
काठमाडौं ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले टेलिफोन र इन्टरनेट सेवा प्रवाहलाई थप गुणस्तरीय बनाइ, सस्तो र सरलरुपमा सबै नागरिकको पहुँचमा पुर्याउनुपर्नेमा जोड दिएका छन्।
आज यहाँ जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित नेपाल दूरसञ्चार प्राधिकरणको २६औँ वार्षिकोत्सवमा उनले भने, “विश्व ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई)को अवधारणामा आगाडि बढिरहेको सन्दर्भमा हामीले डिजिटल नेपालको सङ्कल्पलाई साकार बनाउनसक्नुपर्छ। दूरसञ्चार सेवालाई थप गुणस्तरीय, सरल र सस्तो बनाउँदै सबै नागरिकले आधारभूत दूरसञ्चार सेवा सहजै प्राप्त गर्नसक्ने वातावरणतर्फ हामीले ढिला गर्न हुँदैन।”
उनले ग्रामीण भेगमा सहज ढङ्गले सेवा प्राप्त गर्ने परिस्थिति निर्माण गर्दै भरपर्दो र विश्वसनीय बनाउन आवश्यक रहेको बताए।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले सुलभ मूल्यमा गुणस्तरीय सेवा प्रवाह गरेको भन्दै दूरसञ्चार प्राधिकरणलाई बधाई दिए।
“प्रविधिको नवीनता र गतिशीलताले गर्दा प्रविधिको दयारा बढेकाले नियमन चुनौती पूर्ण छ”, उनले भने, “त्यसैले क्षमता र गुणस्तरीयतामा विशेष ध्यान पुर्याउनुको विकल्प छैन ।”
उनले आगामी वैशाखमा हुन लागेको लगानी सम्मेलनलाई दूरसञ्चार क्षेत्रको विकासमा उपयोग गर्न सक्नुपर्ने भनाइ राखे।
प्राधिकरणका अध्यक्ष भूपेन्द्र भण्डारीले दूरसञ्चार क्षेत्रलाई व्यवस्थित गर्न प्राधिकरणले अहम् भूमिका निर्वाह गरेको बताए। उनले भने, “कोभिडपश्चात् पछिल्ला वर्षमा मोबाइल इन्टरनेटको प्रयोगकर्ता बढिरहनु सेवा प्रदायकका लागि अवसर हो । हाल बजारमा देखिएका चुनौतीलाई के कसरी सम्बोधन गर्ने विषयमा हामीले सरकारसँग समन्वय गरी आवश्यक एकदम चाल्ने छौँ।”
सो अवसरमा २० वर्ष सेवा गरेका कर्मचारी निर्देशकत्रय अर्जुन घिमिरे, मीनप्रसाद अर्याल र विजयकुमार रायलाई ‘दीर्घ सेवा पदक’ प्रदान गरियो ।रासस
प्रकाशित: २० फाल्गुन २०८०, आईतवार