Technology Khabar २१ फाल्गुन २०८०, सोमबार
काठमाडौं ।
दक्षिण कोरियामा मुख्य खनिजहरूको माग २०२१ देखि २०४० सम्म इलेक्ट्रिक कार र वायु ऊर्जा उद्योगहरूमा विस्तारको कारण १९ गुणाले बढ्ने अपेक्षा गरिएको छ। आइतबार सार्वजनिक गरिएको एक प्रतिवेदनमा यो विषय बाहिर आएको हो।
कोरिया इनर्जी इकोनोमिक्स इन्स्टिच्युट (केईईआई) को रिपोर्ट अनुसार इलेक्ट्रिक कार ब्याट्रीका लागि आवश्यक लिथियम, निकल, म्यांगनीज र कोबाल्टको माग सन् २०४० सम्म क्रमशः १५ गुणा, १२ गुणा, १९ गुणा र ४ गुणाले बढ्नेछ।
विद्युतीय कारका मोटरका लागि आवश्यक पर्ने नियोडिमियम, प्रासियोडियम, डिस्प्रोसियम र टर्बियमको माग १० गुणा बढ्नेछ। दक्षिण कोरियामा विद्युतीय कारको बिक्री सोही अवधिमा ११ गुणा बढ्ने अपेक्षा गरिएको छ।
सन् २०२२ देखि २०४० सम्म वायु उर्जा सुविधा आठ गुणाले बढेर नियोडिमियम, प्रासियोडिमियम, डिस्प्रोसियम र टर्बियम जस्ता सामग्रीको माग क्रमशः २.६ गुणा, ३.१ गुणा, २१.६ गुणा र २.७ गुणाले बढ्ने सम्भावना रहेको प्रतिवेदनले जनाएको छ।
केईईआईले विद्युतीय सवारी र सेकेन्ड्ररी ब्याट्री उद्योगहरूलाई सुदृढ गर्ने प्रयासको रूपमा चीन माथिको निर्भरता कम गर्न आफ्नो मुख्य खनिज आपूर्ति श्रृंखलालाई रूपान्तरण गर्न काम गर्नुपर्ने उल्लेख गरेको छ।
केईईआईको अनुसार, २०२२ सम्म, दक्षिण कोरियाले आफ्नो अधिकांश निकल, म्यांगनीज र कोबाल्ट आपूर्ति चीनबाट आयात गरेको थियो।
प्रकाशित: २१ फाल्गुन २०८०, सोमबार