अनर र ह्वावेको पुनः एकीकरणको सम्भावना कति ? यसो भन्छन् अनरका सीईओ झाओ मिङ

  • Technology Khabar | ६ आश्विन २०८०, शनिबार

काठमाडौं ।

ह्वावे र अनर अलग्गिएर छुट्टाछुट्टै बाटोमा लागेको लगभग तीन वर्ष भइसकेको छ। ह्वावेमाथि सन् २०१९ मा लगाइएको अमेरिकी प्रतिबन्धका कारण ह्वावेले स्मार्टफोन बजारमा महत्त्वपूर्ण चुनौतीहरूको सामना गर्नुपरेको छ।

कम्पनीले चीनबाहिर आफ्नो लगभग सम्पूर्ण बजार हिस्सा गुमाउँदै निकै नोक्सान व्यहोरेको जनाइएको छ। आफ्नै ब्रान्डअन्तर्गत फोन उत्पादन गर्न पनि निकै संघर्ष गर्न परेको र आफ्नो अस्तित्व पक्का गर्नका लागि भनेर शेन्जेन जिसिन न्यू इन्फर्मेसन टेक्नोलोजीलाई आफ्नो उप–ब्रान्ड अनर बिक्री गरेको थियो।

दुबै कम्पनीहरूले एकअर्काबाट स्वतन्त्र भएर आफ्नो कार्यलाई निरन्तरता दिएको पनि वर्षौं भइसकेको छ। यद्यपि, हालै बाहिर आएका अफवाहहरूले भने दुबै कम्पनी बिचको सेपरेसन (विभाजन) सकिएको र अनर फेरि ह्वावेमा सामेल हुने दावी गरेको गीज्मोचाइनाले रिपोर्ट गरेको छ।

साथै अनरका सीईओ झाओ मिङले हालै उक्त दावीहरूलाई सम्बोधन गरेका छन्।

ह्वावेमा फर्कन असम्भव, अनर ह्वावेको सबैभन्दा बलियो प्रतिस्पर्धी बन्ने
निस्सन्देह रुपमा ह्वावे र अनर पुनः एकीकरण हुनेछ भनेर सुझाव दिने अनलाइन अफवाहहरू सत्य नभएको उनले भनेका छन्। अनरका सीईओ झाओ मिङले अनरको ह्वावेमा पुनः सामेल हुने कुनै पनि योजनालाई स्पष्ट रूपमा अस्वीकार गरेका छन्। यस प्रकारको पुनः एकीकरण “बिल्कुल असम्भव” भएको र ह्वावेलाई अनरको “सबैभन्दा सम्मानित र अपेक्षित प्रतिस्पर्धी” भनेर अनरका सीईओ झाओ मिङले वर्णन गरेको जनाइएको छ।

त्यसैगरी जब कम्पनीले बलियो प्रतिस्पर्धीको सामना गर्छ, त्यहाँ सामान्यतया दुईवटा विकल्प हुन्छन्ः या त प्रतियोगीसँग सेनामा सामेल हुने वा तिनीहरूको विरुद्धमा प्रतिस्पर्धा गर्ने भनेर मिङले थप बताएको उल्लेख गरिएको छ। झाओ मिङले ह्वावेसँग मर्ज गर्दा अन्ततः कमजोर हुने विश्वास व्यक्त गरेका छन्।

अर्को विकल्प भनेको प्रतिस्पर्धीको सबैभन्दा बलियो प्रतिद्वन्द्वि बन्नु हो। यसै कुराका लागि अनरका कर्मचारीहरू सबैभन्दा उत्साहित भएको झाओ मिङले बताएका छन्। झाओ मिङले अनर नवप्रवर्तन प्रति प्रतिबद्ध रहेको र यसले आफ्ना प्रतिस्पर्धीहरू भन्दा हल्का, पातलो र शक्तिशाली उत्पादनहरू विकास गर्न जारी राख्ने बताएको उल्लेख छ। साथै अनर ह्वावेसँग प्रतिस्पर्धा गर्न तत्पर रहेको र यसले उद्योगमा नवीनता ल्याउन मद्दत गर्ने झाओ मिङले बताएका छन्।

अनरले आफ्नो राजस्वको १० प्रतिशत भन्दा बढी अनुसन्धान र विकासमा लगानी गर्ने गरेको मिङले बताए। साथै उक्त लगानीले अनरलाई यसको “आई प्रोटेक्टर” डिस्प्ले र “शार्क” चार्जिङ टेक्नोलोजी जस्ता आफ्नै अद्वितीय प्रविधिहरू विकास गर्न मद्दत गरेको उल्लेख छ।

साथै झाओ मिङले ह्वावेका पूर्व कर्मचारीहरू अनरको सफलतामा गर्व गर्ने आशा राखेका छन्। अनरको लक्ष्य भनेको ह्वावेको सबैभन्दा बलियो प्रतिस्पर्धी बन्नु रहेको र ह्वावेसँगको कम्पनीको विगतको सम्बन्धलाई सम्मान गर्ने यो उत्तम तरिका भएको झाओ मिङले बताए।

प्रकाशित: ६ आश्विन २०८०, शनिबार

तपाइको प्रतिक्रिया