दूरसञ्चार प्राधिकरणमा सिपको कमी रहेको पूर्व अध्यक्ष पुडासैनीको टिप्पणी

Technology Khabar ४ जेष्ठ २०८१, शुक्रबार

काठमाडौं ।

नेपाल दूरसञ्चार प्राधिकरणका पूर्व अध्यक्ष सुरेश पुडासैनीले दूरसञ्चार प्राधिकरणमा सिपको कमी रहेको बताएका छन्।

विश्व दूरसञ्चार तथा सूचना समाज दिवसको अवसरमा नेपाल दूरसञ्चार प्राधिकरणले आयोजना गरेको दूरसञ्चार सम्मेलनमा पूर्व अध्यक्ष पुडासैनीले प्राधिकरणमा सिपको कमी रहेको रहेको टिप्पणी गरेका हुन्। उनले अहिलेको दूरसञ्चार प्राधिकरण नेतृत्वमा अनुभव नभएको घुमाउरो भाषामा बताए।

‘म प्राधिकरणको दोस्रो अध्यक्ष हुँदा चार जना विज्ञ थिए। उनीहरुको विभिन्न क्षेत्रमा लामो अनुभव थियो। उनीहरु मेरा सल्लाहकार थिए,’ पुडासैनीले भने, ‘अहिले प्राधिकरण अध्यक्षका लागि कुनै सल्लाहकार छैनन्।’

सल्लाहकार नहुँदा विगत लामो समयदेखि प्राधिकरणमा सिपको कमी देखिएको छ।

साथै उनले मन्त्रालयले प्राधिकरणलाई हेर्ने दृष्टिकोण पनि बदल्न आवश्यक रहेको बताए।

‘प्राधिकरण मन्त्रालय मातहको विभाग हैन,’ पुडासैनीले भने, ‘मन्त्रालयले प्राधिकरणको अध्यक्षलाई कुनै एक विभागको सहसचिव जस्तो व्यवहार गरिरहेको छ।’

प्राधिकरणको अध्यक्षलाई राष्ट्र बैंकको गभर्नर जस्तै हैसियत प्रदन गर्नुपर्ने उनको माग छ। वित्तीय क्षेत्रमा गभर्नर जिम्मेवार रहन्छन् भने टेलिकम क्षेत्रमा प्राधिकरण अध्यक्ष जिम्मेवार हुनुपर्छ।

टेलिकम र इन्टरनेट सेवा प्रदायकका समस्याहरु सम्बोधन गर्न तर्फ पनि प्राधिकरणलाई ध्यान दिन उनले सुझाए। यस्तै प्राधिकरणले दिएको सेवा सुविधा उपयोग गरेर सेवा प्रदायकसँग लाइसेन्स, राजस्व मात्र संकलन गर्ने मात्रै अध्यक्षको जिम्मेवारी नभएको उनले स्मरण गराए।

प्रकाशित: ४ जेष्ठ २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया