Technology Khabar २७ चैत्र २०८०, मंगलवार
काठमाडौं ।
नासाको आगामी आर्टेमिस मिसनहरूलाई सपोर्ट (समर्थन) गर्दै चन्द्रमामा आफ्नै लुनार भेहिकल पठाउने अवसरको लागि तीन कम्पनीहरूले प्रतिस्पर्धा गर्दैछन्।
यस हप्ता अन्तरिक्ष एजेन्सीले अर्को वर्षको सम्भाव्यता अध्ययनमा आफ्नो लुनार टेरियन भेहिकल्स (एलटिभी) तयार गर्नका लागि इन्ट्युटिभ मेसिन्स, लुनार आउटपोस्ट र भेन्चुरी एस्ट्रोल्याबलाई छनोट गरेको घोषणा गरेको इनग्याजेटले रिपोर्ट गरेको छ।
डेमोन्सट्रेसन मेसिनको लागि भने एउटा मात्र भेहिकल छनोट हुने अपेक्षा गरिएको छ, जसमा भेहिकललाई पूरा गरेर पर्फमेन्स र सुरक्षा परीक्षणको लागि चन्द्रमामा पठाइने जनाइएको छ।
साथै नासाले सन् २०३० को प्रारम्भमा प्रक्षेपण हुने अनुमान गरिएको आर्टेमिस भी चालक दलको साथ एलटिभी प्रयोग गर्ने योजना बनाएको उल्लेख छ।
चन्द्रमाको दक्षिणी ध्रुवमा जाने एलटिभीले चालक दल र चालकविहीन गरी दुबै सवारी साधनकोरूपमा काम गर्न आवश्यक पर्नेछ भने कहिलेकाहीँ अन्तरिक्ष यात्रीहरूको लागि यातायातको मोडको रूपमा र अन्य समयमा टाढाबाट संचालित अन्वेषकको रूपमा सेवा गर्नपर्ने छ।
सम्भावित मूल्य लगभग ४.६ बिलियन अमेरिकी डलर रहेको एलटिभीसँग सम्बन्धित सबै कार्य आदेशहरूको साथ नासाले सन् २०३९ सम्म चन्द्र सेवाहरूका लागि छनोट गरिएको गाडीलाई ठेक्का दिने बताएको छ। साथै छनोट गरिएको कम्पनीले आफ्नो एलटिभीलाई आफ्नो डाउन टाइममा व्यावसायिक गतिविधिहरूको लागि पनि प्रयोग गर्न सक्ने थप उल्लेख गरिएको छ।
‘मून रेसर’ भनिने एलटिभी विकास गर्न लागेको इन्ट्युटिभ मेसिन्सले नासासँग पहिले नै कमर्शियल लुनार पेलोड सर्भिस (सीएलपीएस) कार्यक्रमको एक भागको रूपमा धेरै ओटा सम्झौताहरू प्राप्त गरिसकेको छ। साथै यसले फेब्रुअरीमा आफ्नो पहिलो ल्यान्डर ‘ओडिसियस’ चन्द्रमामा लन्च गरेको छ, जसले गर्दा पहिलो व्यावसायिक चन्द्रमा अवतरण प्राप्त पनि गरेको छ।
भेन्चुरी एस्ट्रोल्याबले ‘फ्लेक्स’ नामक गाडीको विकास गर्नेछ भने लुनार आउटपोस्टले ‘लुनार डअन’ भनिने एलटिभीमा काम गर्ने उल्लेख गरिएको छ। यी सबै भेहिकलहरूले दुई अन्तरिक्ष यात्रीहरूको टोलीलाई समर्थन गर्न र चन्द्रमाको दक्षिणी ध्रुवको चरम अवस्थाहरूको सामना गर्न सक्षम हुनुपर्ने उल्लेख गरिएको छ।
“हामीले पैदल यात्रा गर्न नसक्ने स्थानहरूमा यात्रा गर्न एलटिभी को प्रयोग गर्नेछौं, जसले अन्वेषण गर्न र नयाँ वैज्ञानिक खोजहरू गर्न हाम्रो क्षमता बढाउने छ,” नासाका प्रमुख अन्वेषण वैज्ञानिक जेकब ब्लीचरले भने।
प्रकाशित: २७ चैत्र २०८०, मंगलवार