ब्रोडब्यान्ड इन्टरनेट सेवाको पहुँच सबै स्थानीय तहको केन्द्रसम्म

Technology Khabar १३ जेष्ठ २०८१, आईतवार

काठमाडौं ।

सरकारले हाल ब्रोडब्यान्ड इन्टरनेट सेवाको पहुँच सबै स्थानीय तहको केन्द्रसम्म पुर्याएको छ। प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री वर्षमान पुनले आर्थिक सर्वेक्षण २०८०/८१ प्रस्तुत गर्दै ब्रोडब्यान्ड इन्टरनेट सेवा स्थानीय तहका पाँच हजार नौ सय ५१ वडा केन्द्रमा विस्तार गरिएको जानकारी दिए।

त्यसैगरी, चार हजार दुई सय ७२ स्वास्थ्य केन्द्र र पाँच हजार तीन सय ४१ सामुदायिक माध्यमिक विद्यालयमा समेत ब्रोडब्यान्ड इन्टरनेट सेवा विस्तार भएको छ ।

सबै सरकारी कार्यालयको वेबसाइटमा एकरुपता कायम गर्न वेबसाइटको साझा ढाँचा निर्माण गर्नाका साथै हालसम्म सो प्रणालीमा दुई सय ६३ निकाय आबद्ध भई ६३ निकायले वेबसाइट लाइभ गरेको सरकारले जनाएको छ ।

२०८० फागुनसम्म सरकारी क्लाउडमा रहेका तीन सय ४० सरकारी निकायमा सूचना प्रविधि प्रणाली उपयोगका लागि आठ सय ३८ भर्चुअल मेसिन सञ्चालन रहेको आर्थिक सर्वेक्षणमा उल्लेख गरिएको छ ।

२०८० फागुन महिनासम्ममा दैनिक सात सय ६५, अर्धसाप्ताहिक ३९, साप्तिाहिक दुई हजार नौ सय ८५ र अन्य दैनिक सात सय ९३, अर्धसाप्ताहिक ४०, साप्ताहिक दुई हजार नौ सय ७५ र अन्य चार हजार एक सय ३६ गरी जम्मा सात हजार नौ सय ४४ पत्रपत्रिका दर्ता भएको पनि सर्वेक्षणमा उल्लेख छ ।

भाषागत रुपमा हालसम्म सात हजार नौ सय ९७ पत्रपत्रिका दर्ता भएका छन् र दर्ता भएका पत्रपत्रिकामध्ये नेपालीभाषाका सबैभन्दा बढी पाँच हजार तीन सय ७६ र राई भाषाका सबैभन्दा कम दुई रहेका छन् । कतार एयरवेज र सिङ्गापुर एयरलाइन्ससँग २८ देशमा अन्तर्राष्ट्रिय डाँक ढुवानीका लागि सम्झैता भई ढुवानी कार्य भइरहेको छ। द्रूतडाँक सेवा हालसम्म ४४ जिल्लाको ६५ स्थानमा विस्तार भएको छ।

अन्तर्राष्ट्रिय हवाई द्रूतडाँक सेवा हालसम्म ३९ देशमा विस्तार भएको छ । रेडियो नेपालको पहुँच ९३.० प्रतिशत जनसङ्ख्यामा पुगेको छ । रेडियो नेपालको प्रसारण क्षमता विस्तारको लागि चालु आर्थिक वर्षको फागुनसम्म जुम्दला, रुकुमपश्चिम र मुस्ताङमा रिले एफएम स्थापना भएसँगै रिले एफएम केन्द्रको सङ्ख्या ३२ पुगेको छ । अवलम्बन गरेको समावेशी नीतिअनुरुप रेडियो नेपालबाट विभिन्न ३२ भाषामा समाचार र २१ भाषामा कार्यक्रम प्रसारण हुँदै आएको छ । हालसम्म नियमित प्रसारणमा रहेका एफएम र टेलिभिजनको सङ्ख्या क्रमशः सात सय २० र एक सय ६ रहेको छ । रासस

प्रकाशित: १३ जेष्ठ २०८१, आईतवार

तपाइको प्रतिक्रिया