
काठमाडौं ।
सरकारले सामाजिक सञ्जालको बढ्दो प्रयोगलाई सकारात्मक तथा मर्यादित बनाउन सबैसँग अपिल गरेको छ। आज बसेको मन्त्रिपरिषदको बैठकले विशेष प्रस्ताव पारित गर्दै विचार तथा अभिव्यक्ति स्वतन्त्रतालगायतका संविधानप्रदत्त मौलिक हकको सम्मान गर्दै सामाजिक सञ्जालको बढ्दो प्रयोगलाई सकारात्मक तथा मर्यादित बनाउन भनेको हो।
“सामाजिक सञ्जाल सञ्चालक र प्रयोगकर्ताले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय सुरक्षा, राष्ट्रिय एकता, स्वाधिनता, स्वाभिमान वा राष्ट्रिय हित वा संघीय एकाईबिचको सुसम्बन्धमा प्रतिकूल असर हुने गरी वा वर्गीय, जातीय, धार्मिक, क्षेत्रीय, साम्प्रदायिक र यस्तै अरु कुनै आधारमा घृणा, द्वेष वा अवहेलना हुने कुनै काम कारबाही नगर्न नगराउनुहुन एवं विभिन्न जात, जाति वा सम्प्रदायबिचको सुसम्बन्धमा खलल पुग्ने गतिबिधि नगर्न नगराउनुहुन सम्बन्धित सबैमा नेपाल सरकार हार्दिक अनुरोध गर्दछ,” विशेष प्रस्तावमा भनिएको छ।
यसका साथै सामाजिक सञ्जाल प्रयोग गर्दा आधारहिन कुरा राख्ने, व्यक्तिको प्रतिष्ठा, आत्मसम्मान, गोपनीयता तथा चरित्रमा आघात पुर्याउने, जातीय भेदभाव, छुवाछुतलाई दुरुत्साहन गर्ने, श्रमप्रति अवहेलना गर्ने, अपराध दुरुत्साहन गर्ने, शान्ति सुरक्षा भङ्ग हुने कार्यलाई बढावा दिने वा प्रचलित कानुनबमोजिम प्रकाशन वा प्रसारण गर्न रोक लगाएका कुरा प्रसारण वा सम्प्रेषण गर्ने वा सार्वजनिक सदाचार र नैतिकताको प्रतिकूल हुने सामग्री प्रकाशन वा प्रसारणजस्ता कार्य नगर्न नगराउन समेत अपिल गरेको छ।
यस बाहेक चाडपर्वहरुको कृत्रिम अभाव सिर्जना गरी कालो बजारी नगर्न भन्दै त्यसको बारेमा कोही कसैसँग सूचना भएमा हेलो सरकार, वाणिज्य विभागको पोर्टल वा टोल फ्री नम्बर ११३७ मा सूचना दिन आम उपभोक्ता वर्गमा अनुरोध समेत गरेको छ।
प्रकाशित: १६ आश्विन २०८०, मंगलवार