Technology Khabar ५ असार २०८१, बुधबार
काठमाडौं ।
भैरहवाको उखरमाउलो गर्मीमा ज्येष्ठ नागरिकले राष्ट्रिय परिचयपत्र बनाउन निकै सास्ती खेप्नु परेको छ। भैरहवाको तापक्रम केही दिनयता ४२ डिग्री भन्दा माथि छ। जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा भने राष्ट्रिय परिचयपत्र बनाउन ९० वर्षसम्मका वृद्धवृद्धा पसिना चुहाउँदै लाममा बस्नु परेको छ।
सरकारले सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालयमा वृद्धवृद्धाको भिड लाग्ने गरेको छ।
चर्को गर्मीमा घण्टौँ लाइन बस्नु पर्दा ज्येष्ठ नागरिकलाई निकै सास्ती भएको देवदहबाट ९० वर्षीय बुवाको राष्ट्रिय परिचयपत्र बनाउन आएकी चुमकला बस्यालको भनाइ छ। वृद्धवृद्धाको सहज हुने गरी वडा कार्यालयबाटै परिचयपत्र बनाउने कामको थालनी गर्नुपर्ने उनको सुझाव छ।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा पछिल्लो एक सातायता सेवाग्राहीको भिड बढेको छ । भिड बढेपछि कार्यालयले बिहान ८ बजेदेखि नै सेवा सुरु गरेको सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालको भनाइ छ ।
जिल्ला प्रशासन कार्यालयले भने सेवाप्रवाहलाई चुस्त बनाउन तथा सकेसम्म एकै दिनमा सेवा दिने गरी काम अगाडि बढाइएको अर्यालले जानकारी दिए।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीले सेवाग्राहीको सहजताका लागि काम गरे पनि ९० वर्षसम्मका ज्येष्ठ नागरिक दिउँसो १२ बजेको चर्को घाममा पनि पालो पर्खिएर परिचयपत्र बनाउन बाध्य छन्। पालो लगाउन बिहान ७ बजे नै जिल्ला प्रशासन कार्यालयमा पुगे पनि कतिपय सेवाग्राहीले भने कागजात नपुगेको भन्दै फिर्ता हुनु परेको गुनासो गरेका छन्।
जेठ असारमा तराईको टन्टलापुर घाममा खुला आकाशमुनि घण्टौँ लाममा उभिएर पालो पर्खिंदा चक्कर लागेर ढल्ने अवस्थामा पुगेको तिलोत्तमा नगरपालिका–२ का तीर्थराज पौडेलको भनाइ छ। उनले सरकारले वृद्धवृद्धाको सहजताका लागि काम गर्नुपर्नेमा दुःख दिने खालका कार्यक्रम ल्याएको भन्दै आक्रोश पोखे।
राष्ट्रिय परिचयपत्र बनाउन आएका अधिकांशले राष्ट्रिय परिचयपत्र पालिकास्तरबाट सहज रूपमा प्रदान गरिनुपर्ने माग गरेका छन्।
सिद्धार्थनगर नगरपालिकाका पूर्वउपप्रमुख उमा काफ्लेले ज्येष्ठ नागरिकको सहजताका लागि स्थानीय सरकारको समन्वयमा राष्ट्रिय परिचयपत्र बनाउनुपर्नेमा जोड दिईन्। उनले ज्येष्ठ नागरिकको हितलाई ध्यानमा राखेर सरकारले काम गर्नुपर्ने बताए।
जिल्ला प्रशासन कार्यालय तथा इलाका प्रशासन कार्यालयबाट गरी दैनिक साढे तीन सयभन्दा बढी परिचयपत्र बन्ने गरेका छन् तर साउनभित्रै सबै ज्येष्ठ नागरिकलाई राष्ट्रिय परिचयपत्रमार्फत सामाजिक सुरक्षा भत्ता दिने तयारी गरेपछि परिचयपत्र बनाउनेको भिड बढेको हो। गोरखापत्रबाट
प्रकाशित: ५ असार २०८१, बुधबार