विकल पौडेललाई सुरक्षण मुद्रण केन्द्रको मुद्दामा २ वर्ष कैद र २५ करोड जरिवाना, पाँच जनाले पाए सफाई

Technology Khabar ८ जेष्ठ २०८१, मंगलवार

काठमाडौं ।

सुरक्षण मुद्रण केन्द्रका तत्कालिन कार्यकारी निर्देशक विकल पौडेललाई भ्रष्टाचारको मुद्दामा विशेष अदालतले दोषी ठहर गरेको छ।

विशेष अदालतका न्यायाधिश टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले आज फैसला गर्दै उनलाई २ वर्ष कैद र २५ करोड ४७ लाख १ हजार ६८ रूपैयाँ विगो भराउने फैसला गरेको छ। उनलाई त्यति नै रकम जरिवाना हुने फैसला पनि गरेको छ।

यसअघि, अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सामान खरिदमा भ्रष्टाचार गरेको अभियोग लगाउँदै २०८० वैशाख ३ गते पौडेलसहित नौजना विरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

उनीहरुका विरुद्ध सुरक्षण मुद्रण केन्द्रले पावर सिस्टम इन सेक्यूरिटी प्रिन्टिङ्ग प्रेस एण्ड प्रेसराइज्ड फ्यूल स्टोरेज ट्यांक (Power System in Security Printing Press and Pressurized Fuel Storage Tank) को खरिद कार्यमा बदनियतपूर्वक मिलोमतो गरी कमिसन लिएर ठेक्का प्राप्त गरी कार्य गरेको हुँदा बोलपत्र ठेक्का सम्झौता तथा भुक्तानी प्रकरणमा मुद्दा दायर भएको थियो।

अख्तियारकाअनुसार सो सम्बन्धमा अनुसन्धान हुँदा उक्त खरिद कार्यमा अस्वाभाविक लागत अनुमान तयार गरी स्वीकृत गर्ने, खरिद सम्झौताविपरीत गुणस्तरहीन इलेक्ट्रोनिक ट्रान्सफर स्वीकार गर्ने, सम्झौतामा उल्लेख भएभन्दा फरक कन्ट्रि अफ ओरिजिन भएको जेनेरेटर स्वीकार गरी भुक्तानी गर्ने, खरिद सम्झौता बमोजिम कामै नगरी संरचना संचालनवापत र आपूर्ति पछिको सेवावापत अग्रीम तवरमा बढी भुक्तानी दिने र आवश्यकता नै नरहेको र औचित्य पुष्टि हुन नसक्ने बल्क फ्यूल ट्यांक सिस्टमको खरिद गर्ने कार्य गरी नेपाल सरकारको सम्पत्ति गैरकानूनी तवरले हानिनोक्सानी तथा सरकारी रकम दुरुपयोग गरी सुरक्षण मुद्रणको लागि आवश्यक विद्युतीय पूर्वाधार खरिदमा भ्रष्टाचार गरेको पुष्टि भएको अख्तियारको दाबी थियो।

सोही मुद्दामा आज पौडेललाई अदालतले दुई वर्ष कैद र दामासाहीले हुन आउने बिगो २५ करोड ४७ लाख १ हजार ६८ रूपैयाँ जरिवाना भराउन आदेश दिएको हो।

उनीसहित नवीनकुमार पोखरेल, रोहितमान प्रधान र भुवन महर्जनलाई पनि भ्रष्टाचारी ठहर गरिएको छ। अदालतले पोखरेललाई ६ महिना कैद र ५ करोड ८४ लाख ५५ हजार १५९ रूपैयाँ जरिवाना दामासाहीसहित भराउन भनेको छ।

अदालतले प्रधानलाई ५ करोड ८४ लाख जरिवाना गरेको छ भने महर्जनलाई ५ करोड ७९ लाख रुपैयाँ जरिवाना भएको छ।

सो मुद्दामा आरोपित रहेका रमेशप्रसाद पोखरेल, मनिकमान महर्जन, शिरिष उपाध्याय र मित्रलाल पुरीले सफाइ पाएका छन्।

प्रकाशित: ८ जेष्ठ २०८१, मंगलवार

तपाइको प्रतिक्रिया