
काठमाडौं ।
संयुक्त राष्ट्र सङ्घको कृषि र खाद्य संगठन (एफएओ) से टेलिप्लान्ट डाक्टर नामको एप्स किसानसमक्ष ल्याएको छ।
एफएओका कार्यक्रम विज्ञ अरुण जिसीका अनुसार हाल आलु र गोलभेंडामा लाग्ने रोगहरूको विश्लेषण गरेर राखिएको छ। सो एप्समा हाल विभिन्न १० ओटा रोगका बारेमा विश्लेषण गरेर राखिएको छ।
पोट्याटो इयल ब्लाइट, पोट्याटो लेट ब्लाइट, टोमाटो ब्याक्टेरियल स्पट, टोमाटो इयल ब्लाइट, टोमाटो लेट ब्लाइट, टोमाटो लिए मल्ड, टोमाटो मोसेक भाइरस, टोमाटो सेप्टोरिया लिफ स्पट, टोमाटो स्पाइडर मिट्स र टोमाटो एलो लिफ क्युर भाइरस गरी १० ओटा रोगको पहिचान यो एप्सले गरिरहेको एफएओले जनाएको छ।
त्यस्तै विभिन्न खालका २१ हजारभन्दा बढी बालीका फोटो ट्यालीका लागि त्यहाँ राखिएको छ। किसानले आलु र गोलभेंडाको रोग पत्ता लगाउन सो बालीको पातको फोटो खिचेर एप्समा लोड गरेपछि एकछिनमै सबै कुराको जानकारी दिने विज्ञ केसीले बताए। सञ्चालनमा आएको सो एप्स अंग्रेजी भाषामा रहेको छ. त्यसलाई नेपाली बनाएर अझै परिस्कृत गरी नेपाल सरकारलाई हस्तान्तरण गरिने उनले बताए।
स्थानीय रूपमा बालीमा लाग्ने विभिन्न किसिमको रोग किराले उत्पादनमा ४० प्रतिशत क्षति पुर्याउने गरेको एफएओले जनाएको छ। एफएओले भनेको छ, “खाद्य असुरक्षा र जलबायु परिबर्तनलाई ध्यानमा राखेर हेर्ने हो भने यो निकै धेरै ठुलो नोक्सान हो।”
एप्सले जिआइएस रिमोट सेन्सर र जलबायु डेटा प्रयोग गरेर स्थानीय रूपमा जीवाणु र रोगका लागि भविष्यवाणी गर्ने प्रणालीका रूपमा काम गरेको छ। उनले भने, “यो जति प्रयोग हुन्छ त्यति नै त्यसको क्षमताको विकास हुँदै छ र समय अनुसार आफैँले आफैँलाई अपडेट पनि गर्दै जान्छ।”
योग्य प्राविधिकको अभावका कारण बालीमा लाग्ने रोगको परीक्षण तथा निदान समयमा गर्न नसकेका कारण किसान निकै मर्कामा परिरहेका छन्। बालीमा लाग्ने रोगबारे तत्कालै जानकारी पाउन खोजेको समयमा प्राबिधिक भेट हुँदैन, त्यसले गर्दा बाली नष्ट हुने र त्यसले उत्पादनमा कमी आउने गरेको एफएओले जनाएको छ। बालीमा लाग्ने रोगले खाद्य असुरक्षा पनि बढाएको छ।
यो समस्यालाई समाधान गर्नका लागि नै एफएओले नेपाल सरकारलाई डिजिटल भिलेज इनिसिएटिभलाई प्रबर्द्धन गर्न सहयोग गरिरहेको छ। सोही कार्यक्रम अन्तर्गत यो टेलिप्लान्ट डाक्टर एप्स ल्याएको छ। यो एप्सले हालसम्म सकारात्मक नतिजा देखाएको छ। नेपालीमा सुरु भएपछि किसानका लागि झन् सजिलो हुने भनेर आफूहरू त्यसको तयारीमा लागेको विज्ञ जिसीले बताए।
यसले मानव स्वास्थ्य, वनस्पति स्वास्थ्य, माटो स्वास्थ्य, पशु स्वास्थ्य र समग्र वातावरणलाई फाइदा पुर्याउने र कृषिमा बिषादी र रासायनिक मलको प्रगोगलाई न्यूनीकरण गर्ने विश्वास एफएओले लिएको छ। गोरखापत्रबाट
प्रकाशित: २७ माघ २०८०, शनिबार