काभ्रेपलाञ्चोकमा पाँच वर्षसम्म आएन राष्ट्रिय परिचयपत्र

  • Technology Khabar | २० बैशाख २०८३, आईतवार
काभ्रेपलाञ्चोकमा पाँच वर्षसम्म आएन राष्ट्रिय परिचयपत्र

काठमाडौं ।

काभ्रेपलाञ्चोक जिल्लामा राष्ट्रिय परिचयपत्रका लागि आवेदन दिएका सर्वसाधारणले पाँच वर्ष पूरा हुँदासम्म राष्ट्रिय परिचयपत्र पाउन सकेका छैनन्।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले पाँच वर्षसम्म पनि राष्ट्रिय परिचयपत्र दिन नसकेपछि जिल्ला प्रशासन कार्यालयमा राष्ट्रिय परिचयपत्र खोजी गर्नेको सङ्ख्या बढ्दो रहेको छ ।

काभ्रेपलाञ्चोक जिल्लामा विसं २०७७ असार ७ गतेबाट जिल्ला प्रशासन कार्यालयमा राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन गरिएको थियो । यस्तै फागुन महिनाबाट जिल्लाका १३ वटै स्थानीय तहमा अभियान सञ्चालन गरी राष्ट्रिय परिचयपत्रको लागि विवरण सङ्कलन गरिएको थियो।

काभ्रेपलाञ्चोकका सहायक प्रमुख जिल्ला अधिकारी भोलाप्रसाद गुरागाईंले जिल्लामा हालसम्म पनि स्थानीय तहमा अभियान सञ्चालन गरी राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन गरिएका नागरिकको परिचयपत्र प्राप्त हुन नसकेको बताए।

“राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट हालसम्म कार्यालयमा विवरण सङ्कलन गरिएका करिब ५० हजार थान राष्ट्रिय परिचयपत्र प्राप्त भएको छ, स्थानीय तहमा अभियान सञ्चालन गरेर विवरण सङ्कलन गरिएका नागरिकको भने परिचयपत्र आएको छैन” सहायक प्रमुख जिल्ला अधिकारी गुरागाईंले भने।

उनले कार्यालयमा प्राप्त भएको परिचयपत्रमध्ये करिब २५ हजार परिचयपत्र वितरण भइसकेको बताउनुभयो। उनले स्थानीय तहमा अभियानमा विवरण सङ्कलन गरिएका नागरिकको परिचयपत्रका लागि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमा ताकिता गरिएको बताए।

जिल्लामा पहिलो  चरणमा २०७७ फागुनदेखि २०७८ भदौसम्म र दोस्रो चरणमा २०८२ वैशाखदेखि भदौसम्म अभियान सञ्चालन गरेर राष्ट्रिय परिचयपत्रका लागि स्थानीय तहमा विवरण सङ्कलन गरिएको थियो।

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकका अनुसार दुई चरणमा सङ्कलन गरिएको विवरण अर्न्तगत जिल्लामा दुई लाख ३३ हजार ८७६ नागरिकले राष्ट्रिय परिचयपत्र प्राप्त गर्न सकेका छैनन्।

अभियानमा विवरण सङ्कलन गराएका रोसी गाउँपालिकाका १३ हजार ३१४ जना, खानीखोलाका पाँच हजार ३३४ जना, महाभारत गाउँपालिकाका आठ हजार ६९ जना, बेथानचोक गाउँपालिकाका १० हजार २७० जना, भुम्लु गाउँपालिकाका १० हजार ४५९ जनाले राष्ट्रिय परिचयपत्र प्राप्त गर्न सकेका छैनन्।

यस्तै चौरीदेउराली गाउँपालिकाका आठ हजार ३१५ जना,
तेमाल गाउँपालिकाका नौ हजार २६४ जना, नमोबुद्ध नगरपालिकाका १९ हजार २० जना, धुलिखेल नगरपालिकाका १८ हजार ३५८ जनाले परिचयपत्र पाउनबाट वञ्चित भएका छन्।

त्यसै गरी जिल्लाको मण्डनदेउपुर नगरपालिकाका १५ हजार ३३१ जना, पाँचखाल नगरपालिकाका २२ हजार ९४७ जना, पनौती नगरपालिकाका ३१ हजार ३५ जना र बनेपा नगरपालिकाका ३० हजार १९२ नागरिकले पाँच वर्ष पूरा हुँदासमेत राष्ट्रिय परिचयपत्र पाउन सकेका छैनन्। यस्तै पहिलो चरणमा जिल्ला प्रशासन कार्यालयमा २५ हजार ९६५ जनाले विवरण सङ्कलन गराएका थिए।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशक तथा सूचना अधिकारी निराजन श्रेष्ठले प्रशासन कार्यालयमा लाइभ विवरण सङ्कलन र स्थानीय तहमा सञ्चालन गरिएको अभियानमा अफलाइन विवरण सङ्कलन गरिएको बताए। उनले प्रशासनमा लाइभ विवरण सङ्कलन गरिएकोले परिचयपत्र छिटो आएको बताए।

उनले हाल दैनिक चार हजार थान राष्ट्रिय परिचयपत्र छपाइको काम भइरहेको बताउँदै अहिले स्थानीय तहमा विवरण सङ्कलन गरिएका नागरिकलाई प्राथमिकता दिएर परिचयपत्र छपाइ गर्ने काम भइरहेको बताए।

आजको गोरखापत्रबाट

प्रकाशित: २० बैशाख २०८३, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार