
काठमाडौं ।
दक्षिण कोरिया दूतावासको भिसा लिने समय बेचेर ठगी गर्ने आठ जना पक्राउ परेका छन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले बुधबार भोजपुरको पौवादुङ्मा–५ का दीपेन्द्र राई, नवलपुरको देवचुली–१२ का पवन काफ्ले, कावासोती–८ का सङ्घर्ष ढकाल, काठमाडौँ कलङ्कीका नवीन पौडेल, पोखरा–९ का समेश शेरचन र गोरखाको चुमनुब्री का–७ का छिरिङ निमा लामा रहेको जनाएको छ। पक्राउ पर्ने अन्य दुई जनाको नाम प्रहरीले खुलाएको छैन।
सिआइबीका प्रवक्ता होविन्द्र बोगटीले दक्षिण कोरियालगायत अन्य मुलुकका नेपालस्थित दूतावासले जारी गर्ने ‘अनलाइन भिसा डेटलाई पहिल्यै बुक गरी विभिन्न कन्सल्टेन्सीका एजेन्टले पहिले नै बुक गरेर समय सर्वसाधारणलाई महँगो रकममा बेच्ने गरेको पाइएपछि उनीहरूलाई पक्राउ गरिएको जानकारी दिए।
प्रहरीको अनुसन्धानबाट अनलाइनमार्फत भिसाको ‘डेट होल्ड’ गर्ने र अन्तर्वार्ताका लागि डेट नपाउनेलाई प्रतिव्यक्ति ३० हजार रुपियाँका दरले बेच्ने गरेको पाइएको छ। ३० हजार रुपियाँ तिर्दा भिसाको डेट पाएको तर भिसा नपाएको गुनासो दूतावासमा आएपछि दूतावासले सिआइबीलाई जानकारी गराएको थियो ।
दूतावासको पत्रपछि सिआइबीले यसबारे अनुसन्धान सुरु गर्दा पक्राउ परेका मध्ये पवन इनोभा कन्सल्टेन्सी, सङ्घर्ष युनिभा, नवीन यति सर्भिस कन्सल्टेन्सी, सुमेस नोभा कन्सल्टेन्सी र छिरिङ यति सर्भिस कन्सल्टेन्सी यस कार्यमा आबद्ध रहेको पाइएको खुलेको छ। गोरखापत्रबाट
प्रकाशित: २० असार २०८१, बिहीबार