Technology Khabar २७ चैत्र २०८०, मंगलवार
काठमाडौं ।
नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भुपेन्द्र भण्डारीले दुर्गम क्षेत्रमा मात्र नभएर शहरी क्षेत्रमा पनि दूरसञ्चार सेवामा विभाजन रहेको टिप्पणी गरेका छन्। प्रविधि पत्रकार मञ्चले काठमाडौंमा आयोजना गरेको अन्तक्रियामा प्राधिकरणका अध्यक्ष भण्डारीले यस्तो टिप्पणी गरेका हुन्।
‘हामी सँधै दुर्गम क्षेत्रमा गुणस्तरीय दूरसञ्चार सेवा नभएको बताउँछौं। मैले त शहरमै डिजिटल विभाजन देखेको छु,’ भण्डारीले भने, ‘काठमाडौंको भित्री सडकमा राम्रो नेटवर्क पाइदैन। कल ड्रप भइरहेको छ।’
यो कभरेज नभएर मात्र विभाजन भएको हैन सेवामा पनि विभाजन भइरहेको उनको दाबी छ।
पछिल्लो समयम दूरसञ्चार सेवा प्रदायकहरुको राजस्व घट्दै गइरहेको बताउँदै उनले गुणस्तरिय सेवा मार्फत ग्राहकको उपयोगिता बढाउन सकिए निश्चित रुपमा राजस्व बढ्ने उनले विश्वास व्यक्त गरे।
२७ वर्ष पुरानो कानुन र सरोकारवालाको अपेक्षामा धेरै ज्ञाप भएको उनले बताए।
लाइसेन्स नवीकरण शुल्क कारण ६ ओटा दूरसञ्चार सेवा प्रदायकबाट घटेर अहिले दुई ओटा मात्र सञ्चालनमा रहेका छन्। हाल नेपालमा नेपाल टेलिकम र एनसेलले दूरसञ्चार सेवा प्रदान गरिरहेको छ।
दूरसञ्चार क्षेत्रलाई चलायमान बनाउन प्राधिकरणले लाइसेन्स नवीकरण शुल्कमा केही परिमार्जन गर्न खोजिरहेको पनि उनले कार्यक्रममा जानकारी दिए।
प्रकाशित: २७ चैत्र २०८०, मंगलवार