जिनीयरिङ अध्ययन संस्थानसँगसँगै जानुपर्नेमा जोड दिए। “सामाजिक र गुणस्तरीय जीवनका लागि उपयोगी हुनेगरी आइसिटी क्षेत्रको अनुसन्धान र नवप्रवर्तनमा ध्यान दिनुपर्ने छ, यसमा यो कार्यक्रम सफल हुनेछ भन्ने विश्वास छ”, उनले भने।

नेपाल इञ्जिीनयरिङ अध्ययन संस्थानका डीन प्रा डा शशीधरराम जोशीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विद्यार्थीको आकर्षण बढाउन इञ्जिनीयरिङ अध्ययन संस्थानले सामसुङ कम्पनी, क्यानाडाको आइटी कम्पनीसहित अन्य देशका आइटी कम्पनीसँग सम्झौता गरेर काम गरिरहेको बताए।

क्याम्पस प्रमुख प्रा डा इन्द्रप्रसाद आचार्यले  निरन्तर अध्ययन र अनुसन्धानका लागि दूरसञ्चार प्राधिकरणबाट सहयोग प्राप्त भएको बताए।

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भूपेन्द्र भण्डारीले अध्ययन अनुसन्धानबाट प्राप्त उपलब्धिले देशलाई महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे। उनले यस सहकार्यबाट नेपाल सरकारलाई डिजिटल प्रशासन सञ्चालन गर्न समेत सहयोग पुग्ने बताए।

केन्द्रको कार्यहरु

इलेक्ट्रोनिक्स तथा कम्प्युटर इन्जिनियरिङ बिभाग, पुल्चोक क्याम्पसमा स्थापना गरिएको सो अनुसन्धान केन्द्र संचालन र क्षमता वृद्धिका लागि दूरसंचार प्राधिकरण र इन्जिनियरिङ अध्ययन संस्थान बिच २०८० पुस २३ गते समझदारी पत्रमा हस्ताक्षर भएको थियो।

केन्द्रले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा क्षमता निर्माण तथा अभिवृद्धि गर्न, प्रविधिको विकाश तथा डिजिटल इकोनोमीको लागि योगदान पुर्याउने जनाइएको छ। साथै यसले नेपालको डिजिटल रुपन्तरणमा अहम् भूमिका निर्वाह गर्ने उल्लेख गरिएको छ।

सेन्टर अफ एक्सिलेन्सले गर्ने मुख्य मुख्य कार्यहरुः

१. सपोर्ट कन्टिन्युस रिसर्च एण्ड डेभलपमेन्ट (एससीआरडी)
सम्भावित अनुसन्धान र परियोजनाहरूको सूची

क. एमएससी र पीएचडी विद्यार्थीहरूको लागि निम्न क्षेत्रहरूमा अनुसन्धान र शोध प्रबंधको लागि कोष समर्थन प्रदान।
टेलिकम्युनिकेशन/आईसीटी पोलिसी रिसर्च (दूरसंचार/आईसीटी नीति अनुसन्धान)।
एप्लाइड रिसर्च एण्ड डेभलपमेन्ट (लागू अनुसन्धान र विकास)
कन्टेक्चुअल रिसर्च एण्ड प्रोजेक्ट एक्टिभिटीज (प्रासंगिक अनुसन्धान र परियोजना गतिविधिहरू)।

ख. डेभलप स्ट्राटिजिस एण्ड सोलुशन फर इमर्जेन्सी कम्युनिकेशन।

२. एड–हक रिसर्च
सम्भावित अनुसन्धान र परियोजनाहरूको सूची-

क. प्रतिबन्ध र डिस्पोजल नीतिहरू तर्जुमा गर्न विभिन्न प्रकारका मोबाइल र ल्यापटप ब्याट्रीहरूको वातावरणीय प्रभावहरूको अध्ययन।
ख. सुन्नमा कठिनाइ भएका मानिसहरूका लागि भिडियो रिले सेवाको विकास।
ग. पुल्चोक रोबोटिक्स क्लबको सहकार्यमा एआई सक्षम रोबोट डेभलपमेन्ट प्रोजेक्ट।
घ. पेशेवरहरू र जनताका लागि साइबर सुरक्षा र अन्य सचेतना भिडियोहरू।
ङ. आईओई विद्यार्थीहरूमा मोबाइल पुनः प्रयोग प्रतियोगिता, पुरस्कार, शीर्ष २० को लागि सानो परियोजना कोष समर्थन र शीर्ष १० र शीर्ष ५ इन्क्युबेशनका लागि प्रमुख परियोजना कोष समर्थन।
च. कर्मचारीहरूको व्यक्तिगत ह्यान्डहेल्ड उपकरणमा आधिकारिक सूचना वितरणको लागि एप।
छ. सुशासन र डिजिटलाइजेशनका लागि एआईआई।

३. क्यापासिटी बिल्डिङ्ग

क. पेशेवरहरूको लागि प्रविधि प्रशिक्षण।
– नेटवर्क र विभिन्न सरोकारवालाहरूका लागि साइबर सुरक्षा क्षमता निर्माण कार्यक्रमहरू।
ख. सर्वसाधारणका लागि जनचेतनामूलक र शैक्षिक तालिम।
स्थानीय तहका लागि साइबर सुरक्षा तालिम कार्यक्रमहरू।
डिजिटल समावेशीकरणका लागि कार्यक्रम विकास र कार्यान्वयन गर्ने।
ग. प्रशिक्षकहरुको तालिम।
स्कूल र कलेज शिक्षकहरूको लागि साइबर सुरक्षा प्रशिक्षण कार्यक्रमहरू।

प्रकाशित: २७ असार २०८१, बिहीबार

तपाइको प्रतिक्रिया